सेनाले छिचोल्यो हावाडाँडाको भीर
गोरखा : एक पाइला मात्र अट्ने लापुको एकपाइले भीरमा सयौं वर्षदेखि स्थानीयवासी भित्तामा टाँसिएर जोखिमपूर्ण यात्रा गर्थे । त्यही भीरमा चार महिना लगातार काम गरेर नेपाली सेनाले आठ मिटर फराकिलो सडक बनाएपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । एक समारोह गरी स्थानीयवासीले सेनाको स्वागत गरेको स्थानीय सुकमाया गुरुङले जानकारी दिइन् ।
बेनीघाट-आरुघाट-लार्के सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो । जिम्मा पाएपछि गत वैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीले भीरमा बम बिस्फोट गरी शिलान्यास गरेका थिए । निरन्तरको प्रयासपछि सेनाले हावाडाँडाको एकपाइले भीर छिचोलेर सडक लापुबेसी पुर्याएको छ ।
तिब्बतको सिमाना जोड्ने सडक अहिले लापुबेसी पुगेको त्यहाँस्थित सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षत्रीले जानकारी दिए ।‘चिफसाबले भीर बिस्फोट गरेर शिलान्यास गर्नुभएको थियो । यो बर्खाको चार महिना बिस्फोटै बिस्फोट गरेर भीर काटेपछि सडक अहिले लापुबेसी पुगेको छ', क्षत्रीले भने, ‘गाउँमा सडक आइपुगेको खुसीयालीमा लापुबेसीका बासिन्दाले हाम्रो टिमको स्वागत पनि गरे ।' निर्माण कार्यदलमा सहभागी सबैलाई खादा, माला लगाएर स्वागत गरेको उनले बताए ।
एकपाइले भीर छिचोल्नुलाई बेनीघाट-आरुघाट-लार्के सडकको सबैभन्दा चुनौतीपूर्ण कामका रूपमा लिइएको थियो । भीर फुटाउने क्रममा एकजनाको ज्यानसमेत गएको थियो । डाँडा काटेकाले गाउँले सबैले खुसीयाली मनाएको र सेनाको पनि स्वागत गरेको लापुबेसीकी सुकमाया गुरुङले बताइन् । ‘गाउँमा हिजो धुमधाम खुसीयाली मनाइयो', उनले भनिन्, ‘भूभिराज महिला समूहले हाम्रो गुरुङ परम्पराअनुसार भोजभतेर गरेर रमाइलो मनाए । अनि सेनाका मान्छेलाई खादा, माला ओढाएर स्वागत पनि गरियो ।' सबैभन्दा ठूलो भीर छिचोलेर सडक आएपछि उत्तरी गोरखाको अठारसय खोलाको विकासले फड्को मार्ने उनले विश्वास व्यक्त गरिन् ।
जिम्मा पाएपछि गत वैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीले भीरमा बम बिस्फोट गरी शिलान्यास गरेका थिए । निरन्तरको प्रयासपछि सेनाले हावाडाँडाको एकपाइले भीर छिचोलेर सडक लापुबेसी पुर्याएको छ ।
यसअघि उक्त खण्डमा काम गर्दा सेनाले यात्रुका लागि मान्बु, काशिगाउँ हँदै वैकल्पिक बाटोको व्यवस्था गरेको थियो । भीर छिचोलेपछि अहिले पैदलयात्रु र दैनिक उपभोग्य सामान बोक्ने खच्चड सजिलै पुरानो बाटो हिँड्ने गरेका छन् ।
सडक निर्माण गर्न सेनाले अर्मलामा शिविर खडा गरेको छ । दैनिक सेनाका १ सय ३५ जना सडक निर्माणमा खटिन्छन् । लापुबेसीमा पुगेपछि सडक निर्माणमा केही सहज भएको मेजर क्षत्रीले बताए । ‘अब त दिनको चार पाँच सय मिटर खन्छौं', उनले भने, ‘अब पाँच किलोमिटर खनेपछि माछाखोला जोडिन्छ ।' अबको दुई/तीन महिनाभित्र माछाखोला पुग्ने लक्ष्य उनले सुनाए ।
अन्दाजी १ सय ८३ किलोमिटर लामो बेनीघाट-आरुघाट-लार्के सडकको भीर र पहराको भाग रहेको करिब एक सय २० किलोमिटर सडक निर्माण गर्ने जिम्मा सेनाले लिएको हो । ६० किलोमिटर सडक भने सडक विभागले निर्माण गरेको छ । बूढीगण्डकीको किनारैकिनार सडक निर्माण हुने मेजर क्षत्रीले बताए । सडक निर्माण भएपछि गुम्दा, लापु, उहिया, काशिगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन् । त्यस्तै तिब्बतदेखि वीरगन्ज हँदै भारतको सिमाना जोड्ने सबैभन्दा छोटो बाटो बन्ने विश्वास गरिएको छ ।