'हामीलाई परिवार नियोजन चाहिँदैन '

'हामीलाई परिवार नियोजन चाहिँदैन '

'हिउँ बुझ्न हिउँ नै बनाउन सक्नुपर्छ मनलाई पनि । असाध्यै चिसो भित्रबाट निकाल्न सक्नुपर्छ- असाध्यै तातो । जोगिन सक्नुपर्छ क्षणक्षणको खतराबाट र जिस्किन सक्नुपर्छ कणकणमा प्रेम मिसिएका हिउँका ढिक्काहरूसँग । कसैसँग पनि प्रेम गर्नु कहाँ हो र ख्यालख्यालको कुरा । चाहिन्छ बुद्धि, विवेक, मायालु मन, पहाड ढाल्नसक्ने अदम्य साहस र बल । हो, हिउँसँगको सामीप्यता गाँस्ने हो भने सँगाल्नुपर्छ तिनै विषयहरू । अनिमात्र प्रदान गर्छ हिउँले प्रेममा झैं मीठो आकर्षण, अनुपम आनन्द र संसार उजिल्याउने अद्भुत चमक । हिउँसँग जतिको ठूलो शक्ति अरू केहीसँग छैन यो संसारमा ।'

Damodar-pudasainaiनीलगिरि हिमालको हिउँ देखाउँदै अथ्याईरहेका छन्- वीरेन्द्र थकालीले । नीलगिरिकै फेद ठिनी गाउँमा जम्मा भएका छौं हामी । स्तन चुस्दाचुस्दै आमाको अनुहार हेरेझैं मायालु, सुन्दर र खुसी देखिँदैछन् ठिनीबाट नीलगिरिका श्वेत भित्ता । भुटेका मकैका फुल दाना जत्रा हिमपूmल झर्दैछन् हाम्रा शिर, कान, अनुहार र शरीरको अगाडि-पछाडि ।

भाद्र महिना भएकाले हरियोे रङमा बाँचेको छ ठिनी गाउँ । गाउँभन्दा मुन्तिर गेगर्‍यान माटाका पाटाहरूमा फलिरहेका छन् मकै, फापर र सागपात । वरिपरि ढकमक्क छ- घाँसको झाडी, राइसल्ला र बैंसका हरिया बुट्यान । खुर्पानी, आरु र स्याउका दानाहरूले लोभ्याउँछन् । अलि तल खोँचमा पूर्वबाट पश्चिमतिर झरिरहेछ कालीगण्डकी । कालीगण्डकीकै दुवै किनारमा फैलिएको छ, जोमसोम बजार र उत्तरतिर उचालिँदै गएको छ कडा चट्टाने पहाड । अझ परतिर देखिँदैछ आठ हजार एक सय सतसट्ठी मिटर अग्लो धवलागिरि र छ हजार नौ सय बीस मिटर अग्लो टुकुचे हिमालको मुस्कान।

नीलो जस्ताका छाना ओढेका जोमसोमका कार्यालयले नीलै बनाउँछन् मनलाई । एउटी श्वेत सुन्दरीले कट्टीमा घल्चा बोकेझैं बोकेकी छिन् नीलगिरिले मायालु ठिनीलाई । जोमसोमबाट दक्षिणतिर नीलगिरिको कम्मरमा हेर्दा त्यति धेरै घर होलान्जस्तो लाग्दैन ठिनीमा । डेढ घन्टा उक्लेपछि थुम्क्याइलो समस्थलीमा मुसुक्क मुस्कानमा भेटियो ठिनी । एक सय पैँतीस घरको साझा पहिचान रहेछ ठिनी ।

मेरो सेलफोनको अल्टिच्युड एप्लिकेसनले दुई हजार सात सय दस मिटर उचाइ देखाएथ्यो जोमसोमको । ठिनीको उचाइ भने देखाइरहेछ दुई हजार आठ सय तीस मिटर ।ठिनीका मान्छेको शारीरिक अवस्था र उनीहरूले अक्षरसँग गाँसेको मितेरीको स्थिति अवलोकन गर्न गएको छ त्यहाँ मेरो नेतृत्वको समूह । जिल्ला विकास, शिक्षा र स्वास्थ्य कार्यालयहरूले खर्चिएको पैसाको कार्यमूलकता हेर्ने लक्ष्य छ हाम्रो ।

'जोमसोमले हाम्रो ठिनीको हुर्मत नै लिएर गयो । ठिनीबाट जोमसोममा सदरमुकाम सारेको पटक्कै मन परेको छैन हामीलाई', ठिनीवासीको मर्म खोले ज्वाला थकालीले । स्थानीय भाषामा 'झोम' भनेको 'भर्खर' र 'सोम' भनेको 'नयाँ' रहेछ । भर्खर नयाँ जन्मेको गाउँ भनेर 'झोम-सोम' भन्दाभन्दै 'जोमसोम' भन्न थालिएको बताए ज्वालाले, 'नयाँ गाउँ त जन्मियो तर जन्माउनेलाई बिर्सियो । तन्नेरी छोराछोरीले बाबुआमा बिर्सेजस्तो गर्‍यो जोमसोमले । ठाउँ सरेपछि शक्ति पनि सर्दो रहेछ के गर्नू ? '

हिमाली क्षेत्रमा जन्मदर कम छ । जन्मेकालाई पनि बचाउन झन् गाह्रो । ठिनीमा बूढाबूढी र अशक्तमात्रै बाँकी छन् । परिवार नियोजनको लहैलहैमा मानिसले एक वा दुई सन्तानमात्र जन्माउन थाले । तिनीहरू पनि गाउँ नबस्नाले मान्छेविहीन बन्न थालेको छ गाउँ ।

परम्परादेखि पाँचगाउँको नेतृत्व गरिरहेको ठिनीलाई कमजोर बनाइयो; सदरमुकाम जोमसोममा सारेर भन्ने गुनासो आयो बैठकको सुरुमा । सडकले दिशा परिवर्तन गरिदिएपछि र प्रशासनिक शक्ति सरेपछि एकाएक हराउँदो रहेछ पुरानो बस्तीको सानमान र बिस्तारै सर्दो रहेछ नयाँ स्थानतिर चमकधमक । काठमाडौं-त्रिशूली सडक निर्माणपूर्व असाध्यै चहलपहल र व्यापारिक केन्द्र थिए चतुराले, ओखरपौवा, पाँचमाने र फेदी बजारहरू ।

 

त्यो सडक बनेपछि ती बजारका व्यापारी सरे, घरहरू जीर्ण भए, ढले । अहिले खण्डहर बनेका छन् ती बस्ती । सडकले गुलजार बनाएको छ एघार किलो, रानीपौवा र तीनपिप्लेलाई अचेल । सदरमुकाम सरेकै कारण चम्केको छ रामेछापको मन्थली । मुख्य सडक टाढिएकै कारण बिरानिएको छ तनहुँको बन्दीपुर । ठिनी पाँचगाउँको नेतृत्वकर्ता रहेछ कुनै बेला । प्राचीनकालमा बाह्य शत्रुहरूले आक्रमण गर्न लाग्दा ठिनीबाटै शंख फुकिन्थ्यो र सजग बनाइन्थ्यो पाँचगाउँलाई । अहिले मोहनी हराएजस्तो छ ठिनी, भर्खर बेहुली अन्माएको माइतघरजस्तो छ ठिनी ।

बैठक हेल्थपोस्टको प्रांगणमा चलिरहेछ । ठिनी गाउँको मुटुमै छ हेल्थपोस्ट । हाम्रै शिरमाथि टक्रुक्क बसेको छ शुभ्र शान्त नीलगिरि । हाम्रै टाउका माथितिर च्याँच्याँ र चुँचुँ गर्दै रूखरूख चाहार्दैछन् हिमाली कागका बथानहरू ।

भर्खर निर्माण सम्पन्न भएको रहेछ ठिनी हेल्थपोस्टको सुन्दर भवन । जिल्ला स्वास्थ्य कार्यालयले हेल्थपोस्ट त बनायो तर अर्कैको जग्गामा । कृष्णबहादुर विश्वकर्मा विदेशबाट फर्केपछि देखे आफ्नो जग्गामा सरकारी भवन ठडिइसकेको । मालपोत ल्याए, नापी ल्याए, कुरा पक्का भयो । स्वास्थ्य कार्यालयले आफ्नो वा अर्काको जग्गा यकिन नगरी भवन निर्माण गर्दा उठेको रहेछ त्यो झ्याउलो । विश्वकर्माको जग्गासँगै जोडिएको स्वास्थ्य कार्यालयको जग्गामा चरिरहेका देखिए दस खच्चर । बजेट भेट्नेबित्तिकै आफ्नो वा अर्काको जग्गाको छ्यान नै नगरी भवन ठड्याइदिने सरकारी कर्मचारीलाई के भन्न सक्छन् र सोझा जनताले । कृष्णबहादुर भने हुँदो न खाँदोको भाउँटो पन्छाउन आफ्नै खर्चमा धाइरहँदा रहेछन् सदरमुकाम र राजधानीतिर ।

हेल्थपोस्ट भवन त भव्य बनेछ ठिनीमा । तर, न डाक्टर छन् न त औषधि नै उपलब्ध हुन्छ । डाक्टर भने पनि नर्स भने पनि एक रहिछन् असिस्टेन्ट नर्स मिडवाइफ विमला रञ्जन । 'डाक्टर, हेल्थ असिस्टेन्ट र अग्जिलरी हेल्थ वर्करहरूको दरबन्दी त राखिदिन्छ सरकारले, दरबन्दीवालाको अनुहारसम्म देख्न पाउँदैनौं जनताले । धन्न विमला म्याडम बेलाबेलामा आइदिनुहुन्छ र मात्र । स्रोत दिने सदुपयोग नहेर्ने सरकारको के काम ? ' आइता थकाली दिदीको आक्रोश अस्वाभाविक थिएन ।

हेल्थपोस्टको ढोकै छेउमा चालीस किसिमका अत्यावश्यक औषधिको सूची राखिएको छ तर हेल्थपोस्टमा न सिटामोल छ, न जीवनजल, न एल्बेन्डाजोल छ, न बेटाडिन । नेपाल सरकारको नीतिअनुसार त्यस्ता अत्यावश्यक औषधि हरेक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार जुनसुकै बेला उपलब्ध हुनुपर्ने व्यवस्था छ । जिल्ला स्वास्थ्य केन्द्रले त्यस्ता औषधि पर्याप्त मात्रामा खरिद गरेको र हेल्थपोस्टहरूलाई पठाएको अभिलेख पेस गर्‍यो । हेल्थपोस्टमा त्यस्तो केही नआएको जवाफ दिइन् नर्स विमलाले । औषधि खरिद गरेको बिल भर्पाई पेस गर्ने, सम्बन्धित निकायलाई पठाएको अभिलेख खडा गर्ने तर नपठाउने कर्मचारीलाई कडा कारबाही गर्ने बेहोराको प्रतिवेदन लेख्न निर्देशन दिएँ मैले हाम्रो लेखापरीक्षण समूहलाई ।

'हाम्रोजस्तो हिमाली जिल्लाहरूमा परिवार नियोजन कार्यक्रम रोक्नुपर्छ अब', रूपना थकाली दिदीको भनाइले चकित बनायो ।'परिवार नियोजन भनेको योजनाबद्ध सन्तान जन्माउने विषय हो । ठिक्क मात्रामा सन्तान जन्माउने हो । किन रोक्नु र दिदी ? '

'हेर्नुस् भाइ ! गर्मी ठाउँको तुलनामा हिमाली क्षेत्रमा जन्मदर कम छ । जन्मेकालाई पनि बचाउन झन् गाह्रो छ । झन्झन् कम जन्माऊ भन्यो भने मान्छे नै नहुन बेर छैन हिमाली भेगमा । हिमाली क्षेत्रबाट बसाइँ सर्ने दर दिनानुदिन बढ्दो छ । हाम्रै ठिनीमा हेर्नुहोस् न, बूढाबूढी र अशक्तमात्रै छन् गाउँमा । तरुनातरुनी काम गर्न र लेखपढ गर्न सहर बजार गए ।

अधबैंसे कामको खोजीमा मुगलान झरे । पहिलेपहिले तीन छोरा तीन छोरी कम्तीमा हुन्थे परिवारमा । माहिलो छोरा, माहिली छोरीले गुम्बा सञ्चालन गर्थे, कुनै सन्तान गोठालो जान्थे, कुनै व्यापार गर्न तिब्बत वा तलतिर जान्थे, कोही खेतीपाती गर्थे र घरबार सम्हाल्थे । अब परिवार नियोजनको लहैलहैमा एक वा दुई सन्तानमात्र जन्माउन थाले । तिनीहरू पनि गाउँ नबस्नाले मान्छेविहीन बन्न थालेको छ गाउँ । ठाउँ र परिस्थिति विचार नै नगरी हिमाल, पहाड, तराई जहाँ पनि एकै दरमा खर्च लेख्नाले तालमेल मिलेको छैन है लगानी र उपलब्धिको', दिदीका कुरा मननयोग्य देखिए ।
'घाँसेघुसे एकैनासे' गरेर राज्यको रकम छर्ने चलनले उपलब्धि 'घरको न घाटको' बनेको छ यथार्थमा।

'औषधि र स्वास्थ्यकर्मी नदिने हो भने बन्द गरिदिए हुन्छ स्वास्थ्यकेन्द्र गाउँगाउँका । कमिसनको लोभमा घरहरूमात्र बनाएर उपचार हुन सक्तैन रोगीको । गाउँगाउँमा चिटिक्कका स्वास्थ्यकेन्द्र र विद्यालय भवन त बनेका छन् । गाउँलेको व्यथा बढ्दो छ झन्', वीरेन्द्र, ज्वाला, आइता दिदी र रूपना दिदीहरूमा फुट्दैथ्यो ज्वालामुखी । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख हरिहर लामिछाने हामीसँगै थिए । ढुंगाजस्तै चुप बसिरहे उनी ।

'अघि किन ढुंगा बोल्ला, मान्छे नबोल्ला बन्नुभयो नि हरिहरजी ? ' फर्कंदा सोधेँ मैले ।
'मिले पो बोल्नु सर । गाउँलेको कुरा शतप्रतिशत ठीक छ । कर्मचारी त हाजिर कपी र तलबी भर्पाईमा मात्र नियमित हुन्छन् यस्ता दुर्गम जिल्लामा । कहिले तालिम, कहिले गोष्ठी, कहिले मन्त्रालय विभाग, कहिले हहा गर्दैमा वर्षमा एक महिना पनि कर्मचारीको मुख देख्दैन जिल्लाले ।

सरकारले दुर्गम हिमाली जिल्ला भनेर बजेट विनियोजन गरेकै छ, कार्यालयहरूले ऐनमौकामै बिल भरपाई र आम्दानी खर्च गरेकै छन्, जनतालाई केही थाहा छैन, थाहा पाएका जनता र नेतालाई अलिअलि गुलियो चटाएर ठीक पारिहाल्छन् हाकिमहरूले । जनता कराउनु काग कराउनु पिना सुक्नुजस्तै हो ।' व्यासको मुखबाट वेद झरेझैं खुरुखुरु सत्य ओर्लियो हरिहरजीको मुखबाट ।
हामी ठिनी हेल्थपोस्टबाट फर्किसकेका छौं । सिमसिम पानीले शीतल बनाइरहेछ वातावरण । भिक्षुभिक्षुणीहरूले जपेका प्रार्थना मन्त्रको ध्वनि गुम्बाको घेरा तोडेर गाउँभरि र गाउँ छोडेर परपर चुचुराहरूसम्म तरंगित हुँदैछ ।

ठिनीका सबै घर माटाका छानाले छोपिएका छन् । छानामाथि अरू हिमाली गाउँहरूमा झैं दाउराका चाङले कोणात्मक चित्रको आभास दिन्छ । हरेक छानामाथि माटाको ढिस्को बनाइएको छ र त्यसलाई पोतिएको छ रातो माटाले । ढिस्कोमाथि राईसल्लाको हाँगा गाडिएको छ र त्यसमाथि जंगली भेडाका सिङ अड्याइएको छ । त्यो पनि झन्डैझन्डै बुख्याँचा आकारमा देखिन्छ सबै घरको छानामाथि । छानामा त्यस्तो राखियो भने कसैको आँखा लाग्दैन, घर पवित्र हुन्छ र आँटेको पुग्छ भन्ने मान्यता रहेछ त्यतातिर । ठिनी बजारका साँघुरा गल्लीहरूमा ससाना पसलहरू पनि चलेकै छन्।

अब टाढाका मान्छेहरू ठिनीसम्म सामान किन्न आउँदैनन्, यता पसल राख्नु, दिन कटाउनुमात्र हो भन्दैथे पसलेहरू । बजारको दायाँतिर चौडिलोमा ठूलो हल्लाखल्लाका साथ युवाहरू फुटबल खेल्दै थिए । खेल मैदान हिलाम्य थियो र खेलाडीहरू पनि हिलो लोपरिएर नचिन्ने भएका थिए । त्यही पनि खेल हेर्ने र खेल्नेमा ठूलो उत्साह थियो, मानौं त्यहाँ लियोनल मेस्सी र नेयमारको नेतृत्वमा खेल निर्णायक तहमा पुग्दैछ ।

'आठ पढे पनि डाक्टर । पढ्दै नपढे पनि डाक्टर । स्वास्थ्यका कर्मचारी— कार्यालय सहयोगीदेखि डाक्टरसम्म सबै डाक्टर । जुन गाउँमा गए पनि कुखुरा कोसेली आएकै छ, घिउ, मह, यार्चागुन्भु, सुकुटी सबै कोसेली आएकै छ, खानेबस्ने पिर छैन, ओढ्ने ओछ्याउनेको चिन्ता छैन, बाउन्न पत्ती घुमायो, बिजुली पानीमा चुर्लुम्म डुब्यो, कसैलाई स्टेथेस्कोप लगाएपछि व्यथा भाग्छ भनिदियो, कसैलाई नारी छामेपछि रोग चट् भनिदियो, कसैलाई हाइडोजको एन्टिबायोटिक लेखिदियो र जान्ने डाक्टर कहलायो । गाउँमा दुई दिन झुल्कियो, सय दिन आफ्नै गुँडतिर गुजमुज्जियो, तलब पाकेकै छ, दुर्गममा बसेको भनेर केन्द्रतिर घुर्की लगाउन पाइएकै छ ।' रेडियोले कथा पढेझैं भट्याउँदै छन् हरिहरजी ।

'दुर्गम हिमाली भेगमा जागिर खाने मान्छे सुगममा जानै मान्दैन । म पन्ध्र वर्ष भइसक्यो यतै बसेको', एक दुई घटना चाखलाग्दा नै रहेछन् उनको जागिरे जीवनमा :

एकपटक एउटा हिमाली गाउँमा दुईतीन वर्षको बीचमा जन्मेका बच्चाको प्राय: उस्तै अनुहार भेटियो । जति जन्मिन्छन् सबैका उस्तै नाक, उस्तै आँखा र उस्तै गाला र निधार देखिन्छ, कसरी ? हेल्थपोस्ट, प्रहरी, हुलाक र विद्यालयका कर्मचारीबीच निकै चर्चा चल्यो । पछि सबैलाई थाहा भयो, हेल्थपोस्ट इन्चार्जको ओछ्यान फेरी-फेरी सुत्ने बानी रहेछ ।

गाउँमा हुनेखाने र हेर्नलायकका 'मञ्जरी'हरू भएका घरमा दिउँसैदेखि अड्डा जमाउने रहेछन् तिनले । घडीचरो र झिल्के झोल उदरस्थ पार्‍यो । भएनभएका गफका बादल बुन्यो । रात झम्किएपछि मझेरीमा घरका सबै मान्छे एकै लहरमा सुत्ने त्यताको चलनमा आपूm पनि सामेल भयो । विस्तारै उपचार गर्ने निहुँमा हेल्थपोस्टमा रातबिहान बोलायो । अनि गाउँमा जन्मेका बच्चाको अनुहार उस्तै । बिहे नै नभएका सात सुन्दरीको पनि पेट सुनिन थालेपछि जागिर नै छोडेर भागे तिनी ।

जोमसोमतिर ओर्लने क्रम जारी छ । उत्तरतिरको चट्याने पहाड र धवलागिरि हिमालले बिस्तारै ओढ्न थाले हिमकपासको डंगुर । हाम्रै पिठ्यूँमा उभिएको नीलगिरिमा हिमवर्षा भइरहेछ, हिमआँधी चलिरहेछ । त्यही हिमधारामा मिसिएझैं लागिरहेछ सप्तरंगी जीवन गीत । चटकेको चर्तिकलामा मोहित बालकले झैं सारा हिमचक्रमा रोमाञ्चित बन्दैछ ठिनी ।

हाम्रो दायाँबायाँ दुवैतिर पुलका खम्बाजस्ता अग्ला पहाड छन् । बायाँपट्टि उत्तरबाट दक्षिणतिर बगिरहेको कालीगण्डकीको कल्लोलले छरिरहेछ सांगीतिक धुन ।स्वास्थ्यकै लागि सबै कुरा गर्नुपर्ने तर स्वास्थ्यकै नाममा भएको छ जताततै ठगी । कुरा फेरि चल्छ।
नगर्नुपर्ने काम गर्ने, गर्नुपर्ने काम नगर्नेहरूको बिगबिगीले बिग्रिँदैछ देश ।
साथीहरूलाई एउटा घटना सेयर गरेँ मैले ।

यस्तो छ घटना :
— एउटा गाउँमा सात सय महिलाको ल्याप्रोस्कोपी गरेको प्रतिवेदन तयार भयो । चिर्ने सिजर, सिउने निडल, औषधि, डाक्टर-नर्सको दैनिक तथा भ्रमण भत्ता, सम्बन्धितलाई प्रोत्साहन खर्च सबै गरेर धेरै लाख खर्च लेखियो । ल्याप्रोस्कोपी गर्ने, गराउने सबैका लागि खर्च लेखियो । त्यसको तीन वर्षपछि अनुगमन गर्दा ल्याप्रोस्कोपी गरेका भनिएका सात सयमध्ये छ सय असी महिलाले बच्चा पो जन्माइसकेका । अनुसन्धानका क्रममा थाहा भयो— सदरमुकाममै होटलमा बिल भर्पाई तयार गरिएछ, ल्याप्रोस्कोपी गराउने समूह न गाउँ गएछ, न कुनै महिलासँग भेटघाट नै भएछ ।

कागजको घोडा तयार गरेर प्रतिवेदनमा नक्कली प्रतिवेदन दर्शाउनेहरूलाई कलंक नलगाएसम्म यहाँ यस्तै भइरहन्छ । यहाँ हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षाको नाममा भोजभतेर गर्ने र वर्षभरिको छुटफुट कुत भित्र्याउने चलनले थला पर्दै गइरहेछको छ देश ।
'निली र ठिनी, लौ बिदा मागेँ है', वारि जोमसोम र पारि जोमसोम छुट्याउने झोलुंगे पुलमा उभिएर नीलगिरि हिमाल र ठिनी गाउँसम्म बिदा मागेँ । फिरफिरेझैं हल्लाइरहेछ पुल पनि हावाले । कुन सड्को पुलबाट उँधोमुन्टो लगाइदिन्छ कि खोलातिर भन्ने डर पनि छ मनमा । बौद्धमन्त्र लेखिएका तोरणहरूले रंगीचंगी बनेको छ झोलुंगे वरिपरि ।

ठन्डीले मन्डी खोज्दै रहेछ जोमसोममा । बख्खु लगाएका मान्छेहरू ठाउँठाउँमा मस्तसँग खेलिरहेका रहेछन् तास, लुँडो, क्यारेमबोर्ड र कोडा । प्रहरीहरू जत्थाजत्था घुमिरहेछन् बजारमा तैपनि छेकथुन छैन जुवातासमा ।

'हैन ए भाइ, यस्तो दिउँसै खुलेयाम जुवातास खेल्न दिनुहुन्छ ? मान्छे बिग्रिँदैनन् ? ', समूहको नेतृत्व गरेर रमनमा हिँडेका प्रहरी इन्स्पेक्टरलाई सोधेँ । 'के गर्नु हजुर हामी त निरीह छौं । न प्रहरीले केही गर्न सक्छ न प्रशासनले । यहाँ आमा समूहले नै जुवा खेलाउने ठाउँ तोकेर प्रति खालको वार्षिक सात लाख पचास हजार असुल्ने गरेको छ । प्रहरी र प्रशासनका कर्मचारीहरू बलबुता लगाएर उनीहरूसँगै जुवा खेल्छन्, अरूको त के कुरा ।' इन्स्पेक्टरको कुरा सुन्दा यसरी कहिले सप्रेला समाज भन्ने चिन्ता जाग्यो मनमा । 'तोंलाई दिनभर खेलेर पनि पैसा नादिने', एउटी लमिनी दिदीले लात्तैलात्ताले भकुरिन् हाम्रै अघिल्तिर घोडाजस्तो पुरुषलाई । 'नामार, नामार, मोसँग भएको लैजाऊ बरु', आत्मसमर्पण गर्‍यो त्यो घोडेले ।

लमिनी दिदीले उसको खल्तीको बाउन्न हजार कुम्ल्याइन् र भुतभुताउन थालिन् । बिजुली पानीले तातेका रमितेहरू अझ थपिए जुवा खालमा ।
नीलगिरिको चुचुराबाट झरेको कुहिराले आमाले सानो नानीलाई बर्को ओढाएझैं छोप्यो ठिनीलाई । चिसो हावाको स्पन्दन र हल्का साँझको रङमा सम्झन थालेँ मैले स्विट्जरल्यान्डको जेनेभा सहरबाट उकालो लाग्दै गर्दा भेटिएकी लाजलीलाई । नीलगिरि र ठिनीले बादलको एउटै बर्को ओढे । बर्कोभित्र खोजेँ मैले जीवनको नयाँ कित्ता ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.