इतिहास : हेमराजको डायरीमा रुद्रशमशेर
राणा शासनको इतिहास पनि गजबकै छ । आफ्ना मामा प्राइममिनिस्टर माथबरसिंह थापा (वि.सं. १८५५-१९०२)लाई मारेपछि जंगबहादुर (वि.सं. १८७४-१९३३, शासनकाल वि.सं. १९०३-१९३३) साफल्यको खुड्किला उक्लँदै गएका हुन् । त्यसपछि श्री ३ भएका, उनका भाइ रणोद्दीपसिंह (वि.सं. १८८१-१९४२, शासनकाल वि.सं. १९३३-१९४२)लाई र जंगबहादुरका छोरा-नातिलाई मारी उनकै भतिजा वीरशमशेर (वि.सं. १९०९-१९५७, शासनकाल वि.सं. १९४२-१९५७) श्री ३ हुन पुगे । हुन त यो राणावंशको मात्र कुरा होइन, इतिहासमा आफ्नै बाबुलाई पनि मारेर राजा भएका उदाहरण नपाइने होइनन् । यसैले महाकवि कालीदासले 'दुरितैरपि कर्तुमात्मसात् प्रयतन्ते नृपसूनवो हि यत्' ('रघुवंश' ८।२) अर्थात् 'राजाका छोराहरू पापकर्म गरेर भए पनि राजा हुने कोसिस गर्छन्' भनेका छन् ।
आफ्ना जेठा बाबु श्री ३ जंगको सिको गरेर जात नमिल्ने भए पनि मन परेकी पत्नीबाट जायजन्म भएका छोराहरूलाई वीरशमशेरले श्री ३ को रोलमा उकाले । यसबाट ठ्याहा राणाजीहरू आपूm श्री ३ हुन ढिलो हुने वा हुनै नपाउने सम्भावना बढेकाले उनीहरू अप्रसन्न भए । वीरशमशेरपछि श्री ३ भएका उनका भाइ देवशमशेर (वि.सं. १९१९-१९७०, शासनकाल वि.सं. १९५७-१९५८)ले ४ महिना पनि शासन गर्न नपाएकाले र उनीपछि श्री ३ भएका उनका भाइ चन्द्रशमशेर (वि.सं. १९२०-१९८६, शासनकाल वि.सं. १९५८-१९८६)को विचार मठ्याहालाई रोलमा उकाल्ने नभएकाले यी दुई भाइको पालामा मठ्याहा राणाजी रोलमा चढ्न पाएनन् ।
उल्टो, राणाजीहरूमा को ठ्याहा, को मठ्याहा भनी जात मिल्नेसँग विधिपूर्वक भएको विवाहबाट जायजन्म भएकालाई 'ए'मा, त्यसभन्दा एक सिँढी कम भएकासँग विवाह भई जायजन्म भएकालाई 'बी'मा र तल्लो जातकी पत्नी ल्याई तिनीबाट जायजन्म भएकालाई 'सी'मा गरी तीन क्लासमा अर्थात् वर्गमा सम्पूर्ण राणाजीहरूलाई बाँडेर श्री ३ चन्द्रले वंशावली तयार गराए । अनि त्यो वंशावली बेलाइती पत्रकार पर्सिभल ल्यान्डन (वि.सं. १९२५-१९८३)लाई लेख्न लगाइएको नेपालसम्बन्धी पुस्तक ('नेपाल्', कन्स्टेब्ल, लन्डन, ई.सं. १९२८)मा घुसाई देशविदेशमा डुंग्री पिटाए ।
चन्द्रशमशेरपछि श्री ३ भएका उनका भाइ भीमशमशेर (वि.सं. १९२२-१९८९, शासनकाल वि.सं. १९८६-१९८९)ले जात नमिल्ने भए पनि मन परेकी पत्नीबाट जायजन्म भएका आफ्ना छोराहरू र त्यस्ता छोराका छोरालाई पनि रोलमा उकालेकाले ठ्याहा राणाजीहरू भित्रभित्र मुर्मुरिइहेका थिए ।
भीमशमशेरपछि श्री ३ भएका उनका भाइ जुद्धशमशेर (वि.सं. १९३२-२००९, शासनकाल वि.सं. १९८९-२००२)ले ठ्याहा राणाजीहरूको जोडमा मठ्याहा जतिको रोल वि.सं. १९९० चैत ५ गतेको दिन काटे । यसको प्रत्यक्ष असर जुद्धशमशेरपछि लगत्तै श्री ३ महाराज हुने, कम्यान्डर इन-चिफ रुद्रशमशेर (वि.सं. १९३४-२०१९) श्री ३ वीरका मठ्याहा छोरा हुनाले उनमा पर्यो र उनी पाल्पा धपिई त्यहाँको बडाहाकिममा नियुक्त भए ।
मोहनशमशेर (वि.सं. १९४२-२०२३, शासनकाल वि.सं. २००५-२००७)पछि लगत्तै, बबरशमशेर (वि.सं. १९४४-२०१७)भन्दा अगाडि श्री ३ हुन पाउने प्रतापशमशेर (वि.सं. १९४३-? ) श्री ३ वीरका मठ्याहा छोरा र हिरण्यशमशेर (वि.सं. १९४३-२००८) श्री ३ भीमका मठ्याहा छोरा भएकाले उनीहरूको रोल काटिई क्रमश: इलामका र धनकुटाका बडाहाकिममा उनीहरू नियुक्त भए।
रुद्रशमशेरका, लखनौमा बसिरहेका चार भाइ छोराले सहीछाप गरी श्री ३ मोहनलाई पठाएको चिठीमा 'हामी पाल्पा आउन पाऔं' भनी लेखिएको थियो । काठमाडौं आउन नखोज्नु, पाल्पा जान खोज्नुको मतलब के हो ?
श्री ३ वीर र श्री ३ भीमका मठ्याहा छोराहरू यही कारणले गर्दा राणाशासनको विरोधी हुन गए र राणाशासन ढाल्न उनीहरू लागे । नयराज पन्त (वि.सं. १९७०-२०५९)का शिष्य भोलानाथ पौडेल (वि.सं. १९७८-२०६६), धनवज्र वज्राचार्य (वि.सं. १९८८-२०५१) र ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)को नाउँमा छापिएको एउटा लेखका शब्द सापटी लिएर भन्नुपर्दा '१९९० सालमा पदच्युत भएका मठ्याहा राणाको दल नै राणाराज्यको पतनमा मुख्य कारण बन्यो । हुन त राणाराज्यको पतन हुनामा अरू पनि धेरै कारण छन्, तथापि-
'त्वया मया च कुन्त्या च धरित्र्या वासवेन च ।
जामदग्न्येन रामेण षड्भि: कर्णो निपातित: ।।
'भन्ने कर्ण मारिएपछि श्रीकृष्णको मुखबाट निस्केको भनाइअनुसार २००३ सालमा भारतले पाएको स्वातन्त्र्यले श्रीकृष्णको ठाउँ लिएको र १९९० सालमा पदच्युत गरिएका मठ्याहा राणादलले अर्जुनको ठाउँ लिएको ता अवश्य नै हो । यदि राणाको कुलसंघ नफुट्तो हो त भारतस्वातन्त्र्यले पूm गर्दैमा हेर्दा हेर्दै यसरी शोचनीय तवरले राणाकुलको राज्य बिलाउने थिएन' ('कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या' १ संख्या, २००९, ५ पृ.) ।
नेपालका शासकहरूले आफ्नोबारे लेखेको खास पाइँदैन । शासकहरूको विषयमा अरूहरूले लेखेकोचाहिँ थुप्रै पाइन्छ । तर, त्यस्ता लेख शासकले आफ्नो कुरा प्रचार गर्न लेखाएको वा शासकलाई खुसी पार्नका लागि लेखेको मात्र हुन्छ । संस्कृत शिक्षाका डाइरेक्टर भएर वर्षौं हालीमुहाली गरेका, श्री ३ चन्द्र र श्री ३ मोहनको पालाका शक्तिशाली दरबारिया, नायब बडागुरुज्यू हेमराज शर्मा (वि.सं. १९३५-२०१०) पनि मध्यम श्रेणीका शासकमै पर्छन् भनी भन्दा अत्युक्ति नहोला । हुन त उनको रूप शासकीयमात्र थिएन, वैदुष्यमय पनि थियो । यसैले शासकको रूपमा भन्दा नेपाली भाषाका लब्धप्रतिष्ठ वैयाकरण, नेपालमा आधुनिक ढंगले अन्वेषणकार्यको पथिकृत् भनी उनी अहिले बढी सम्झिइन्छन् । उनले दिनका दिनजस्तो डायरी पनि लेख्ने गरेका रहेछन् । यो तथ्य उनका नाति प्रकाश ए. राज (वि.सं. २००० मा जन्म)को प्रयासबाट उद्घाटित भयो ।
प्रकाशित गर्नका लागि नलेखिई, आफ्नो हृदय उद्घाटित गरी डायरी लेखिने भएकाले इतिहासको परिशीलनमा डायरीको भिन्नै स्थान छ भनी भनिरहनु नपर्ला । प्रकाश ए. राज आपैmंले ('विद्वच्छिरोमणि हेमराज शर्मा', काठमाडौं, २०३५, २२-२३, २४-२५, २६, ४१-४३, ६२-६८, ६९-७१, ७३-७७) र ज्ञानमणि नेपालले ('पं. हेमराज शर्मा- उनका कृति र समीक्षा', महेन्द्र-संस्कृत-विश्वविद्यालय, दाङ, २०५७, ५७-१४०) हेमराजका डायरीका अंश प्रकाशित गरेर तात्कालिक नेपालको इतिहासको परिशीलनमा हामीलाई सहायता पुर्याएका छन् । यसरी हेमराजको डायरीका केही अंश प्रकाशमा आइसकेका भए पनि प्रकाशित हुन अभैm निकै अंश बाँकी हुनुपर्छ भन्ने मलाई लागिरहेको थियो ।
हेमराज शर्माको डायरीका, अभैm नछापिएका, वि.सं. २००७ कात्तिक ११ र १२ गतेका २ पृष्ठको फोटोकपी यही साउन २२ गते प्रकाश ए. राजबाट मैले पाएँ । डायरीका तिनै पृष्ठको वरिपरि मेरो यो लेख घुमेको छ ।
भारतमा तयार भएको त्यस डायरीको शिरमा अंग्रेजीमा ठूलो अक्षरमा 'अक्टोबर १९५०' र दोस्रो पङ्क्तिमा ती अक्षरभन्दा केही सानोमा 'फ्राइडे २७' लेखी अर्को पङ्क्तिमा देवनागरीमा अलि सानो अक्षरमा 'कार्तिक कृ. २ सं. २००७ शुक्रबार आश्विन व. २ श. १८७२' लेखिएको छ । यताबाट अमान्तमान र पूर्णान्तमान दुवैमा तिथि दिइएको स्पष्ट हुन्छ । नेपालमा त्यस बेला व्यवहारमा सौरमान अर्थात् गतेको चलनचल्ती भइसकेकाले हेमराज शर्माले आफ्नै हस्ताक्षरमा 'कात्तिक ११ गते' भनी शिरमा लेखेका छन् । यसकारण उनको डायरीको त्यस पृष्ठमा वि.सं. २००७ कात्तिक ११ गतेको घटना लेखेको देखिन्छ । उनले त्यस दिनको घटना मिनिस्टर बबरशमशेर र उनका कान्छा छोरा ब्रह्मशमशेर (वि.सं. १९६६-२०४४)को बीचको अंशबन्डासम्बन्धी कुराबाट उठाई त्यही विषयमा आपूm बबरमहल पुगेको कुरा लेखेका छन् । त्यो कुरा यस लेखको विषयवस्तु नभएकाले त्यस विषयमा बढी नलेखूँ ।
बबरमहलबाट हेमराज शर्मा पाटनको कन्या पाठशालामा गएको कुरा त्यसपछि लेखिएको छ । उनी संस्कृत र त्यससम्बन्धी शिक्षाका डाइरेक्टर भएकाले त्यस पाठशालामा निरीक्षण गर्न उनी गएको देखिन्छ ।
राणाशासनको विरोध बढ्दै जाँदा पाल्पामा धपिएर बसेका रुद्रशमशेरका सन्तानहरू पनि त्यसको विरोधमा लागे । वि.सं. २००७ कात्तिक ११ गतेको, हेमराज शर्माको डायरीको पृष्ठको मूल विषयवस्तु यही भएकाले सबभन्दा पहिले उनकै भाषामा त्यो अंश उतारूँ-
('४ बजे सिंहदर्बारमा गएको थिएँ. श्री ५ महाराजाधिराज सवारी भएको थियो. बेलुका चीफ प्रभृति पनि आउनुभयो.
'पालपामा ज. प्रचण्डसंसेरलाई पठाउने, कम्या. रुद्रसंसेरबाट त्यहाको अधिकार झिक्ने उहालाई मुग्लान जान नदिने, अर्गलीमा वा गोर्खामा नजरबन्द गरी राख्ने भत्रे कुरा भयो. उहालाई हिन्दुस्थान जान दिने भत्रे कसैको राय
भएमा- उहालाई उसतिर जान दिदा छोराहरूको कार्रवाईमा जो मामिला सुरु भएको छ. त्यसको प्वाइन्टमा हाम्रो कमजोरी देखिनेछ. भनी मैले भनेपछिबाट सबैलाई सोधीबक्सदा धेरैले नपठाउने कुरामा नै राय जाहेर गर्नुभयो. जंगी लाठको जान दिने राय थियो. उहाका छोरा ईश्वरसंसेर प्रभृतिले पाल्पामा जान पाऊ भत्रे बारेमा लखनौबाट पठाएको पत्रको जवाब नदिने आउन पनि नदिने, नेपालमा नआउने फेरी पाल्पामा फर्केर जाने कुराको मतलब क्या हो. आर्कै मतलब हुन सक्छ. यो आउन दिनाले उनीहरूका उपर जो आरोप लगाएको छ. त्यस्को प्रमाण कमजोर हुन जानेछ. सर्कारबाट नेपाल आउनु भत्रे भएमा उहाबाट नेपाल जान भनि आउने, गोरखपुरबाट लखनौतिर गई नेपालमा नआएकोले र नेपालमा उहाहरूका बारेमा पोल परेको कुरा उहाहरूकै पत्रमा बुझिएको र बुबालाई पनि थाहा छ भत्रे छाटको सबै छोराहरूको सहीछाप परेको चिठी आएकोले उहाहरूलाई सर्वथा पाल्पा जान दिनु हुदैन भत्रे सबैको राय भयो. वायरलेस ट्रान्समिटर पनि नौतनुवामा पक्रिएको कुरा उसतर्फको मानिसबाट पनि सुनियो. सायद छापामा पनि छापिएको जस्तो छ. यसबाट त उनीहरूले पक्री उहीको कानुनअनुसार पक्राउ गर्नुपर्दछ. गोरखपुरमा गोपालसंसेरलाई सोध्दा मेरो हो भने भत्रे खबर पनि सुनिएको छ. यस्मा कार्रवाई इण्डियाका सरकारले नगरे पनि त्यत्रो जहान लिएर गएका तिनीहरू यो महगीमा कति दिन हिन्दुस्थानमा टिक्न सक्छन् र ?
यस्मा अनुग्रह गर्ने बखत छैन. उल्टो जोर गर्ने बखत छ. उनीहरू नेपालमा नआउनाले एक प्रमाण पाइयो. वायरलेश पाइएकोले उठेको कुरामा प्रुफ भयो. ज. रुद्रलाई पनि थाहा छैन कि भत्रालाई पनि भत्र सकिने ठाउ पाइयो. भत्रे यस्तै छलफल भयो. पोखरा पाल्पामा त राख्नु भएन. कहा राख्ने त भत्रे कुरा उठ्दा गोरखा बस्ने ठाउ धेरै छ. त्यही राख्ने भत्रे कुरा उठ्यो. अर्गलीको घरहरू जुवाईलाई राजर्षिले दिएको भए पनि त्यहा केही काल राख्न राजर्षिले के भत्रु होला र, धेरै टाढा पठाउदा बाटामा धेरै खर्च लाग्ने हुन्छ. जहान ठुलो छ. अैखले त त्यही राख्नु बढिया होला कि भनी श्रीचीफले जाहेर गरिबक्सियो. उहापछि ज. प्रचण्डलाई यसो गर्नु भत्रे इत्यादि कुराको इन्सट्रन्सन भयो. उहाँले भर्ना गर्ने कारिन्दाहरूको बारेमा कुरा उठाउदा अधिकार धेरै छ भत्रे भइ केही हस्सी पनि भयो.')
डायरीको एक पृष्ठमा यो नअटाएपछि भोलिपल्टका लागि छुट्ट्याइएको पृष्ठ झन्डैझन्डै यही विषयले ओगटेको छ । सरासर लेखेको खण्डमा अघिल्लो पृष्ठमा नअटाएको अंश भोलिपल्ट अर्थात् कात्तिक १२ गतेको हो भन्ने भ्रम पर्ला भनी हेमराज शर्माले त्यस पृष्ठमा तलबाट उल्टो पारी लेखेका छन् । त्यसपछि कार्तिक १२ गतेको घटनाचाहिँ डायरीमा छापिएको मितिको तल, ११ गतेको कुरा लेखेको अंशपछि सोभैm लेखी त्यहाँ नअटाएको जति मितिभन्दा माथि खाली ठाउँमा लेखिएको छ ।
रुद्रशमशेरका छोराहरू राणाशासनको विरोधमा लागि गरेको कामको विषयमा छलफल गर्न पर्सिपल्ट अर्थात् कात्तिक १३ गते पनि सिंहदरबारमा बैठक बसेको थियो । डायरीको त्यो अंशचाहिँ झण्डै १७
वर्षअगाडि नै छापिए (पं. हेमराज
शर्मा- उनका कृति र समीक्षा', ११७-११८ पृ.) पनि कात्तिक ११ गतेको डायरीसँग जोडी लेख्नु परेकोले त्यो पनि यहाँ उतारिन्छ-
('आज श्री ५ महाराजाधिराज सिंहदर्वारमा सवारी भएको थियो. भोली हुने ट्रीटीको कागतमा सहि गरिवक्सियो. काशी समाचारपत्रमा छापिएको पाल्पाका कम्याण्डरइनचीफ रुद्रसंसेरका छोराहरूको संबन्धमा इण्डिया गभर्नमेन्टले गरेको कार्रवाइको केही जिकर गरेको रहेछ. त्यो श्री ५ लाई सुनाउन मलाई हुकुम भयो मैले सुनाएँ. उहा सवारी फिरेपछि चीफ, प. क. ज., पू. क. ज. सित धेरै वेरसम्म श्री ३ वाट एकान्त गरिवक्सियो. ९ वजे राती हामीलाई बिदा भयो.
'वायरलेस ट्रान्समिटर राखेको बारेमा क. रुद्रका छोरा गोपालसंसेरलाई बनारसमा गिरफ्तार गरेको कुरा छापामा पनि आएको थियो. यो ट्रान्समिटर अघि पाल्पामा थियो रे. नौतनुवामा लगेपछि पुलिसले पक्री गोरखपुरमा लगेको थियो. त्यहा गोपालसंसेरलाई सोद्धा मेरो हो भनि भने भत्रे खबर पनि आएको थियो.')
वि.सं. २००७ कात्तिक ११ गते सिंहदरबारमा भएको बैठक नै हेमराज शर्माको डायरीबाट माथि उद्धरण गरिएको अंशको मुख्य विषयवस्तु छ । यसको १० दिनमा कार्तिक २१ गते त नारायणहिटी दरबार छोडी श्री ५ त्रिभुवन (वि.सं. १९६३-२०११, राज्यकाल वि.सं. १९६८-२०११)ले हिन्द दूतावासमा शरण लिइहाले । कात्तिक ११ गते अपराह्ण ४ बजे हेमराज सिंहदरबार पुग्दा श्री ५ त्रिभुवन त्यहाँ आइसकेका थिए । पछि चिफ अर्थात् बबरशमशेर आदि त्यहाँ आइपुगे ।
त्यस बैठकको विषय पाल्पामा बडाहाकिम बनाई राखिएका रुद्रशमशेरका एकै गुँडका चार भाइ छोरा ईश्वरशमशेर, गोपालशमशेर (वि.सं. १९६४-२०३७), श्यामशमशेर र धैर्यशमशेर नेपाली कांग्रेससँग मिली भारतमा गई बसेकाले उनीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने थियो । रुद्रशमशेरबाट पाल्पाको अधिकार झिकी उनको ठाउँमा जर्नेल प्रचण्डशमशेर (धीरशमशेरका सातौं छोरा फत्यशमशेरका जेठा छोरा अर्थात् मोहनशमशेरपछि रोलमा सातौं)लाई पाल्पा पठाउने, रुद्रशमशेरलाई भारत जान नदिने, रिडीनजिकै अर्गलीमा वा गोरखामा नजरबन्द गरी राख्ने भन्ने कुरा भयो । रुद्रशमशेरलाई भारततिर जान दिँदा उनका छोराहरू काङ्ग्रेसीसँग मिलेकाले हाम्रो पक्ष कमजोर हुन्छ भनी त्यस सभामा हेमराजले भने । त्यसपछि श्री ३ मोहनले यस विषयमा सबैसँग सोध्दा धेरैले रुद्रशमशेरलाई भारत जान नदिनेमै सम्मति दिए । जंगीलाठ अर्थात् केशरशमशेर (वि.सं. १९४८-२०२१)ले चाहिँ राय बझाई रुद्रशमशेरलाई भारततिर जान दिने कुरा गरे ।
रुद्रशमशेरका, लखनौमा बसिरहेका ती चार भाइ छोराले सहीछाप गरी श्री ३ मोहनलाई पठाएको चिठीमा हामी पाल्पा आउन पाऔं भनी लेखिएको भए पनि त्यसको जवाफ नदिने कुरा भयो । उनीहरूलाई काठमाडौंमा बोलाउँदा उनीहरू यहाँ आउन नमान्ने, पाल्पाचाहिँ जान खोज्ने भएपछि यसको मतलब के हो ? उनीहरूलाई पाल्पा आउन दिनाले उनीहरूमाथि जो आरोप लगाइएको छ, त्यसको प्रमाण कमजोर हुन जान्छ । काठमाडौं आउनू भनी उनीहरूलाई पहिल्यै बोलाहट जाँदा पाल्पाबाट काठमाडौं जाने भनी हिँडे पनि यहाँ नआई उनीहरू गोरखपुरबाट लखनौ किन गए ? यस कारण उनीहरूलाई कुनै हालतमा पनि पाल्पा जान दिनु हँदैन भन्ने सबैको राय भयो ।
रुद्रशमशेरका छोराहरूले आपूmसँग लिएर आएका वायरलेस ट्रान्समिटरहरू पनि नौतनुवामा पक्रिएको कुरा उतातिरका मानिसबाट सुनिएको र त्यही कुरा अखबारमा पनि छापिएको हल्ला आएकोले उनीहरूलाई भारतकै कानुनअनुसार पक्राउ गर्नुपर्छ, रुद्रशमशेरका एकजना छोरा गोपालशमशेरलाई सोध्दा यी सामान आफ्नो भनी उनले सकारेको खबर पनि सुनिएको छ, यसमा भारत सरकारले कारबाई नगरे पनि त्यत्रो जहान लिएर गएका तिनीहरू महँगीमा कति दिन त्यहाँ टिक्न सक्लान् ? यो बेला उनीहरूलाई अनुग्रह गर्ने होइन कि उल्टो जोर गर्ने हो । उनीहरू काठमाडौंमा नआउनाले एउटा प्रमाण पाइएकोमा वायरलेस भेट्टाइएकाले त्यसको पुष्टि भयो, छोराहरूको यो काम रुद्रशमशेरलाई थाहा छैन भनी भन्न सकिने ठाउँ पनि भयो भन्ने आदि छलफल भयो ।
पोखरा र पाल्पामा त राख्नै भएन, गोरखामा धेरै ठाउँ भएकाले त्यहीँ राख्ने कुरा पनि उठ्यो । अर्गलीका घर श्री ३ जुद्धले जुवाइँलाई दिएको भए पनि केही काल रुद्रशमशेरलाई त्यहाँ राखे श्री ३ जुद्धले के भन्लान् र, रुद्रशमशेरका चार छोरा एकगठ भई बसेकाले उनको ठूलो जहान हुने नै भयो, यसैले धेरै टाढा पठाउँदा बाटोमा धेरै खर्च लाग्छ, यसैले अहिले अर्गलीमै राख्नु राम्रो होला भन्ने भनाइ बबरशमशेरको थियो । प्रचण्डशमशेरलाई पाल्पा पठाउने निर्णय गरी सो सभा टुंग्याइयो ।
कात्तिक १३ गतेको डायरीबाट पनि सिंहदरबारमा मूलत: रुद्रशमशेरका छोराहरूको विषयमै छलफल भएको बुझिन्छ । १४ गते नेपाल र बेलाइतको बीचमा सन्धि हुने भएकाले त्यस सन्धिपत्रमा सहीछाप गर्न श्री ५ त्रिभुवनलाई सिंहदरबारमा बोलाएर सहीछाप गराएपछि फेरि रुद्रशमशेरका छोराहरूकै कुरा उठाइयो । राणाशासनको विरोधमा लागेका रुद्रशमशेरका छोरा गोपालशमशेरलाई भारत सरकारले गिरफ्तार गरेको कुरा काशीको अखबारमा छापिएको रहेछ । त्यो खबर श्री ५ त्रिभुवनलाई पढेर सुनाउनू भनी श्री ३ मोहनले भनेकाले हेमराज शर्माले हुकुम शिरोपर गरी त्यसै गरेछन् । यसभन्दा अगाडि नै रुद्रशमशेरका छोराहरूले वायरलेस ट्रान्समिटर पाल्पामा राखेको, पछि त्यो नौतनुवामा लगेपछि पुलीसले थाहा पाई गोरखपुरमा त्यो कब्जा गरेको, त्यहाँ गोपालशमशेरलाई सोध्दा त्यो आफ्नो हो भनी सकारेको खबर आइसकेको थियो । त्यसैले कात्तिक ११ गतेको डायरीमा पनि यसको चर्चा परिसकेको छ ।
अनि श्री ५ को सवारी फिरेपछि आपूmपछि रोलमा पहिलो दोस्रा र तेस्रो क्रमका, आफ्ना दुईजना भाइ कमान्डर-इन-चिफ बबरशमशेर र पश्चिमतर्फका कमान्डिङ जनरल केशरशमशेर तथा आफ्ना काका श्री ३ जुद्धका जेठा छोरा, पूर्वतर्फका कमान्डिङ जनरल बहादुरशमशेर (वि.सं. १९४९-१९९५)सँग श्री ३ मोहनले धेरै बेर एकान्त गरे भनी हेमराजले लेखेका छन् । त्यसपछि राति ९ बजे हामीलाई बिदा भयो भनी उनले यो प्रकरण टुंग्याएका छन् ।
रुद्रशमशेरका छोराहरूलाई भारत सरकारले कारबाही गरेको कुरा छापिएको अखबारको विषयमा लेख्दा यस डायरीमा 'काशी समाचारपत्र' भनी लेखिएकाले यसपट्टि मेरो दृष्टि आकृष्ट भयो । हेमराज शर्माजस्ता उच्च कोटिका वैयाकरणले 'काशी समाचारपत्र' भनी लेखेको वाक्यमा 'काशी'पछि विभक्ति नआएकाले मैले यसलाई अखबारको नाउँ सम्झी इन्टरनेटमा खोज्दा त्यस नाउँको अखबार भेट्टाउन नसकेकोले 'काशी' शब्दमा विभक्ति छुटेको हो कि जस्तो
अहिले लागिरहेछ । यस विषयमा विशेष ज्ञान भएकाहरूले प्रकाश पारिदिए कृतकृत्य हुन्थेँ । रुद्रशमशेरका छोराहरूले राणाशासनको विरोधमा गरेको कामको विषयमा उनका नाति पुरुषोत्तमशमशेर (वि.सं. १९८२ मा जन्म)ले २७ वर्ष चार महिनाअगाडि प्रकाशमा ल्याइएको पुस्तक (' श्री ३ हरूको तथ्य वृत्तान्त' २ भाग, काठमाडौं, २०४७, २८१-२८२, २८४-२८५ पृ.)मा पढिएको थियो । पुरुषोत्तमशमशेरको त्यो पुस्तक प्रकाशित हुनुभन्दा साढे ३९ वर्षअगाडि त्यही समयमा प्रत्यक्षदर्शीजस्तै भई हेमराज शर्माले लेखेको डायरीका यी पृष्ठबाट पुरुषोत्तमशमशेरले बयान गरेका, राणाशासनको अन्त्य हुनुभन्दा ठीक अगाडिका केही घटनाको पुष्टि भएको छ ।
राणाशासन हटाउनु श्री ५ त्रिभुवनको र रुद्रशमशेर दुवैको पनि अभीष्ट भएकाले राणाशासन नहट्दै रुद्रशमशेरका जेठा छोरा ईश्वरशमशेर राजपरिवारको नजिक (' श्री ३ हरूको तथ्य वृत्तान्त' २ भाग, २७७ पृ.) मात्र नभई श्री ५ त्रिभुवनका अघोषित परामर्शदाता भइसकेका थिए (उही, २९५-२९६ पृ.) । नेपाली कांग्रेसको पक्ष लिई पाल्पा गौंडा अँठ्याइबसेका रुद्रशमशेर वि.सं. २००८ पूmलपातीको दिन गौचर हवाई अड्डामा उत्रँदा उनलाई लिन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१-२०३९) र उद्योग वाणिज्यमन्त्री गणेशमान सिंह (वि.सं. १९७२-२०५४) पुगेको (उही, २९९ पृ.) र वि.सं. २०१० असार २२ गतेको दिन सेनाको उच्चतम पद फिल्ड मार्सल दिई श्री ५ त्रिभुवनले रुद्रशमशेरको सम्मान गरेको (उही, ३०१ पृ.) सम्झना यस प्रसंगमा हुन्छ।
डायरी पेज : हेमराजको डायरीका २ पृष्ठ
रुद्रशमशेर फाइनल : रुद्रशमशेर फिल्ड मार्सल भएपछि
('कुँवर राणाजीहरूको बृहत् बंशावली', पाञ्चायनप्रकाशन, काठमाडौं, २०५२, ७१ पृ.बाट)