कीर्तिमानी फुटबलर रोनी बिनाको फुटबल मैदान..

कीर्तिमानी फुटबलर रोनी बिनाको फुटबल मैदान..

इङ्लिस राष्ट्रिय टोलीबाट एउटा कीर्तिमान छुटेको छ । इङ्ल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दा मैदानभित्र आफ्ना कीर्तिमानी खेलाडी वेन रोनीको साथ पाउने छैन ।रोनीले यसै साता इङ्लिस फुटबल समर्थकलाई आश्चर्यमा पार्दै राष्ट्रिय टोलीबाट बिदा लिए, जहाँ उनको जीवनको महत्र्वपूर्ण हिस्सा सम्भव भएको थियो । रुनीले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गर्दा समर्थकमात्रै होइन, स्वयम् इङ्लिस राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेट पनि आश्चर्यमा परे।

यसै सिजन म्यानचेस्टर युनाइटेड छाडेर आफ्नो बाल्यकालको क्लब एभर्टन पुगेका रोनी उत्कृष्ट लयमा देखिए । सिजनको तीन खेलकै प्रदर्शनबाट प्रभावित बनेका प्रशिक्षक साउथगेट रोनीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन खबर गर्न फोन गर्दै थिए ।

रोनीले प्रशिक्षक साउथगेटलाई त्यही निर्णय सुनाए, जुन उनले प्रशिक्षक पुग्नु अघि नै लिइसकेका थिए । आफ्नो सन्न्यासको घोषणा गर्दा रोनीले प्रशिक्षकसँगको भेटबारे पनि खुलाएका छन् । 'प्रशिक्षक साउथगेटले यसै साता मलाई राष्ट्रिय टोलीका लागि बोलाएका थिए । उनी केही समय मलाई राष्ट्रिय टोलीमा देख्न चाहन्थे । उनको त्यो सदाशयतालाई म सम्मान गर्छु', रोनीले भनेका छन्, 'यद्यपि मैले उनी आउनुभन्दा अघि नै राष्ट्रिय टोली छाड्ने निर्णय लिइसकेको थिएँ । त्यसैले मैले उनलाई पनि त्यही खबर सुनाएको थिएँ ।'

रोनी यस्ता खेलाडी हुन्, जसले इङ्लिस राष्ट्रिय टोलीमा आफ्नो झन्डै १४ वर्षको करिअरमा नसोचेको सफलता हात पारे । तर, सोेचेको र चाहेको केही सफलतामा भने उनी नजिक पनि पुग्न सकेनन्।
उनले सन् २००३ मा अस्टे«लियाविरुद्घको मैत्रीपूर्ण खेलमार्फत इङ्लिस राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए । १७ वर्ष एक सय ११ दिन हुँदाको त्यो खेलले रोनीलाई त्यसबेला इङ्लिस राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनायो, जुन उपलब्धि सन् २००६ मा थियो वाल्कटले आफ्नो नाममा बनाए ।

युरो कप- २००४ को छनोटमा मासेडोनियाविरुद्ध भएको खेलमा इङ्ल्यान्ड २-१ ले विजयी हुँदा राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका रोनी अहिले इङ्लिस राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्तासमेत हुन् । यही उपलब्धिले रोनीलाई आफ्नो देशका लागि कीर्तिमानी खेलाडी बनायो । राष्ट्रिय टोलीबाट एक सय १९ खेल खेलेका रोनीले ५३ गोल गरेका छन् ।

रोनीले सन् २०१६ को युरो कप छनोट खेलमा स्विट्जरल्यान्डविरुद्ध आफ्नो ५०औं गोल गर्दै बब्बी चाल्टनको नाममा रहेको ४५ वर्ष पुरानो कीर्तिमानलाई आफ्नो नाममा ल्याएका थिए । त्यसपछि उनले थप तीन गोल गर्दै अहिले देशका लागि आफ्नो गोल संख्या ५३ पुर्‍याएका हुन् ।

 

रोनी आफ्नो पूर्वक्लब म्यान युनाइटेडका लागिसमेत सर्वाधिक गोलकर्ता हुन् । क्लबका लागि पनि उनले बब्बी चाल्टनको कीर्तिमान भंग गरेका थिए । गत जनवरी २१ तारिख म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा स्टोक सिटीसँग १-१ गोलको बराबरी खेल्दा रोनीले क्लबका लागि एक सय ५०औं गोल पुर्‍याउँदै कीर्तिमान आफ्नो नाममा बनाएका थिए । उनले चाल्टनले बनाएको एक सय ४९औं गोलको कीर्तिमान पार गरेका थिए ।

सन् १९६६ मा विश्वकप उपाधि जितेको इङ्लिस टोलीले त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेको छैन । यसले रोनीलाई पनि खल्लो बनाएको छ ।

त्यसैले इङ्लिस फुटबलले रोनीलाई 'थ्री लायन्स ग्रेट'को उपनाम दिएको छ । 'आज इङ्लिस फुटबलमा एक युगको अन्त्य भएको छ', इङ्लिस फुटबल संघका अध्यक्ष ग्रेग क्लार्कले भनेका छन्, 'राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने तथा धेरै खेल खेल्ने खेलाडीको हैसियतमा रुनी थ्री लायन्स ग्रेटको उपनामका लागि उपयुक्त छन् ।'

सन् २०१४ मा इङ्लिस राष्ट्रिय टोलीको कप्तानीसमेत गरेका रोनीले आफ्नो लागि प्रशस्तै व्यक्तिगत उपलब्धि हात पार्न सफल भए । उनी पिटर सिल्टोन (१२५) पछि इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन् ।

यद्यपि व्यक्तिगत उपलब्धिको तुलनामा राष्ट्रिय टोलीका लागि दिलाएको सफलतामा भने रोनी अन्य थ्री लायन्स ग्रेटभन्दा पछि नै रहे । खेलाडी वा कप्तानको हैसियतमा रोनीले इङ्ल्यान्डलाई ठूला उपाधि हैन, उपाधिको नजिकसमेत पुर्‍याउन सकेनन् ।
सन् १९६६ मा विश्वकप उपाधि जितेको इङ्लिस टोलीले त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेको छैन । यसले रोनीलाई पनि खल्लो बनाएको छ । उपाधि जित्ने सफल इङ्लिस टोलीको सदस्य हुन नसकेकोमा आफूलाई पछुतो भएको रोनीले आफ्नो सन्न्यास घोषणा गर्दा नै स्वीकार गरेका छन् ।

रोनीले खेलाडीको हैसियतामा सम्भव नभए पनि एक सच्चा समर्थकको हैसियतमा भविष्यमा उपाधि जित्ने इङ्लिस टोलीको सदस्य बन्ने बताएका छन् । 'प्रशिक्षक साउथगेटको नेतृत्वमा रहने टोलीले भविष्यमा उपाधि जित्दा म सच्चा समर्थकको रूपमा इङ्लिस टोलीसँगै रहनेछु', रोनीले भनेका छन् ।
इङ्लिस फुटबलले रोनीलाई यी कीर्तिमानका कारणमात्रै होइन, उनको मेहनत र फुटबलप्रतिको लगावका कारण पनि सम्झिरहनेछ । रोनी सायद मैदानमा अन्य खेलाडीभन्दा बढी नै मेहनत गर्थे ।

अन्य सहकर्मी नियमित अभ्यास पछि फर्कन्थे । तर, रोनी अझै अभ्यास गरिरहन्थे । रोनीका पूर्व सहकर्मी फिल नेभिल भन्छन्, 'अभ्यास मैदानबाट सबै खेलाडी घर पुग्दा पनि रोनी मेहनत गरिरहेकै हुन्थे । उनी फ्रिकिक प्रहार गरिरहेका हुन्थे । अन्य टेक्हनिक्समा अभ्यास गरिरहेका हुन्थे । फुटबलप्रतिको उनको लगाव वास्तवमै गजबको थियो ।'

राष्ट्रिय टोलीको जिम्मेवारीमा रहँदा रोनी विवादमा सायदै तानिए । शान्त स्वभावका रोनी आफ्नो असफलता र समर्थकको तीव्र आलोचनाका बाबजुद पनि मेहनत गर्न छाडेनन् । त्यसैले हुनुपर्छ रोनीले राष्ट्रिय टोलीबाट आफ्नो बिदाइ पनि यस्तै सामान्य रोजे । रोनीको बिदाइमा कुनै औपचारिक कार्यक्रमसमेत आयोजना भएन ।

यद्यपि कीर्तिमानी खेलाडीको खल्लो बिदाइमा केही असन्तुष्टिहरू पनि व्यक्त भएका छन् । उनीहरूका अनुसार कीर्तिमानी खेलाडीको बिदाइ राज्य सम्मानका साथ हुनुपर्छ ।

रोनीको खेलजीवन

२००३ : अन्तर्राष्ट्रिय डेब्यु (१७ वर्षको उमेरमा)
२०१४ : इङ्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान नियुक्त
२०१५ : इङ्ल्यान्डको सर्वाधिक गोलकर्ता बन्न सफल
(११९ खेलबाट इङ्ल्यान्डका लागि ५३ गोल गर्न सफल)
२०१७ : राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा
(दीपेन्द्र गुरुङ, एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.