युवती किन परिवारका लागि टाउको दुखाइ ?

युवती किन परिवारका लागि टाउको दुखाइ ?

मौसम सुहाउँदो स्लिभलेस टिसर्ट, पाखुरा र गर्धनमा गज्जबको ट्याटु अनि सल्सलाउँदो कपाल । अनुहारमा भने अलि जब्बरेपना जसलाई ढाक्न सायद पोतिएको हो, त्यो बाक्लो मेकअप । लेटेस्ट फ्यासनमा उभिरहेका कुमारीपाटीका म्यानिक्विनमा भन्दा पनि स्कुटरको पछाडि बसेकी उनी माथि धेरैका आँखा दौडिँदै थिए । छेउमै गुड्दै गरेको मोटरसाइकल चालकले केही अश्लील शब्द फुत्काइदिए । सुन्दर अनुहारमा रिसको पारो ह्वात्तै बढेको देखियो । रिसालु बड्बडाहटसँगै दायाँ हातको माझी औंला देखाइदिइन् र हुइँकिइन् उनी । हेर्नलायक अनुहार थियो त्यस बखत ती युवकको ।

Kumari-lamaतेस्रो लिंगीप्रतिको आम व्यवहार र मानसिकताको एक उदाहरण हो यो । आफूभन्दा फरक यौनिकतालाई सहजै स्वीकार्न नसक्ने सामाजिक ट्याबुका कारण जान अञ्जानमै हामी अरूको स्वतन्त्रता र अस्तित्वप्रति धावा बोलिरहेका हुन्छौं । अस्तित्व र पहिचानप्रति सजग जोकोहीका लागि यौनिकता महत्वपूर्ण हुन्छ । लैंगिक पहिचानको नाममा केवल महिला र पुरुषलाई मात्र स्वीकारिरहेको हाम्रो समाजमा अचेल बिस्तारै फरक यौनिकताको सवाल सतहमा आइरहेछ । गाईजात्राको अवसर पारेर 'ब्लु डायमन्ड सोसाइटी'ले आयोजना गर्ने गरेको 'गे प्राइड र्‍याली'ले निरन्तरता पाइरहेछ ।

यस वर्ष पनि विभिन्न रंगीचंगी पहिरनमा सजिएका तेस्रोलिंगीका सुन्दर तस्बिरहरू राष्ट्रिय दैनिक लगायतका पत्रपत्रिकामा प्रशस्तै छापिए । तर, यस्ता आक्कलझुक्कल हुने र्‍यालीहरूले फरक यौनिकता भएकाहरूलाई हकअधिकार, स्वतन्त्रता अनि अस्तित्व र पहिचानका लागि खासै महत्वपूर्ण योगदान दिन्छजस्तो लाग्दैन ।

नेपालजस्तो पारम्परिक सामाजिक, सांस्कृतिक संरचना भएको मुलुकमा मात्र नभई हामीले बुझेको स्वतन्त्रताका संवाहक मानिने युरोपका विकसित देशमा पनि फरक यौनिकतालाई अझै सहज स्वीकारिएको छैन । युरोपका इटाली, पोल्यान्डजस्ता अलि पारम्परिक मान्यातालाई जोड दिने देशहरूबाट बढी स्वतन्त्रता भएको बेलायततिर आउने गर्छन् गे तथा लेस्बियन कपलहरू ।

हामी त कतिसम्म पछाडि छौं भने गे र लेस्बियन जनाउने नेपाली शब्दसमेत हामीसँग छैनन् । एउटै 'समलिंगी' शब्दमा भिन्दाभिन्दै चरित्रलाई बुझाउनुपर्ने बाध्यता हाम्रो संकुचित चेतनाको चिह्न पनि हो ।

सन् २०१३ तिर लन्डन बसाइका क्रममा बनेका एक इटालियन मित्रले आफू सबै थोक छाडेर पार्टनरसँग (केटा) लन्डनतिर हनिनुको पछाडि इटालियन समाजको संकीर्णता भएको बताएका थिए । उनका अनुसार अझै पनि इटालीमा समलिंगीलाई राम्रो रूपमा लिइँदैन । इटालीमै उनको सम्बन्ध अगाडि बढ्ने सम्भावना नै नभएकाले उनीहरू देश छाड्न बाध्य भएका रहेछन् । पछिल्लो समय प्रसिद्धि र चर्चाको एउटा उचाइमा पुगिसकेका अन्तर्राष्ट्रिय ख्याति कमाएका सेलिब्रेटीहरूले भने आफ्नो यौनिकताका विषयमा खुलेर बोल्ने गरेका छन् ।

कोमल र नरम स्वभाव भएको छोरालाई स्त्रैण गुणयुक्त भनेर एउटा बाबुले सहजै स्वीकार्न सक्दैन । त्यसैगरी शारीरिक रूपमा बलियी, आँटिली र भडाङभुडुङ गर्न पछि नपर्ने युवतीहरू पनि घरपरिवारका लागि टाउको दुखाइ बन्छन् ।

गायिका लेडी गागाले निरन्तर रूपमा समलिंगीहरूको अधिकारका लागि बोलिरहेकी छन् । प्रसिद्ध अमेरिकी कवि एलन गिन्सवर्ग सन् १९४० कै दशकमा आफ्नो यौनिकता र समलिंगी अधिकारका विषयमा खुलेर बोल्ने र लेख्ने गर्थे । त्यसो त चर्चित ब्रिटिस गायक एल्टन जोनले आफ्ना समलिंगी पार्टनर डेभिड जेम्स फर्निससँग बिहे नै गरेर सरोगेसीबाट जन्माइएका दुई सन्तान पनि हुर्काउँदै छन् आजकल । सन् २०१४ मा समलिंगी विवाहले बेलायतमा कानुनी मान्यता पाएपछि उनीहरूलाई सजिलो भएको थियो ।

 

चर्चित व्यक्तिहरूले यस्तो खालको जीवनशैली अवलम्बन गरे पनि र बेलाबखत त्यसको समर्थनमा प्रचारबाजी गरे पनि यौनिकताको विषयमा महिला र पुरुषको साँघुरो घेराबाट सामाजिक चेत फराकिलो हुन सकेको छैन । संसारभर मानवअधिकारको डिङ हाँक्ने संयुक्त राज्य अमेरिकामा पनि ट्रम्पको उदयसँगै तेस्रोलिंगीलाई सेनामा भर्ती नगर्ने लगायतका विभेदकारी प्रावधान सिर्जना गर्ने प्रयास हुनु सामाजिक चेतको साँघुरोपनको दृष्टान्त हो ।

विश्वमै तेस्रोलिंगीलाई हेर्ने नकारात्मक दृष्टिकोण रहिरहेको यस धूमिल अवस्थामा नेपालका तेस्रोलिंगीको अवस्था कति बेहाल होला, हामी अनुमान मात्र गर्न सक्छौं । परिवार र समाजबाटै बहिष्कृत हुनुपर्ने त्रासका कारण कतिपयले त आफ्नो यौनिकताका विषयमा खुलेर बोल्न सक्दैनन् । यौनिकता एउटा र लैंगिकता एउटा लिएर कम्प्लेक्स जीवन बाँचिरहेकाहरूको जिन्दगीको अप्ठ्यारोपनबारे सोचिदिने कसले ? बुझिदिने कसले ? अञ्जली लामाहरूजस्ता केही थोरैमात्र संघर्ष गरेर अगाडि आउन सकेका छन् । लाइमलाइटमा देखिएको उनीहरूको चम्किलो मुहारपछाडि गरेको कठिन संघर्षको लेखाजोखा राख्ने 
इतिहास कसले लेखिदिन्छ ? फरक यौनिकतायुक्तलाई नेपाली समाजले गर्ने उपहास, छेडछाड र व्यंग्यका कारण पनि आफ्नो यौनिक स्वभाव लुकाएर बाँच्न बाध्य छन् उनीहरू ।

मर्द मान्यता

अझ पनि आममानसिकता द्विलिंगी छ । मानिसको लैंगिक पहिचान महिला र पुरुषमात्र छ भन्ने चिन्तन छ । त्यसमा पनि महिला र पुरुष गुणहरू छुट्ट्याइएका छन् । नारी भएपछि कोमल, सुन्दर, समर्पित हुनैपर्ने र पुरुष भएपछि बलियो, साहसी, कठोर हुनुपर्ने चिन्तनलाई मर्द मान्यताका रूपमा लिइन्छ । मास्कुलिनिटी (पुरुषत्व)का विषयमा विशेष दख्खल राख्ने प्राध्यापक सञ्जीव उप्रेती लेख्छन्, 'पितृसत्ताको आइडियोलजीले अवचेतन तहमा भन्छ, शारीरिक शक्ति प्रदर्शन पुरुषत्वको परिचायक हो ।

नारीहरू कोमल हुन्छन्, पुरुषहरू कठोर । नारीको कोमल शरीरमाथि हिंसाको छाप अंकित गरी बहादुरीको नमुना पेस गर्नसक्ने पुरुष नै वास्तविक पुरुष हुन्छ' (सिद्धान्तका कुरा)।
महिला र पुरुषको विषयमा लामो समयदेखि भनिँदै र सुनिँदै आएका गुणहरू नै आम जनमानसमा विद्यमान छन् । कोमल र नरम स्वभाव भएको छोरालाई स्त्रैण गुणयुक्त भनेर एउटा बाबुले सहजै स्वीकार्न सक्दैन । साथीभाइको बीचमा पनि ऊ कस्तो आइमाईजस्तो लगायतका ट्यान पाउँछ र हाँसोको पात्र बन्छ ।

त्यसैगरी शारीरिक रूपमा बलियी, आँटिली र भडाङभुडुङ गर्न पछि नपर्ने युवतीहरू पनि घरपरिवारका लागि टाउको दुखाइ बन्छन् । तीमाथि छरछिमेकको कर्के नजर त पर्छ नै, परिवारभित्रै उसको बिहेबारेबारे चर्चा चल्न थालेपछि 'छोरीमान्छे'जस्तो लवाइ, हिँडाइ र बोलाइ सिक्न अह्राइन्छ । शृंगारपटारका लागि दबाब दिइन्छ ।

महिला र पुरुषको गुण र व्यवहारबारे कोरिएका यस्ता सिमाना निश्चय नै शक्तिशालीले निर्धोमाथि थोपरेको मान्यता हो, जो केही समयकालपछि सर्वमान्य मान्यताका रूपमा विकास भयो । विशेषतः महिलाबारे कोरिएका यी स्त्रीजनीन गुणहरू पितृसत्ताले थोपरेको मान्यता हो । नारीवादीहरू यस खाले मान्यतालाई पुरुषसत्ताले आफ्नो आनन्दका लागि महिलाको यौनिकतामाथि गरेको नियन्त्रणका रूपमा लिन्छन् ।

समाजमा विद्यमान यी अनेकन मान्यता निश्चय नै शक्तिको खेल हो । शक्तिशालीले निर्धामाथि सधैं नै आफ्नो नियन्त्रण कायम राखिराख्न कहिले नियमकानुन नै बनाएर तह लगाउने काम गर्छ भने कहिले सामाजिक मान्यता, परम्परा र संस्कृतिका रूपमा अनेकन बन्देज र भिन्न मानसिकताभित्र बन्दी पारिदिन्छ । यौनिकताको मान्यता पनि यस्तै लामो समयदेखि जनजनको मस्तिष्कमा राज गराउन सफल मान्यता हो जो आज भत्किने क्रममा छ।

किनाराको आवाज

जात, धर्म, लिंग, वर्ण जस्ता अनेकन विषयलाई आधार मानी संसारभर मानिस मानिसबीच खनिएको विभेदको खाडल अझै पनि पुरिन सकेको छैन । बाहिरी रूपमा थोरबहुत पुरिएजस्तो देखिए पनि भित्री रूपमा ती सञ्जालहरू अपत्यारिलो रूपमा झांगिएकै छन् । लिंगका आधारमा गरिने विभेद अन्त्यका साथै आफ्नो अस्तित्वका लागि माहिलावादीहरू लड्न थालेको निकै समय भइसक्यो । तैपनि, अझै हाम्रै वरपर छोरा पाउने दबाबमा एउटी महिलाले हुर्किंदै गरेको भ्रूणको लिंग पत्ता लगाएर छोरी भए पाँचौं पटकसम्म पनि गर्भपतन गर्ने गरेका घटनाहरू सुनिन्छन् । जबकि, लिंग पहिचानपश्चात् गर्भपतन गर्नु गैरकानुनी हो ।

जातका आधारमा गरिने छुवाछूतको अन्त्यको लडाइँ शताब्दीऔं लम्बिसक्दा पनि अझै खोइ र निमट्यान्न हुन सकेको ? बेलाबखत पत्रिकामा छापिने कथित उच्च जातले तल्लो जातको मानिसको अञ्जुलीमा पानी खन्याइदिइरहेको चित्रले हाम्रो तथाकथित आधुनिकता र वैज्ञानिकतालाई खिसी गरिरहेजस्तो लाग्छ । कानुनका दफाहरूमा तोकिएका अधिकार र समानताको सिद्धान्त व्यवहारमा ठाडै उपहास गरिएको पाइन्छ ।

जड सामाजिक सांस्कृतिक मान्यता भएको हाम्रोजस्तो संकुचित समाजमा फरक यौनिकता भएकाहरूको आवाज किनारमा कतै बिलाउनु खासै अनौठो नै भएन । त्यसमा पनि अझ उनीहरूले समाजको मात्र होइन, परिवारकै तिरस्कार र घृणाले गर्दा आफ्नो यौनिकताका कारण अपराधीझैं भई बाँच्नुपर्ने अवस्था छ ।

यी भेदभावलाई सतहमा ल्याउने काम विभिन्न क्षेत्रबाट भइरहेका छन् । त्यसमा लेखक साहित्यकारहरूले सक्रियता निकै सराहनीय छ ।पछिल्लो समय नेपाली साहित्यमा यी किनाराकृतिहरूको विषय उठान भएका नाटक, कथा र उपन्यासहरू आएका छन् । तेस्रोलिंगीहरूको भोगाइ, अनुभूति, असहजता, पीडा साथै उनीहरूको अस्तित्व र पहिचानको सवाल उठाएका अनेकन साहित्यिक सिर्जनाहरू आइरहेका छन् । केही समयअघि मात्र सर्वनाम थिएटरमा मञ्चित चन्द्रप्रसाद पाण्डेयको नाटक 'जिउँदो आकाश'ले तेस्रोलिंगीहरूको अवस्था र भोगाइलाई जीवन्त उतारेको थियो ।

हालै सार्वजनिक अर्चना थापाको कथासंग्रह 'कठपुतला' भित्रको विमर्द नामक कथाले जन्मँदा केटा तर चाह केटीको भएको निरज उर्फ निर्जलाको निकै मार्मिक र जीवन्त कथा बोलेको छ । उनी फरक यौनिकताका कारण प्रतिष्ठित बाबुको घरबाट निकालिन्छन् । अबको संघर्ष मात्र उसको हो । एक्लो, तिरस्कृत र भावनात्मक रूपमा कमजोर अवस्था ।

परिवारबाटै हेलामा पर्नु कतिसम्मको सकसको कुरा । आफ्नो अस्तित्व र पहिचानका लागि लड्छन् उनी । एक्लो योद्धा उनी अमेरिकाको नामी विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछिन् । तर, पारम्परिक संकुचित सोचका उपज उनका बाबु उमेर र अन्य विविध कारणले निरीह छन् । उही आफूले तिरस्कार गरेको छोरा (छोरी) टीका, गाजल र चुरा, सबै पहिरिएर उभिएकी छ । आज ऊ त्यस घरमा स्वीकार्य भएकी छे ।

युवा साहित्यकारहरूले निकै उत्साहप्रद रूपमा यस्ता विषयहरू उठाइरहेको भेटिन्छ । जया ओझाले आफ्नो पहिलो उपन्यास 'आवरण नै अन्तरलिंगीको विषयमा लेखेकी छन् । त्यसका मुख्य पात्र न छोरा न छोरी हुनुको पीडाबाट गुज्रिन्छन् । मानसिक पीडा त छँदैछ, त्यसमा पनि आफ्नो यौनिकताकै कारण सहनु परेको परिवार र समाजको अवहेलना साथै आफ्नो अस्तित्व र पहिचानको संघर्षका बखत भोगेका अनगिन्ती नमीठा भोगाइहरू र उल्झनहरूको लस्कर उतारिएको छ ।

विश्वभरि नै फरक यौनिकता भएकाहरूको भोगाइ र यथार्थलाई आत्मसात् गरेर कलाका विभिन्न माध्यमबाट व्यक्त भइरहेको पेचिलो समय हो आजको । सिनेमा, गीत, कला र साहित्यमा यस विषयमा निकै सान्दर्भिक सिर्जनाहरू भइरहेका छन् । सन् २०१७ को ओस्कार सर्वोत्कृष्ट सिनेमा विजेता 'मुनलाइट' एक अश्वेत समलिंगी युवाको यौनिकता, पहिचान र अस्तित्वको संघर्ष उतारिएको कथा हो । त्यस्तै अन्तर्राष्ट्रिय ख्याति कमाएकी बुकर विजेता भारतीय लेखक अरुन्धती रोयको पछिल्लो चर्चित उपन्यास 'द मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस'ले पनि तेस्रोलिंगीको पहिचान र अस्तित्वको विषयलाई विद्रोही पात्र अन्जुममार्फत प्रस्तुत गरेको छ ।

यौनिकता अहिले अन्तर्राष्ट्रिय चर्चाको विषय भएको छ । लेखक, कलाकारहरूको चासो र ती विषयमा भएका सिर्जनाले आममानसिकतामा परिवर्तन ल्याउन केही भूमिका खेल्ने छ नै ।

साँघुरो समाज

एक महिला मित्रसँग मेरो निकै सामीप्यता थियो र छ पनि । हामी प्रायः सँगसँगै हुन्थ्यौं । साहित्यिक कार्यक्रम, समारोह आदिमा सँगै जानेआउने गथ्र्यौं । पछि एक शुभचिन्तकबाट थाहा लाग्यो, मेरो यौनिकताको विषयमा बजारमा गाइँगुइँ हल्ला चल्न थालेको छ । त्यो हल्ला पनि फेरि चेतनाको स्तर उक्सिएको मानिने लेखकहरूकै माझमा चलेको सुन्दा भने हामीले बाँच्दै गरेको फराकिलो जस्तो देखिने तर थथार्थमा अनेकन संकुचनबाट उत्रिन नसकेको सामाजिक मानसिकताका अघिल्तिर मज्जाले पछारिएको अनुभूति भयो ।

विविध विचार र अस्तित्वहरूलाई समान रूपमा समेटेर अघि बढ्नुपर्ने यो समयमा हामी जत्तिको लेख्ने बोल्नेहरूको वृत्तमा पनि कसैको यौनिकताका विषय चर्चा गर्नु, हियाएर बोल्नु या हाँसो ठट्टाको पात्र बनाउनु भनेको स्वतः हामीभित्रको रहलपहल जड मानसिकताकै प्रतिविम्ब हो । कानुनी रूपमा लिखितम भनेका धेरै विषय धेरै कालसम्म लिखितम रूपमै थन्किन या थन्क्याउनका लागि बनिन्छन्।

संसारको दृष्टि परिवर्तन गर्नुभन्दा पनि पहिलो आवश्यकता त आफ्नै दृष्टिदोष हटाउनु हो । मानिसहरूबीच जात, धर्म, लिंगजस्ता अनेकन पर्खाल उभ्याएर अरूको बाटो छेकिरहनुको अब कुनै तुक छैन । फरक बाटो हिँड्नेलाई बाटो छाडिदिनु नै समयको माग हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.