सामुदायिक विद्यालय सफलताका सूत्र

सामुदायिक विद्यालय सफलताका सूत्र

वुटवल : व्यवस्थापन समिति, शिक्षक र समुदायमा रहेकाले अपनत्व महसुस गर्न सके सामुदायिक विद्यालयले पनि प्रगति गर्न सक्दारहेछन् भन्ने उदाहरण राजधानी बाहिरका केही विद्यालयले प्रस्तुत गरेका छन्। मुलुकभर रहेका करिब ३० हजार सामुदायिक विद्यालयमध्ये यी विद्यालयको सफलताको कथा निकै लोभलाग्दो त छ नै, सामुदायिक विद्यालय सुधार अभियानमा लागेकाहरूका लागि समेत प्रेरणादायी बनेको छ।

०६२ सालमा स्थापना भएको बुटवल सियारी गाउँपालिका-७ को त्रिवेणी आधारभूत विद्यालयमा स्थापनाको समयमा १२ जना मात्र विद्यार्थी थिए। अभिभावक, शिक्षक र व्यवस्थापन समितिले विद्यालय स्थापना भएसँगै विद्यार्थी भर्ना बढाउन घरदैलो अभियान चलाए, सँगसँगै विद्यार्थीको सिकाइ स्तर उकास्ने आफूहरूको योजना पनि घर दैलो अभियानमा अभिभावकलाई सुनाए। उनीहरूको सुनेर अभिभावक सन्तुष्ट भए, विद्यार्थीलाई बोर्डिङबाट छुटाएर सोही विद्यालयमा पठाए, अहिले हरेक वर्ष विद्यार्थी बढेको बढ्यै छन्।

 

प्रधानाध्यापक मथुरा यादवले भने, ‘सुरुमा रूखमुनि विद्यार्थी राखेर पढाउँथ्यौं। अहिले सुविधासम्पन्न भवन छ। विद्यार्थी संख्या चार सय ६८ जना भइसकेका छन्। यही गतिमा बढ्दै गयो भने केही वर्षमै नयाँ विद्यार्थी भर्ना गर्न नसक्ने अवस्थामा पुग्छौं।' विद्यालयले कक्षा एकदेखि पाँचसम्म अंग्रेजी माध्यममा पढाइरहेको छ। त्यसभन्दा माथिका कक्षामा कम्प्युटर कक्षा अनिवार्य गरेको छ। सार्वजनिक बिदामा पनि विशेष पर्व बाहेकका दिनमा पढाइ हुन्छ। विद्यालयको शैक्षिक उन्नयनका लागि हुने हरेक निर्णयमा शिक्षक, व्यवस्थापन समिति र समुदायको साथ छ।

‘सामुदायिक विद्यालय हाम्रै लागि हो भन्ने विषयमा समुदायलाई अपनत्व महसुस गराउन सक्ने हो भने स्कुल सुधार्न कठिन रहेनछ', यादवले भने, ‘समुदायलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा नीतिगत तहमै व्यवस्था गरिनुपर्छ। व्यवस्थापन समितिलाई विद्यालय व्यवस्थापनको र प्रधानाध्यापकलाई गुणस्तर सुधारमा मात्र लगाउनुपर्छ।'


- समय सुहाउँदो शिक्षण प्रविधि
- मिहिनेती शिक्षक
- अपनत्व महसुस गर्ने स्थानीय बासिन्दा
- राजनीतिक रङबाट टाढा रहेका व्यवस्थापन समिति
- नेतृत्वदायी र शिक्षाको गुणस्तरबारे सोच्न सक्ने प्रधानाध्यापक

बुटवलकै कालिका माध्यमिक विद्यालयमा पनि अहिले शिशु कक्षादेखि बाह्रसम्म चार हजार तीन सय ९७ जना विद्यार्थी अध्ययनरत छन्। झट्ट सुन्दा सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थी अध्ययन गर्न गर्छन् भन्दा जो-कोहीलाई पनि पत्याउन कठिन हुन्छ। प्रधानाध्यापक घनश्याम पाठक पनि शिक्षक, अभिभावक र व्यवस्थापन समितिको एकमत नै विद्यालयको प्रगतिको मुख्य कारण रहेको बताउँछन्।

बुटवलको व्यस्त कालिकानगरमा रहेका थुप्रै निजी शैक्षिक संस्थालाई समेत उछिन्दै विद्यालयले अहिले चारवटा बसबाट विद्यार्थी ल्याउने÷लैजाने गरेको छ। सुविधासम्पन्न भवनमा रहेको ८४ वटा कोठामार्फत पठनपाठन गराइरहेको छ। थप १४ वटा कोठा बनाउने काम धमाधम भइरहेको छ।
प्रधानाध्यापक पाठकले भने, ‘चालु शैक्षिक सत्रमा भर्नाका लागि दुई हजार ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। तर, क्षमता नभएका कारण सात सयलाई मात्र भर्ना लिन बाध्य भयौं।'

एक सय ८३ जना शिक्षक कार्यरत रहे पनि सरकारी दरबन्दीका ४० जना मात्र छन्। हरेकजसो सामुदायिक विद्यालयमा शिक्षक÷कर्मचारीबीच राजनीतिक आस्थाका आधारमा शीतयुद्ध हुने, व्यवस्थापन समिति गठनमा राजनीतिक भागबन्डा हुने तथा प्रधानाध्यापकले आफू मातहतका शिक्षकलाई नेतृत्व दिन नसकेका उदाहरण भेटिन्छन्। तर, यस विद्यालयमा यस्तो कुनै पनि प्रकारको विवाद छैन।

‘यहाँ पनि फरक-फरक राजनीतिक आस्था बोकेका शिक्षक हुनुहुन्छ। व्यवस्थापन समितिमा पनि हुनुहोला। तर, यी सबै राजनीतिक विचार साथीहरूले विद्यालयको गेटैमा छाडेर आउनुहुन्छ', पाठकले भने, ‘पढाइमा शिक्षकले कुनै कन्जुस्याइँ गर्दैनन्। विद्यार्थी र शिक्षकका लागि छुट्टाछुट्टै नियम बनाएका छौं। विद्यार्थीको स्तर उकास्नकै लागि तल्लो कक्षामा एक विषय लागेका विद्यार्थीलाई माथिल्लो तहमा जान नपाउने व्यवस्था गरेका छौं।'

०६५ सालमा प्रधानाध्यापक बनेका पाठक नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले कुनै पनि संस्थाको मुख्य व्यक्ति सक्रिय भए कुनै समस्या नआउने बताए। ‘यो सन्देश अन्यत्र पनि दिनु जरुरी छ कि यहाँ कुनै राजनीतिक भेदभाव छैन। कसैको असहयोग छैन। इच्छाशक्ति सबैभन्दा ठूलो रहेछ', गलामीले भने।

पाल्पाको भूषलडाँडा माध्यमिक विद्यालयमा पनि विद्यार्थी घट्दै गएर केही वर्षअघि १२ जनामा सिमित भए। जिल्ला शिक्षा कार्यालयले विद्यालय मर्ज गर्न लागेको थाहा पाएर अभिभावक र शिक्षक एकमत भए, जसरी पनि विद्यालयलाई मर्ज हुनबाट जोगाउने र जिल्लामा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउने।
अहिले विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन्। निमित्त जिल्ला शिक्षा अधिकारी महेन्द्र सुवेदीका अनुसार भूषलडाँडा अहिले जिल्लाको चार सय ४४ सामुदायिक विद्यालयमा उत्कृष्ट दशभित्र पर्न सफल भएको छ। विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुनु, विद्यालयको हितका लागि जस्तोसुकै त्याग गर्न पनि समुदाय पछि नपर्नु र शिक्षक, अभिभावक र व्यवस्थापन समितिबीच विद्यालयको हरेक राम्रा पक्षमा एकमत हुनु यसको सुधारका मुख्य आधार रहेको व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण कार्कीले बताए।

तानसेन बजारबाट नजिकै रहेको यो विद्यालयमा अहिले अभिभावक घर नजिकैको निजी स्कुलमा छोराछोरी भर्ना गर्न छाडेर भूषलडाँडामा पढाइरहेका छन्। बन्द हुने अवस्थामा पुगेर पनि व्यवस्थापन समिति, अभिभावक र शिक्षक जागरुक भएपछि अब्बल बनेका बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, पाल्पाकै देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले पनि मिहिनेत गर्ने हो भने सामुदायिक विद्यालयलाई अभिभावकको रोजाइको विद्यालय बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

यी सबै विद्यालयमा व्यवस्थापन समितिले राजनीति आस्थालाई बिर्सेर विद्यालयको हितमा लागेका छन्। शिक्षकले युनियनको अधिकारलाई बिर्सेर पेसागत उत्तरदायित्व बहन गरिरहेका छन्। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ट्रेड युनियनको अधिकार धेरै खोज्ने शिक्षक भएको स्थानमा विद्यालय सुधार्न कठिन हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.