त्यो पहिलो पुस्तक
आमाको दबाबले मलाई कलकत्ता जाने साइत जुर्यो । ज्येष्ठ भ्राता त्यहाँ काम गर्ने भएकाले उक्त अवसर जुरेको थियो । जीवनमा पहिलोपटक लामो यात्रा, त्यो पनि भारत जान पाएकोमा मनमा अनौठो कौतूहल जन्मेको थियो । रेलको यात्राको अनुमानित रोमान्सका साथै ऐतिहासिक नगरी कलकत्ताबारेको जिज्ञासाले मेरो किशोर मनमा अनौठा तरंगहरू उत्पन्न हुँदै थिए ।
साँझपख वीरगन्ज पुगेपछि रेलमा पढ्नका निम्ति भनेर केही किन्ने इच्छा जाग्यो । कलकत्ता पुग्न १२ घन्टा लाग्ने सुनेको थिएँ । पुस्तक पसलमा परैबाट देखिने गरी युधीर थापाको 'सिस्टर कल्पना' उपन्यास झुन्डिएको देखेँ । टोलकी एकजना दिदी यी लेखककी फ्यान थिइन् । उनकै मुखबाट युधीर थापाको नाम पटकपटक सुनेको थिएँ । दिदीले मलाई पटकपटक 'युधीर थापाको उपन्यास पढ्या छौ भाइ' भनेर सोधेकी थिइन् । 'मसँग युधीर थापाका उपन्यास थुप्रै छन्, तर म तिमीलाई दिन्नँ, किनेर पढ्नुपर्छ', एक दिन उनले भनेकी थिइन्, 'बडो मज्जा आउँछ तिनका उपन्यास पढ्न ।
हातमा लिएपछि छाड्नै मन लाग्दैन मलाई त, भात खान पनि बिर्सन्छु म त !' ती दिदी एसएलसीमा तीनपटक अनुत्तीर्ण भइसकेकी थिइन् । धेरै वर्षपछि मलाई लाग्यो, कतै युधीर थापाको उपन्यासमात्रै पढ्नमा ध्यान दिएकाले ती दिदीले त्यस बखत भनिने एसएलसीको 'फलामे ढोका' पार गर्न नसकेकी त होइनन् ! यो आशंका निवारण गरिरहनुपर्ने कुनै कारण थिएन, त्यसैले त्यत्तिकै विस्मृतिको गर्भमा यो विलीन हुन पुग्यो । तर, म पनि पढ्नका निम्ति युधीर थापाकै उपन्यास किन्न लहसिएपछि भने मनभित्र कतै आफू पनि पढाइमा असफल त हुने होइन भन्ने आशंकाले पौडी खेल्न थाल्यो ।
पाठ्यक्रमबाहेक घरमा अन्य पुस्तक भन्नु 'स्वस्थानी व्रतकथा' र 'पिनासको कथा' नामक दुई किताबमात्रै थिए । स्वस्थानी सबैको प्रिय भएका कारण घरमा थियो भने आमालाई टाउको दुख्ने समस्या भएका कारण पिनासको कथा पुस्तक राखिएको थियो । पिनासको कथा पनि मैले नै आमाको टाउको समातेर पढिदिनु पथ्र्यो, उनलाई टाउको दुख्दा । एसएलसी दिएर बसेपछि पाठ्यक्रमका किताब पढ्नुको कुनै अर्थ थिएन । पाठ्यपुस्तक देखेपछि मलाई भाउन्न भएर आउँथ्यो, टाउको रिँगाउँथ्यो । मलाई पाठ्यक्रममा पारिएको विषयले कहिल्यै प्रभाव पार्न सकेनन् । एसएलसी परीक्षापछि ती किताब छुनै नपरे हुन्थ्यो भन्ने लाग्थ्यो ।
स्वस्थानी व्रतकथा मलाई कण्ठैजस्तो थियो । कथानकबारे पूरापूर जानकारी थियो । सतीदेवीको कुन अंग कहाँ पतन हुँदा के नामका महादेव उत्पन्न हुन्छन् भन्नेसम्म कण्ठै थियो मलाई । हरेक वर्षको जाडोयाममा पर्ने स्वस्थानी पूर्णिमामा मलाई नै स्वस्थानी किताब पढ्न लगाइन्थ्यो । मेरो वाचनकला र आवाज राम्रो छ भनिदिन्थे परिवार र वरपरका छिमेकी पनि । दर्जनभन्दा बढी श्रोता वरिपरि राखेर कथा भन्न पाउँदा मलाई पनि आनन्द आउँथ्यो । म आफ्नो आवाज सकेसम्म मीठो पारेर स्वस्थानी पढ्थेँ । वाचन बिग्रेला कि भनेर सजग हुन्थेँ ।
युधीर थापाको छिपछिपे रचनाले मलाई लामो समय प्रभाव पार्न सकेन । बुझ्दै गएपछि ती मलाई 'जंक फुड'जस्तै लाग्न थाले । मलाई कहिल्यै पनि उनीजस्तो लेखक बन्ने रहर जागेन, यद्यपि मैले पढेको पहिलो उपन्यास उनकै थियो ।
हरेक वर्ष स्वस्थानीको किताब पढेर सिध्याउने जिम्मेवारी मेरै काँधमा आउँथ्यो । एक महिनामा म तीन पटकजति दोहोर्याइदिन्थे उक्त किताब ।हामी वीरगन्जबाट पटना पुगेका थियौं, कलकत्ता जाने रेल चढ्नका निम्ति । त्यस बेलासम्म 'सिस्टर कल्पना' उपन्यास मेरो हातमै थियो । रेल चढेको केही बेरपछि दाजुले पहिले आफू पढ्छु भनेर त्यो उपन्यास लिए । मलाई थाहा छैन, भ्राताले युधीर थापाका अन्य उपन्यास पढेका थिए कि थिएनन् । रेलको मधुरो प्रकाशमा उनले उक्त उपन्यास एक घन्टाजतिमा पढिसिध्याए । 'यस्तो रद्दी उपन्यास पनि पढ्छन्, मान्छे बिग्रन्छ पढ्नु हुन्न, नपढ् । कोर्सबुकमा राम्ररी ध्यान दिनु छैन । अब लोकसेवा दे सामान्यज्ञान पढेर, खरिदार पदमा । यस्ता उपन्यास-सुपन्यास पढ्ने होइन भन्द्या छु', दाजुले 'सिस्टर कल्पना' उपन्यास मतिर फ्याँक्दै आदेश दिए।
म छक्क परिरहेको थिएँ । उनले कतै नहेरी त्यो उपन्यास पढिसिध्याएका थिए । उनलाई त्यसले आकर्षित नगरेको भए किन त्यसरी एकै श्वासमा पढिसिध्याए ? मेरो मनले आफैंसित प्रश्न गर्न थाल्यो । त्यसपछि मलाई पनि कुन बेला त्यो उपन्यास पढूँ भन्ने लाग्न थाल्यो । म यस्सो कोल्टे फर्केर उपन्यास पढ्न थालेँ । मैले पनि एक घन्टामै छरितो आकारको सिस्टर कल्पना उपन्यास पढिसकेँ । त्यसबीचमा दाजुतर्फ केहीपटक कर्के नजरले हेरेको थिएँ, उनको प्रतिक्रिया कस्तो होला भनेर । उनी मैले उपन्यास पढिरहेकोमा खुसी थिएनन् भन्ने भाव उनको अनुहारले बताइरहेको थियो ।
सोह्रसत्र वर्षको किशोर म, सिस्टर कल्पना उपन्यास पढेपछि युधीर थापाको फ्यान नै भएँ । खल्तीमा पैसा हुँदैनथ्यो, तर कतैबाट पैसा मिल्नासाथ युधीर थापाका उपन्यास किनेर पढ्न थालेँ । जीवनमा पहिलोपल्ट आफ्नै खल्तीको पैसा हालेर किनेको पुस्तक त्यही 'सिस्टर कल्पना' बन्न पुग्यो । युधीर थापा युवा मनको प्रेम र यौनेच्छालाई मिहिन ढंगले केलाउन माहिर थिए । सरल र सलल बग्ने उनको भाषा आकर्षक लाग्थे मलाई त्यस बेला ।
टोलमा दाइपुस्ता कम्युनिस्ट बन्नुपर्छ भन्ने धेरै थिए । तीसको दशकको उत्तराद्र्धसम्म पनि कोटेश्वरमा नेपाली कांग्रेसका समर्थक पाउन मुस्किलै थियो । युवाहरू कम्युनिस्ट बन्न खोज्थे, थोरै थिए जो राजावादी हुन पाउँदा सुरक्षित महसुस गर्थे ।
'हेर् भाइ भविष्य बनाउने हो भने खुरुक्क घरमा राजाको तस्बिर झुन्ड्या र सुरक्षित जिन्दगी बिता । बेकारमा कम्युनिस्ट-कांग्रेस बनेर जिन्दगी नबिगार्', पञ्चायतमा लागेकाहरू मलाई पटकपटक सम्झाउँथे, 'अब त तँ कलेज पढ्ने भइसकिस्, स्वतन्त्र विद्यार्थी मण्डलमा लाग् । त्यसपछि 'पञ्चायत नीति तथा जाँचबुझ समिति' वा 'महेन्द्र युवालय'मा जागिर खान सकिन्छ । नभए गुलाफवागमा असई त पक्का !'
उमेरको क्रमसँगै मलाई कम्युनिस्ट बन्ने र समाजप्रति जिम्मेवार हुने भूत चढ्न थाल्यो । समाज बदल्ने र असमानता, रूढिवाद, विभेद हटाउने एकमात्र माध्यम साम्यवाद नै हो भन्ने लाग्न थाल्यो । चिनियाँ र कोरियन सिनेमा लुकेर हेर्न थालेँ, टोलका अग्रजहरू मध्यरातमा त्यस्ता सिनेमा हेर्ने गर्थे । सिनेमा हेर्दा युवा दिमागमा उत्तेजना भरिन्थ्यो क्रान्तिकारी बन्ने र आजै कम्युनिस्ट बनेर समाजका सामन्तीलाई सिध्याऊँजस्तो भाव उम्रन्थ्यो । उता, कम्युनिस्टमा पनि स्पष्ट दुई धार थियो । पाँचौं र छैटौं भन्थे विद्यार्थीहरू, कोहीकोही मसाल पनि भन्थे । दुवै धारका युवा थिए टोल र कलेजमा पनि । मलाई दुईतिरैबाट आह्वान हुन्थ्यो, आफ्नो पक्षमा लाग्ने ।
'आकर्षित हुने कम्युनिस्ट विचारतिर अनि पढ्नेचाहिँ युधीर थापा र रजनिश', एकजना दाइले एक दिन मेरो घरमा आउँदा थापा र रजनिशको किताब देखेर मलाई भनेका थिए । त्यसपछि मैले थापाका उपन्यास पढ्न चटक्कै छाडेँ, तर कहिलेकाहीँ रजनिश पढ्न भने छाडिनँ । त्यसपछि सुरु भयो लु सुन, म्याक्सिम गोर्की र नेपालीमा श्यामप्रसाद, मोदनाथ प्र िश्रत, खगेन्द्र संग्रौला लगायतका रचना पढ्ने क्रम । नेपाली भाषामा प्रकाशित हुने 'सचित्र चीन' नामक चिल्लो पत्रिका नि:शुल्क पाइन्थ्यो । त्यो यस्सो हेरेर किताबमा जिल्दा हाल्न प्रयोग गर्थें । कलेजमा एकजना मिल्ने साथी नेपाल विद्यार्थी संघमा आबद्ध थिए । साहित्यमा मेरो अभिरुचि देखेर उनले मलाई विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यास पढ्न दिए । 'तीन घुम्ती' उपन्यास पढ्दा सुरुमा उतिसारो प्रभावित भइनँ । तर, त्यो कृति दोहोर्याएर पढ्दा भने बेग्लै ढंगमा बुझेँ । कोइरालाको कथा 'मधेसतिर' पढेपछि मलाई अरू नेपाली लेखकका रचना खल्लो लाग्न थाल्यो । घरमा झ्यालछेउछाउ केही किताब राखेको थिएँ ठड्याएर ।
त्यहाँ युधीर थापा, आचार्य रजनिश, प्रकाश कोविदका किताब पनि थिए । जब रजनिश पढ्न थालेँ उनै जेठा भ्राताले 'अब यो जोगी बन्ने भयो, रजनिश पढ्न थालेछ' भनेको अझै पनि मेरा कानमा झंकृत हुन्छ । रजनिशका कथामा बेलाबखत उपस्थित हुने 'मुल्ला नसिरुद्दिन' पात्र मलाई आदर्श लाग्न थाल्यो ।
समयक्रमसँगै राम्रा र प्रसिद्ध लेखकका नाम सुन्न थालेँ र तिनका रचना खोजेर पढ्ने जाँगर चल्न थाल्यो । युधीर थापाका थुप्रै उपन्यास पढे पनि मलाई तिनको सतही समाज बुझाइले पढुन्जेल उमेरगत रमाइलोबाहेक अर्थोक केही दिन सकेनन् । समाजको अन्तरतम गहिराइमा पुगेर उनले लेख्न नसकेको निक्र्योल जब मैले गरेँ तब उनका उपन्यास पढ्न चटक्कै छाडिदिएँ । प्रेमका विषय उठाउँदा पनि यसका विकृत र विसंगत रूप थापाले उठाएका रहेनछन् भन्ने चाँडै नै बुझेँ र उनका पुस्तकमा लगानी गर्न छाडिदिएँ ।
उनको छिपछिपे रचनाले मलाई लामो समय प्रभाव पार्न सकेन । बुझ्दै गएपछि ती मलाई 'जंक फुड'जस्तै लाग्न थाले । मलाई कहिल्यै पनि उनीजस्तो लेखक बन्ने रहर जागेन, यद्यपि मैले पढेको पहिलो उपन्यास उनकै थियो । मलाई पहिलोपटक पाठ्यक्रमबाहिरका किताब पढ्ने लत बसाउने उनै युधीर थापाका कृति थिए । तर, जब कोइरालाको 'मधेसतिर' र अन्य रचना पढेँ, मभित्र एकप्रकारको महत्र्त्वाकांक्षा जाग्न थाल्यो । लेखक बन्ने सपना देख्न थालेँ र सामाजिक, मनोविज्ञान केलाउने रहर पलाउन थाल्यो । पारिजात, रमेश विकल, परशु प्रधान, भाउपन्थी, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल, विजय मल्ल, मनु ब्राजाकी लगायतका आख्यानले तान्न थाले ।
नेपालमा हिन्दी भाषाका पुस्तक सहज र सस्तोमा उपलब्ध थियो । एकप्रकारको दबाब नै थियो भन्दा पनि हुन्छ हिन्दीको । विस्तारै हिन्दी भाषामा पकड बढाउँदै लगेँ । हिन्दी सिनेमा हेर्न थालेँ । एसएलसीमा बल्लतल्ल उत्तीर्णांक ल्याएको अंग्रेजी मेरा लागि गाह्रो भाषा नै रह्यो । पछि लामो मेहनत र लगानी गरेर सिक्दा पनि अंग्रेजीभन्दा हिन्दी नै सहज लाग्छ । भाषामा थोरै भए पनि पकडकै कारण हुनुपर्छ क्रमश: प्रेमचन्द, सहादत हसन मन्टो, हरिशंकर परसाईं, अमृता प्रीतम, निर्मल बर्मा, अज्ञेयजस्ता लेखक मलाई प्रिय लाग्न थाले ।
रुसी र चिनियाँ साहित्यकारका पुस्तक त नेपालीमै अनुवाद भएर बजारमा छ्यापछ्याप्ती पाइन्थे । पञ्चायतकालमा विश्वेश्वरप्रसाद कोइरालाका पुस्तक पाउन मुस्किल थियो । रुसी र चिनियाँ साहित्य सहजै पाइन्थे । चालीसको पूर्वाद्र्धमा त कोइरालाका पुस्तक बेच्न पनि पसलेलाई गाह्रो पथ्र्यो । बजारमा सहजै उपलब्धमध्ये लु सुन, एन्टोन चेखव, म्याक्सिम गोर्की, मिखाइल सोलोखोवका रचना बढी मन पर्थे, अहिले पनि तिनका रचनाका प्रभाव जीवितै छन् ।
उमेर छिप्पिँदै वा आफूभित्र परिपक्वपन आउँदै गएपछि मलाई समाजका भुइँतहका मान्छे, थिचोमिचो, विभेद, राज्यले अनाहकमा किनारमा धकेलेको वर्गबारे लेखिएका कलात्मक साहित्यले तीव्र असर गर्न थाले । यतिखेर विश्वलेखन सामाजिक यथार्थवादलाई यतै कतै छाडेर धेरै अघि बढेको चर्चा चलिरहेको छ । म्याजिकल रियालिज्म, स्पिरिचुअल रियालिज्म, उत्तरआधुनिकता, स्वैरकल्पना लगायतका विभिन्न आयाममा लेखिएका साहित्य धेरैको प्रिय बन्दै गएको छ । तर, म भने मान्छेका अनगिन्ती दु:ख र पीडालाई कलात्मक ढंगमा उनिएका पुस्तकलाई अझै पनि पहिलो प्रेम गरिरहेको छु।
राजनीतिक विसंगति, मानवीय पीडा, विभेद, असमानताका कारण मान्छेले भोगिरहेका सकसका सन्दर्भले नै मलाई बढी छुन्छ । उडन्ते वा समाजबाहिरका, जमिन र माटोमा नटेकेरै लेखिएका रचनाले मलाई पटक्कै छुँदैनन् । लेखकलाई उड्ने स्वतन्त्रता जत्ति पनि छ । तर, उडेर तल जमिनमा आउन ढिला गर्नु हुन्न भन्ने लाग्छ । उडिरहँदा पनि यसो जमिनतिर हेर्ने र त्यसलाई स्पर्श गर्ने चिन्तन बोकेका लेखक मेरा प्रिय लेखक हुन् । प्रेम र यौन पनि समाजको एउटा जटिल बन्दै गएको विषय हो, त्यसबारे पनि लेखिनुपर्छ साहित्य । तर, त्यसले अझै बढी कलाको माग गर्छ भन्ने धारणमा म अडिग छु ।
अहिले मेरो पुस्तक र्याकमा युधीर थापाका एउटै उपन्यास छैनन् । न स्वस्थानी व्रतकथा न त पिनासको कथाको पुस्तक नै छन् ! साहित्यिक रचनाबाट समाज बदल्ने चिन्तन बोकेका साम्यवादी लेखकका रचनाप्रति पनि मोहभंग हुँदै गएको छ । ती किताबप्रतिको मोहभंग जसरी हुँदै गएको छ, त्योभन्दा पनि धेरैअघि कम्युनिस्ट बन्ने चाहना मरिसकेको थियो ।