बाढी प्रभावित क्षेत्रमा बिरामीको बेहाल
बाँके : राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारूलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न, घरमा खानेकुरा । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ अनि कसैको शरीर चिलाउने रोग छ ।
केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो छ । एउटा त्रिपाल टाँगेर अहिले उनीहरू त्यसैमा दिन काटिरहेका छन् । उनीमात्रै होइन, बाढी प्रभावित क्षेत्रका सबैजसो पीडितलाई अहिले भाइरल ज्वरो अनि रुघाखोकी र शरीर चिलाउने रोगले सताउन थालेको छ ।
बाढी पसेपछि गाउँभरिका धारामा पानी आउन छाडेको छ । ह्यान्ड पाइप बगाएको छ भने बाढीले हिलोमा डुबाइदिएको छ । अहिले जताततै पिउने पानीको अभाव छ । दूषित पानीको प्रयोग अनि बाढीमा पुरिएर मरेका पशुपक्षीको दुर्घन्धका कारण अहिले प्रभावित बस्तीमा संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।
राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि ब्यथा उस्तै छ । गाउँमा भएका स्वास्थ्यचौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता सबैजसो बिरामीलाई उत्तिकै सास्ती छ । बाढीले गाउँभरिको बाटो अनि पुल भत्काइदिएपछि यातायात सहज तरिकाले चल्न सकेको छैन । ‘घरमा सबै बिरामी छन्, बाढीले घरसँगै सबै अनाज पनि बगायो, खाने केही छैन', उनी भन्छिन्, ‘छिमेकीले खान दिइरहेका छन्, सरसापट गरेर औषधि गर्यो, सन्चो हुँदैन ।'
अहिले जताततै पिउने पानीको अभाव छ । दूषित पानीको प्रयोग अनि बाढीमा पुरिएर मरेका पशुपक्षीको दुर्घन्धका कारण अहिले प्रभावित बस्तीमा संक्रमण फैलिन थालेको छ ।
६ महिनाको बच्चा रुन थालेको धेरै दिन भइसकेको थियो । सीता परियारले बच्चा फकाउन धेरै कोसिस गरिन् तर केही उपाय लागेन । बिहीबार फत्तेपुरमा नेपाली कांग्रेसले राखेको स्वास्थ्य शिविरमा बच्चा जँचाउन आएकी सीताले भनिन्, ‘निमोनिया भइसकेको रहेछ, धेरै दिनदेखि रोइरहेकी थिई ।' बाढी पसेको घर अझैँ ओभाएको छैन । भित्ता अनि भुइँ अझैँ चिसै छन् ।
भत्किएको घर माटोले टालेर उनले बस्न मिल्ने त बनाएकी छन् तर चिसो भुइँको सुताइ अनि खानपान नमिल्दा उनी ज्वरोले थलिएकी छन् । ‘सबै अन्नपात बगायो, घर पनि आधा बगायो, बचेको अन्न पनि अहिले त उम्रेको छ, त्यो कसरी खानु ? ' सीताले भनिन्, ‘सरकारले पठाएको भनेर चामल दिएका थिए, त्यो कति दिन पुग्छ र ? '
बाढी प्रभावित क्षेत्रमा धेरै बिरामीको संक्रमण बढ्न थालेपछि गाउँमा स्वास्थ्य शिविर राखिएको कांग्रेस क्षेत्र नं. १ का सभापति माधवराम खत्रीले जानकारी दिए । उनका अनुसार सबैजसो बाढी प्रभावितलाई अहिले ज्वरोको प्रकोपले सताएको छ । स्वास्थ्य शिविरमा बाढीपीडितको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
त्यसका लागि नेपालगन्ज मेडिकल कलेजले स्वास्थ्यकर्मी तथा औषधि सहयोग गरेको थियो । शिविरमा बिरामी चेकजाँच गरेकी डा. सुमीत पाण्डेका अनुसार धेरैजसोलाई दूषित पानी अनि खानेकुराका करण यस्तो प्रकोप देखिएको हो । ‘धेरैजसो बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने र शरीर चिलाउने समस्या देखिएको छ', उनले भने, ‘दूषित पानी र अस्वस्थ खानपानले यस्तो देखिएको हो ।'