पुल छेउको सडक बगाएपछि आवतजावत गर्न समस्या
गौर : कटहरीया नगरपालिकामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षेती पुर्याउदा आवतजावत बन्द भएको छ ।रौतहटको कटहरीया नपास्थित बहादुरपुर घाटमा रहेको पक्की पुलको दायाबाया सडक बाढीले कटान गरेर नदी बगेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । सडक भत्काएको स्थानमा तीनसाता बितिसक्दा पनि मर्मत नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
सडक मर्मत नहुँदा सितलपुर बैरगनिया, बिजयपुर, सन्तपुर दोस्तिया, लक्ष्मनिया लगायत गाउका हजारौ बासिन्दालाई कटहरीया बजार तथा सदरमुकाम गौर आउनजान निकै समस्या भएको छ । गत साउन २९ गते आएको बाढीले पुलको दुवै तर्फ सडक कटान गरेको थियो । पुलको पश्चिमतर्फ बाढीले करीव ५० मिटर कटान गरेको छ भने पुर्वतर्फ पनि कटान गरेको छ ।
दुइबर्ष अघि मात्रै सो पक्की पुल निमार्ण सम्पन्न भएको थियो । पुलको दुवैतर्फ बाढीले कटान गरेपनि केही युवाहरुले बाँसको भर्याङ्ग राखेर आवतजावत गराइरहेका छन् । ती युवाहरुले बांसको भर्याङ्ग प्रयोग गरे वापत स्थानियबासीसँग प्रतिव्यक्ति २० रुपैया शुल्क लिने गरेका छन् । साइकल पुल माथी लगेको ५० रुपैया लिने गरेको स्थानीयवासी रेखा साहले बताइन् । पुल भत्किएको एक महिना बित्नलाग्दा पनि कुनै निकायले चासो नदीएको पीडितको गुनासो छ । लालबकैया पारीका बासिन्दाहरु पुलबाटमा सवारी साधन नचल्दा समस्यामा परेका छन् ।
बिरामी हुँदा, सुत्केरी सेवा लिन कटहरीया, गौर, गरुडा आउनलाई समस्या भएको सकिना खातुनको भनाइ छ । नदी किनारको सडक भत्किएकाले एम्बुुलेन्स समेत चल्ने बाटो नहुँदा आधा घण्टामा स्वास्थ्य सस्था पुगिने बाटोमा ५ घण्टा घुमेर जानुपर्ने बाध्यता उनीहरुको रहेको छ ।
बृद्धबृद्धा, बालबालिकाहरु जोखिम मोलेर बाँसको भर्याङ्ग प्रयोग गर्दै आएका छन् । महिलालाई भर्याङ्ग प्रयोग गर्दा धेरै समस्या हुने गरेको, बच्चा बोकेर चढ्न नसकिने हुँदा धेरै दुःख पाएको नगिना खातुनले दुःखेसो पोखिन् । कटहरीया उमाविमा पढ्ने नदी पारीका विद्यार्थी विद्यालय जान पाएका छैनन् । उनीहरुको पढाइ छुटेको छ । नदीले कटान गरेको ठाउमा धेरै पानी रहेको र तर्न समस्या हुनुका साथै पुलमा जानलाई भर्याङ्ग चढ्न पनि समस्या हुने सन्तपुरदोस्तियाका कक्षा ७ मा पढ्दै आएका शिवजी कुश्वाहले दुखेसो पोखे ।
बाढीले बगाएको पुलको किनारको सडक अस्थायी रुपमा भएपनि मर्मत गरी सवारी साधन सञ्चालन गर्नका लागि सडक विभागसँग स्थानीयले माग गरेका छन्। धेरै नेताहरु आएर हेरेर गएपनि तत्काल मर्मत गर्ने तर्फ चासो नदेखाएको सहदेव पटेलले गुनासो गरे । करोडौंको पुल बनेपनि १०/२० लाख रुपैया खर्च गरेर एउटा डोजरले माटो पुरे पुलमा हिड्न मिल्ने स्थानीय योगेन्द्र साहको भनाइ छ ।