जित्ने अवस्थामा जोसँग पनि चुनावी सहकार्य गर्न एमाले तयार
रुकुम : नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञावलीले आवश्यकताअनुसार चुनावमा जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्न सकिने बताएका छन् ।नेता ज्ञवालीले एमालेले आफुले जित हात पार्नसक्ने अवस्था रहदाँ स्थानीय तहको तेस्रो चरणको निर्वाचनसंगै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा जोकोही शक्तिसँग पनि तालमेल गर्न सकिने बताए ।
‘आवश्यकताका आधारमा जुनसुकै पार्टीसँग पनि चुनावी सहकार्य गरेर जानसकिन्छ' उनले भने । नेपाली कांग्रेस एमालेको मुख्य प्रतिस्पर्धी दल भएका कारण आगामी चुनावी प्रतिस्पर्धा पनि कांग्रससँगै हुने उनको भनाई थियो ।
ज्ञावलीले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले केही थोरै स्थानमा मात्रै कांग्रेससँग चुनावी तालमेल गरेको स्मरण गराउदै आफ्नो दल कांग्रेससँग आवश्यकताका आधारमा प्रतिस्पर्धा र सहकार्य दुवै गरेर जान तयार रहेको समेत बताए । ‘स्थानीय पार्टी-कमीटीको सुझावका आधारमा जित्न सक्ने अवस्था भएमा जुनसुकै दलसँग पनि चुनावी तालमेल हुनसक्छ ।,' उपाध्यक्ष ज्ञावलीले भने,‘तर हामी देश र राष्ट्रलाई घाटा हुने कुरामा भने कसैसँग सम्झौता गर्दैनौं । एमाले यस बिषयमा प्रस्ट छ ।'
प्रेस चौतारी नेपाल रुकुमले सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै उपाध्यक्ष ज्ञावलीले जनसंख्यालाई ९० प्रतिशत र बाँकी १० प्रतिशत मात्रै भुगोललाई आधार मानेर गरिएका निर्वाचन क्षेत्र निर्धारणले भुगोलको अपमान भएको र यसले जनसंख्या कम भएका तर, थोरै संख्यामा छरिएर रहेका जनताको विकासको अभिलाषा पुरा नहुने बताए । ७० प्रतिशत जनसंख्यालाई आधार मानेपनि बाँकी ३० प्रतिशत जनसंख्यालाई आधार मानेर क्षेत्र निर्धारण गरेको भए राम्रो हुने ज्ञावलीको धारणा थियो ।
साथै पछिल्लोपल्ट सत्ता पक्षीय दलहरुले ल्याएको ‘राष्ट्रघाती' संविधान संसोधनको विषय एमालेकै कारण संसदबाट फेल भएको दावी गर्दै ज्ञावलीले आगामी दिनमा पनि देशले हार्ने अवस्थामा कुनैपनि खालको गलत काम हुन नदिन एमालेले जिम्मेवर भएर आफ्नो भूमिका निर्वाह गर्ने बताए । ‘एमाले देशको एक जिम्मेवार पार्टी हो । एमालेबाट जनताले धेरै आशा गरेका छन् ।' ज्ञावलीले भने, ‘यसकारण हामी गलत कुराको सधै विरोध र खवरदारी गरिरहन्छौ । राम्रा कुराको समर्थन गर्न एमालेलाई कुनै गाह्रो छैन ।' ज्ञावलीले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचका साथै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनाउन जनताले अमूल्य मत प्रदान गर्ने दावी गर्दै गरे ।