किन हुन्छन् एन्फाका खेलाडी पलायन ?

किन हुन्छन् एन्फाका खेलाडी पलायन ?

काठमाडौं : सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने सोचअनुरूप एन्फा एकेडेमी सुरु गर्‍यो । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को सहयोगमा सुरु भएको उक्त एकेडेमीबाट हालसम्म थुप्रै फुटबल खेलाडी उत्पादन भइसकेका छन् । तर, सोही एकेडेमीबाट उत्पादित पहिलो ब्याचका खेलाडी अहिले के गर्दैछन्, कसैलाई अत्तोपत्तो छैन । यस विषयमा आधिकारिक रूपमा न एन्फालाई थाहा छ न त फुटबलका जानकारहरूलाई नै ।

एन्फाले देशका विभिन्न भागबाट १२ हजारभन्दा बढी खेलाडीमध्येबाट अन्तिम चरणमा ४० जना खेलाडी छनोट गरेको थियो । छनोट भएका खेलाडीलाई ग्यालेक्सी स्कुलमा राखेर पढाउनुका साथै फुटबलको नियमित प्रशिक्षण दिएको थियो । तत्कालीन एन्फा अध्यक्ष गणेश थापा र ग्यालेक्सी स्कुलकी सञ्चालक गीता राणाबीच मनमुटाव सुरु भएपछि एकेडेमीका खेलाडीलाई एलायन्स को-एड स्कुलमा सारिएको थियो । एलायन्समा दुई वर्ष अध्ययन गरेपछि उनीहरूले नोबल एकेडेमीबाट एसएलसी दिएका थिए ।

एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये आठजना गीता राणासँगै ग्यालेक्सी स्कुलमै बसेपछि एन्फाले ३२ जनालाई मात्र एकेडेमीमा राखेको थियो । एन्फा एकेडेमीको पहिलो ब्याचका केही खेलाडी स्वदेशमै रहे पनि अधिकांश खेलाडी अवसरको खोजीमा विदेश पलायन भएको त्यही ब्याचका खेलाडी प्रज्ज्वलप्रताप क्षेत्रीले बताए । ‘एकेडेमीका अधिकांश खेलाडी के गर्दैछन् कसैलाई थाहा छैन । मलाई थाहा भएअनुसार अधिकांश खेलाडी विदेशमा छन् भने नेपालमै भएका पनि एक÷दुईजना मात्र फुटबलमा सक्रिय छन्’, प्रज्ज्वलले भने, ‘एकेडेमीको पहिलो ब्याचका अधिकांश खेलाडी रोजीरोटीका लागि अर्कै पेसा अपनाउन बाध्य भएका छन् ।’

 

एन्फाले एकेडेमीबाट बिदा गरेपछि खेलाडीहरू छिन्नभिन्न भएको प्रज्ज्वलले बताए । ‘एकेडेमीमा रहँदासम्म सबै खेलाडी सँगै थियौं । एन्फाले बिदा गरेपछि भने सबै छिन्नभिन्न भए’, उनले भने । एन्फा एकेडेमीबाट उमेर समूहका विभिन्न प्रतियोगिता खेलेका प्रज्ज्वल भने अहिले पनि खेलाडी उत्पादनमै संलग्न रहँदै आएका छन् । हल्यान्ड विश्वविद्यालयबाट ‘सी’ र फिफाबाट ‘बी’ श्रेणीको कोचिङ लाइसेन्स लिएका प्रज्ज्वल जुनियर फुटबल एकेडेमी खोलेर खेलाडी उत्पादन कार्यमा सक्रिय रहँदै आएका छन् ।

प्रज्ज्वल २०६० सालमा लिग खेल्दा घाइते भएका थिए । त्यसपछि खुट्टाले साथ नदिएका कारण आफू सक्रिय खेल जीवन टुंग्याएर खेलाडी उत्पादनमा लागेको उनले बताए । उनले बालुवाटार, शान्तिनगर र काव्य स्कुल बानेश्वरमा १६ वर्ष उमेरसम्मका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । पहिलो ब्याचका खेलाडीमध्ये सर्वाधिक चर्चा कमाएका प्रदीप महर्जनले अहिले ‘बी’ डिभिजनको खुमलटार युवा क्लबलाई हेर्दै आएका छन् ।

यसैगरी अर्का स्टार खेलाडी अञ्जन केसी ‘म्याच फिक्सिङ’मा परेपछि गुमनाम बनेका छन् । म्याच फिक्सिङमा पक्राउ परेका सागर थापा, रितेश थापा, सन्दीप राई र विकाससिंह क्षत्रीमध्ये अञ्जन प्रमुख योजनाकार रहेको दाबी प्रहरीको छ । २०७२ असोज २७ गते पक्राउ परेका उनीहरू २०७२ साल कात्तिक २४ गते धरौटीमा रिहा भए पनि एएफसीले उनीहरूमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।

यसैगरी एन्फा एकेडेमीबाट अधिकांश समय कप्तानी गरेका विक्रम महर्जन (हालका कप्तान विराज महर्जनका दाइ) नेपालमै बसेर फुटबल खेलको विकासमा लागेका छन् । उनले विभिन्न विद्यालयमा ससाना बालबालिकालाई फुटबलको कला सिकाउँदै आएका छन् । प्रज्ज्वलका अनुसार पहिलो ब्याचकै विकास मल्ल र सुभास लामा भने नेपाली सेनामा जागिरे छन् । सुदीप श्रेष्ठ सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।

तत्कालीन एन्फा एकेडेमीका गोलरक्षक ध्रुव श्रेष्ठ भने अहिले यातायात व्यवसायमा लागेका छन् । उनले बस तथा ट्रक व्यवसाय सञ्चालन गर्दै आएको जानकारी प्रज्ज्वलले दिए । सिन्धुपाल्चोककै खेलाडी विपिन श्रेष्ठले बाह्रबिसेमा व्यापार गर्दै आएको सिन्धुपाल्चोकै अर्का खेलाडी मानसाजन राजभण्डारीले बताए । एन्फा एकेडेमीका चर्चित खेलाडी विजय गुरुङ अहिले पनि ललितपुरे क्लब थ्रीस्टारमा आबद्ध छन् । एकेडेमीको पहिलो ब्याचका ४० जनामध्ये उनले मात्र अहिलेसम्म व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

एकेडेमीकै पहिलो ब्याचका खेलाडी गौरव थापा भने एन्फामा कार्यरत छन् । एकेडेमीबाट निस्किएपछि केही समय घरेलु फुटबल खेलेका उनले एएफसीमा जागिर पनि खाएका थिए । फिफा अध्यक्षको चुनावमा एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले गौरवमार्फत तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई एक लाख अमेरिकी डलर घूस दिएको आरोप लागेपछि गौरवले एएफसीको जागिर छाडेका थिए । गौरव अहिले एन्फामै कार्यरत छन् । उनी तत्कालीन एन्फा अध्यक्ष गणेश थापाका छोरा हुन् ।

यसैगरी एकेडेमीको पहिलो ब्याचका उत्पादन राजीव श्रेष्ठ, प्रशान्त गिरी, प्रलय राजभण्डारीलगायत सातजना खेलाडी अमेरिका पलायन भएका छन् । केही समय अघिसम्म नेपालमै रहेका प्रवीण मानन्धर पनि डीभी परेपछि अमेरिकातर्फ नै लागेका छन् । यसैगरी सोम थापा, सौगात सुब्बा र शेखर थापा बेलायती सेनामा कार्यरत छन् । उनीहरूकै पाइला पछ्याउँदै रमेश कार्की पनि बेलायत नै पुगेका छन् ।

एन्फा एकेडेमीबाट बिदा भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लबमा तीन वर्ष लिग खेलेका मानसाजन राजभण्डारी पनि अस्ट्रेलिया नै पुगेका थिए । फुटबल खेलेर मात्र जीविका चलाउन नसक्ने देखेपछि अध्ययन गर्न अस्ट्रेलिया पुगेका उनी पढाइ सकाएपछि नेपालमै आएर फुटसल व्यवसायमा लागेका छन् । उनले आफ्नै लगानीमा मध्य बानेश्वरमा ‘बानेश्वर रिक्रिएसन सेन्टर’ सञ्चालन गरेका छन् । उनले सेन्टरमा फुटसलका साथै स्विमिङ पुल र स्पा पनि सञ्चालन गर्दै आएका छन् । चार रोपनी जग्गा भाडामा लिएर फुटसल सञ्चालन गरेको मानसाजनले बताए ।

‘अस्ट्रेलियाबाट स्वदेशमै केही गर्छु भनेर नेपाल फर्किएको हुँ । नेपाल आएपछि के काम गर्ने भन्ने अन्योलका बीच फुटसल व्यवसाय सुरु गरेँ । अहिले सोच्दा त्यस बेला ठीकै निर्णय गरेछुजस्तो लाग्छ’, बानेश्वरस्थित फुटसल सेन्टरमा भेटिएका राजभण्डारीले भने, ‘म खेलाडी भएका कारण पनि व्यवसाय चलाउन सजिलो भएको छ । व्यक्तिगत पीआरमै व्यवसाय चलेको छ ।’ १०औं दक्षिण एसियाली खेलकुदमा नेपालले कांस्य पदक जित्दा प्रदीप महर्जन, विजय गुरुङ र मानसाजन एन्फा एकेडेमीबाटै टोलीमा सहभागी थिए ।

यसैगरी एन्फा एकेडेमीका पहिलो ब्याचका सौगातसिंह राठोर, सुसन भण्डारी, दीपक खवास र सुभास राई अहिले के गर्दैछन्, उनकै सहपाठीलाई पनि थाहा छैन । पहिलो ब्याचका खेलाडीले यू-१२, यू-१४, यू-१६ र यू-१९ उमेर समूहका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । एकेडेमीको पहिलो ब्याच सन् २००३ को एएफसी यू-१९ च्याम्पियनसिपको दोस्रो चरणका लागि पनि छनोट भएको थियो ।

एकेडेमीको पहिलो ब्याचको यू-१६ टोली पनि दुईपटक (सन् २००६ र सन् २०१३) एएफसी यू-१६ च्याम्पियनसिपका लागि छनोट भएको थियो । एकेडेमीको पहिलो ब्याचको टोलीले नेपालमै सन् २००२ र सन् २००४ मा आयोजना भएको एएफसी ‘यू-१४ फेस्टिवल अफ फुटबल’को उपाधि पनि जितेको थियो । भुटानमा भएको किङ्स कप फुटबलमा एकेडेमीका २३ जना खेलाडीले भाग लिएका थिए ।

यसैगरी एकेडेमीको पहिलो ब्याचका नौजना खेलाडीले राष्ट्रिय टोलीमा एकैपटक स्थान बनाएका थिए । ‘पहिलो ब्याचका जस्ता खेलाडी अब उत्पादन हुन निकै मुस्किल छ’, प्रज्ज्वल भन्छन्, ‘पहिलो ब्याचका खेलाडीले उत्कृष्ट ट्रेनिङ पाए । विदेशमा एक्सपोजर पाए र विभिन्न क्लबमा पनि राम्रै मौका पाएका थिए ।’ मानसाजन पनि प्रज्ज्वलको कुरामा सहमत छन् । ‘एकेडेमीको पहिलो ब्याच एन्फाको प्रतिष्ठासँग जोडिएको थियो । राम्रो डाइट, विदेशी प्रशिक्षक, नियमित पढाइ र एकनासको प्रशिक्षण हुन्थ्यो तर त्यसपछिका ब्याचमा हेलचेक्र्याइँ सुरु भयो र राम्रा खेलाडी उत्पादन हुन छाड्यो’, मानसाजन भन्छन् ।

उत्कृष्ट खेलाडी उत्पादनका लागि एन्फाले हरेक खेलाडीमाथि लाखौं रुपैयाँ लगानी गर्‍यो । तर एन्फाले पहिलो ब्याचको खेलाडीबाट लगानी अनुरुपको प्रतिफल भने पाउन नसकेको सम्वद्ध व्यक्तिहरु नै स्वीकार्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.