बी एन्ड सी अस्पतालले तिरिदियो सम्झनाको उपचार खर्च
बिर्तामोड : उपचार खर्च अभावमा २१ दिनसम्म अस्पतालको शड्ढयामा सुतेकी झापा अर्जुनधारा नगरपालिका ९ कालिस्थानकी सम्झना सुनुवारको सम्पूर्ण उपचार खर्च बिर्तामोडको बी एन्ड सी अस्पतालले तिरिदिएको छ ।पाठेघरको शल्यक्रियापछि चिकित्सकले सम्झनालाई घर लैजान भने पनि अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा २० दिनसम्म बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा सुतिरहनु परेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि बी एन्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उनको उपचारबापतको रकम बिरामीका पति पोस्टबहादुर दिगर्चालाई शुक्रबार प्रदान गरेका हुन् ।
पाठेघरमा पलाएको चार केजीको ऐंजेरुको मनमोहन सामुदायिक अस्पतालमा शल्यक्रियापछि रकम अभावका कारण उनलाई अस्पतालबाट घर लैजान सकिएको थिएन । उनको शल्यक्रिया, अस्पताल खर्च तथा औषधि गरी जम्मा ९८ हजार पाँच सय २७ रुपैयाँ बी एन्ड सीका कार्यकारी निर्देशक प्रसाईंले प्रदान गरेर सम्झनालाई अस्पतालबाट डिस्चार्ज गरिदिएका हुन् । प्रसाईंले भने, ‘मैले बिहानै अन्नपूर्ण पोस्ट् पढें । उपचार भएर बिरामीलाई घर लैजान नसकिएको समाचार पढेर दुःखी भएँ । सोचें मान्छेले मरेर लाने केही होइन । सम्झना बहिनीको उद्धार मैले गर्नुपर्छ भन्ने लाग्यो ।'
सम्झनाका पति पोस्टबहादुरले बी एन्ड सी अस्पतालले आफूमाथि परेको दुःखमा ठूलो राहत प्रदान गरेको प्रतिक्रिया दिए । दिनहुँ पैसा जोगाड गर्न हिँड्दा पनि केही उपाय नलागेको उनले बताए । पोस्टबहादुरले भने, ‘म बिहानदेखि बेलुकासम्म सहयोग माग्न जाँदा कहीँ कतै उपाय लागेको थिएन । उपचारको सुरुमा केही साथीले पठाइदिएको १२ हजार रुपैयाँ फार्मेसीमा जम्मा गर्दै सकियो । उपाय नै थिएन । नत्र रहरले मैले श्रीमतिलाई अस्पतालमा कहाँ राख्थें र? '
सम्झनाको स्वास्थ्य भने सुधार हुँदै गएको छ । अस्पतालले उनलाई अब घर लाँदा हुन्छ भनेको सात दिन भइसकेको थियो तर रकम अभावमा अस्पतालमा नै दिन बिताउनु परेको सम्झनाले सुनाइन् । अस्पतालबाट छुटकारा पाउने भएपछि सम्झनाका आँखामा खुसीका आँसु प्रस्टै देखिन्थ्यो । उनले भनिन्, ‘बी एन्ड सीले जीवनमा नबिर्सिने गुन लगायो ।'
उनको पाठेघरको शल्यक्रियाका लागि १ लाख ४५ हजार रुपैयाँ लाग्ने मनमोहन अस्पतालले अनुमान गरेको थियो । उक्त अस्पतालले पनि त्यहीँका कर्मचारीले पाउने सुविधा दिएर उक्त रकम घटाएर ९८ हजार पाँच सय २७ मा झारेको थियो ।
ढाड दुख्ने समस्याबाट ग्रसित सम्झनाको अस्पतालमा चेकजाँच गर्दा पाठेघरमा ऐंजेरु पलाएको डाक्टरले भनेपछि सुनुवार परिवारमा समस्या निम्तिएको थियो । मनमोहन अस्पताल व्यवस्थापनले लागेको लागत मात्र तिर्ने अवस्था भए अस्पतालबाट जान दिने बताएको थियो ।