भवतु सब्ब मंगल

भवतु सब्ब मंगल

 

टिङ् ... टिङ्... !

बिहान ४ बजेको संकेत । घन्टीको आवाजले निद्रा खुल्यो । जुरुक्कै उठेँ । उठिहाल्न मन लाग्यो । अरू दिन भए त अलार्म बन्द गरेरै पनि एक्कैछिन सुत्छु भन्ने लाग्थ्यो । त्यो दिन त्यसो भएन । अरू साथीहरूको पनि उठ्ने क्रम सुरु भयो ।म सुतेको कोठामा सातवटा खाट थिए । प्रत्येकमा एकेक जना सुतेका थियौं । एक अर्कासँग न परिचय भएको थियो न बोलचाल नै । एक शब्द पनि कोही कसैसँग बोलेको थिएन । बोल्न पाइन्न, त्यो पनि सबैलाई प्रस्टसँग थाहा थियो ।

narendra-kumar-nagarkotiअघिल्लो साँझमै भनिएका थिए- केही अनिवार्य नियम । तीमध्ये एउटा थियो आर्य मौन अर्थात् कुनै पनि माध्यमले सञ्चार गर्न रोक । आवाज निकालेर बोल्न नपाइने, संकेतमा पनि कुरा गर्न नपाइने । आँखाको भाखा पनि निषेधित । म भने मानसिक रूपमा नै तयार भएर गएको थिएँ । तर, पनि कसरी सम्भव होला भन्ने अव्यक्त खुल्दुली भने यथावत् थियो ।

अघिल्लो दिन १ बजे घर छाडेर हिडेको थिएँ । घर छाड्नुअघि फेसबुकमा एउटा लिंक सेयर गरेको थिएँ- आचार्य पद्मज्योतिसँग कुराकानी गरी लेखिएको विपश्यना ध्यान बारेको आलेख । त्यस लेखले पनि थप ऊर्जा र उत्साह भरेको थियो । सन्न्यासी भावमा ध्यान गर्न भनेर हिँडेको थिएँ तर मलाई पुर्‍याउन भनेरै केही साथी गएका थिए साथमा । कीर्तिपुरस्थित धम्म कीत्तिको.................? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? कार्यालयको ढोकामै उभिएर बिदाइको हात हल्लाएँ मैले, मुस्कुराउँदै । उनीहरूलाई के-कस्तो लागेको थियो छुट्ने बेलामा कुन्नि, मलाई भने उनीहरू मूल ढोका कटेर गएपछि सम्झनाले सताइहाल्यो । उनीहरूलाई सेलफोनबाट टेक्स्ट गरेँ । के टाइप गरेँ भन्नेचाहिँ मसँग रेकर्ड छैन । आफूले थ्यांकयु भन्नुपर्ने जतिलाई टेक्स्ट गरेँ । अनि अन्तिमपटक फाराम भरेँ । दस्तखत गरियो, म पूर्णत: तयार छु भनेर ।

३० भन्दा बढी मानिस भएको स्थानमा म एक्लो थिएँ । मेरो साथमा केवल म थिएँ । मसँग जिज्ञासा थियो त ध्यान कसरी सुरु हुनेछ भन्ने, जुन निश्चित नै थियो । त्यसैले मैले कुनै प्रश्न गरिनँ।

मोबाइल फोन डिपोजिट सेक्सनमा बुझाएँ । आफूसँग भएको जम्मै नगद पनि बुझाएँ । सबै बुझाइयो, फिर्ताचाहिँ आउने हो कि होइन भन्ने लाग्यो एकछिन । फिर्ता नआउने हो भने फर्कनका लागि बसभाडा नि छैन भन्ने चिन्ता लागेको थियो । आफैंले सोचेँ— आउँछ नि । मसँग थिए एकएक थान दाँत माझ्ने बुरुस, मञ्जन, नुहाउने साबुन, टर्च र केही जोर लत्ताकपडा । झोला बोकेर अर्कोपट्टिको भवनतर्फ लागेँ । मलाई मेरो शयनकक्ष देखाइदिन एकजना भाइ मसँगै गए । पछि बुझियो उनी पुरानो साधक रहेछन् । पहिले पनि त्यही ठाउँमा ध्यान गरेको । तर, हाम्रो बोलचाल भएन । बस् उनले मेरो लागि ओछ्यान देखाइदिए । म पनि ओछ्यानहरू र पल्लो ओछ्यानमा लमतन्न परेर पल्टिरहेको युवा हेर्नतर्फ लागेछु । मौन । शान्त । म पनि मौन, मौन र मौन ।

 

पहिलो साँझको खानपिन गर्ने सूचना आयो । कोही पनि बातचित गर्ने मुडमा नभएजस्ता देखिन्थे । केही विदेशी अनुहारहरू एकआपस्तमा मस्तले गफिइरहेका थिए । पालैपालो एकजना सेतो वस्त्रधारीसँग कुरा गर्ने क्रम पनि जारी थियो । म अलमलमा थिएँ । असमञ्जसमा थिएँ । मेरो पनि पालो आउला भनेर सोच्दै थिएँ । पालो आएन । किन आएन आजसम्म पनि थाहा छैन । कति कुरा थाहै नभए पनि चल्ने रहेछ जीवनमा । साँझको ८ बजेतक कार्यालय रहेको भवनको माथिपट्टि सानो हलमा भेला हुन हामीलाई उर्दी जारी भयो ।

सबैजना उक्लियौं । महिला, पुरुष, स्वदेशी, विदेशी सबै । ३० भन्दा बढी मानिस भएको स्थानमा म एक्लो थिएँ । मेरो साथमा केवल म थिएँ । मसँग जिज्ञासा थियो त ध्यान कसरी सुरु हुनेछ भन्ने, जुन निश्चित नै थियो । त्यसैले मैले कुनै प्रश्न गरिनँ । धैर्य रहेँ । अब आर्य मौनको समय सुरु भयो भनेपछि हामी निस्कियौं र लाग्यौं जो जहाँजहाँ सम्बन्धित थियौं ।

राति ९ बजे सुत्न पाइने नियम पहिल्यै थाहा थियो । केही विपश्वी साधक र यसको प्रशंसकहरूको कुरा सुनेर म गएको थिएँ । वेब साइट भिजिट हेरेर, भिडियो डिस्कोर्स सुनेर, आफू राजी भएरै गएको थिएँ ।
हामीले पालना गर्नुपर्ने पहिलो सर्त थियो शील । यसअन्तर्गत हामीले पाँच काम गर्नु हुँदैनथ्यो । चोरी नगर्ने, झूठ नबोल्ने, हिंसा नगर्ने, नशालु पदार्थ सेवन नगर्ने र यौनजन्य क्रियाकलापमा संलग्न नरहने । शील पूर्णत: पालना गर्न तयार भएरै गएको थिएँ ।

महिला र पुरुषका लागि सबै व्यवस्था बेग्लै थियो । भान्छाकोठा, डाइनिङ सेटिङ र बाथरुम अलग, सुत्ने स्थल टाढाटाढा, हिँडडुल गर्ने बाटो बेग्लै ताकि भेट नहोस् । ध्यान गर्ने हलमा प्रवेश गर्ने बाटो अलग । ढोका अलग । हलमा बस्ने ठाउँ अलग । कहिले त देखादेख जो भई नै हाल्थ्यो । जो कोहीलाई पनि आपसमा स्पर्श गर्न, हेर्न र संकेतमा कुरा गर्न बर्जित थियो । एक मेक्सिकन जोडीले शील र अरू नियम पालना गरेको र ध्यानस्थ भएको देख्दा गरे सकिने रहेछ भन्ने लाग्थ्यो ।
मेक्सिकन जोडी घुम्दाघुम्दै अचानक आइपुगेको रहेछ । समय कटाउन भनेर । पूर्ण नियममा बसे । तर, भेट हुनेबित्तिकै टङ-किस गरेको दृश्य हामीले हेरिरह्यौं केही बेर । अन्तत: ध्यानबाट प्रभावित भएर उनीहरू निस्के साइकल यात्रामा ।

मसँग ध्यान अवधिको एउटा पनि फोटो छैन । फोटो छ त मनमा छ । फोटो खिचिएन । अनित्य कुरा न हो, किन मोह गर्ने भनेर । त्यस्तो विचारले भिजायो त्यस बखत । अरूले खिचे सेल्फी र वेल्फी, क्लिक्क्लिक् ।हरेक दिन बिहानको घन्टीसँगै उठ्नुपथ्र्यो । नउठे सेवकले डसना तानेर झकझकाउँथे र आँखा खोलेपछि जम्लाहात पारेर ध्यान गर्न जाने समय भयो भन्ने जानकारी दिन्थे ।

दोस्रो दिनको बिहान उठ्न सकिएन । बिहानी घन्टी बजेको पनि पत्तो पाइएन । सेवकले डस्ना तानेपछि पो मन र तन दुवै ब्यूँझे । नमस्कार खाइयो । शान्त र मौन रूपमै लागियो ध्यानका लागि हलतिर । पहिलो दिनको निरन्तर साधनाको जोडले थाकिएछ । अरूहरूको पनि हालत मेरोभन्दा फरक होइनजस्तो लाग्यो । नमस्कार खाँदै उठेका निद्रालु आँखाहरू सिँढी ओर्लिंदै थिए । कोही जारबाट स्टिलको गिलासमा पानी थाप्दै ठाडो घाँटी पार्दै थिए । कुनै कुनै पल त ध्यान गर्दागर्दै निद्रादेवीसँग साँठगाँठ गरेको कुरा सायदै अरूले थाहा पाए होलान् ।

सुरुका तीन दिन आनापाना ध्यानको अभ्यास गर्‍यौं । श्वास आएको, गएको र कस्तो सेन्सेसन भयो भनेर नाकको अघिल्लो खण्डको आसपास मनलाई केन्द्रित गरेर यो अभ्यास हुन्थ्यो । सुरुसुरुमा त मन कताकता, भाग्ने कताकता । फिटिक्कै पनि केही सेन्स नहुने । अभ्यासले गर्दा विस्तारैविस्तारै सुधार हुँदै गयो । मनलाई तीक्ष्ण बनाउने अभ्यास हो यो । मनलाई हामीले चाहेजसरी वशमा राख्न सकिने रहेछ । त्यसको प्रारम्भिक अभ्यास हो यो । मनको ताल र सुरमा लाग्दा जीवनमा दु:ख, पीडा, असन्तुष्टि, विवाद, झैझगडा हुने हो । मनलाई वशमा राख्न सके र दु:खबाट मुक्त हुन सके त जीवनमा बाँकी रहने त आनन्द नै हो ।

सुरुसुरुमा त यस्तो दुख्यो कि ढाड, पिँडुला र गोडाका अन्य भाग । पीडामय समय थियो सुरुमा । यो पीडा अनित्य हो भनेर मान्न अभ्यास थियो त्यो । अनित्य हो दु:ख भनेर बुझ्नै समय लाग्यो ।
अधिष्ठान अवधिमा अझ बढी मेहनत गर्नपर्छ । कम्तीमा एक घन्टा आसन परिवर्तन गर्न पनि नपाइने । पहिलोपटक एक घन्टा पूरा भयो होला भनेर विस्तारै टाउको घुमाएर पछाडिको भित्तेघडी हेरेको त जम्माजम्मी १५ मिनेट भएको रहेछ । नियम तोडेरै यसो गरिएको थियो । पछिल्ला दिनहरूमा त दुई घन्टासम्म पनि सामान्य रूपमा नै ध्यान गर्न सकिने भइयो । चौथो दिन विपश्यना प्रदान गर्ने दिन हो । यस दिनमा त दुई घन्टाको अधिष्ठान हुन्छ । सुन्दै आत्तिन सक्छ मान्छेको मन । ध्यानको अभ्यास भएकाका लागि यो सामान्य हो ।

कुनै समय नजिकै भएको साथीले बारबार आफ्नै नाडीमा प्याट्ट प्याट्ट हिर्काएको आवाजले ध्यान भंग गरिदिन्थ्यो । बोल्न पाइन्नथ्यो । संकेतमा पनि केही बताउन नपाइने । रिसाउन छाडिएको थियो । किनभने साक्षी भाव विकास गरिँदै थियो । प्रतिक्रिया नदिने स्वभाव बनाउने अभ्यासमा थियौं । त्यसो त कुनै पल नजिकै कतै पार्टी गरेको सुन्न सकिन्थ्यो । गीतसंगीतको चर्को स्वरले त्यही बताउँथ्यो । यसरी पनि ध्यान भंग हुने गथ्र्यो । तर, हामी नकारात्मक टिप्पणी नगर्ने अवस्थामा थियौं । साधु साधु साधु । भवतु सब्ब मंगलं । यो भावमा थियौं ।

गौतम बुद्धले ज्ञान प्राप्त गरेको कुरा मलाई पहिल्यैदेखि कुनै ठूलो या महत्र्वको लाग्दैनथ्यो । आखिर के नै जानेका हुन् र ! त्यै कुरा हो जुन हामीले धेरै पहिल्यै कुनै खासै मेहनत नगरी सिकेका हौं । जस्तो कि चोरी गर्न हुन्न । खासमा ध्यान गरेर भावनामय प्रज्ञा कसरी खुल्छ र ज्ञान प्राप्त हुन्छ भन्ने कुरा पढेर वा सुनेर होइन कि ध्यानको, साधनाको अभ्यास नै जरुरत पर्छ । यो तथ्य जान्न र स्वयं अनुभव गर्न मलाई तीन दशक लाग्यो ।

दिनहरू बित्दै जान थाले । मौन र एक्लोप्राय: जीवन पनि सामान्य लाग्न थाल्यो । एउटा निर्धारित तालिका र नियममा मन चल्न थाल्यो । ध्यानमा बस्दा पनि मनलाई सेन्सेसनमा केन्द्रित गराउन सकिने गरी तीक्ष्ण बनाएको अनुभूति लाग्न थाल्यो ।

एकजना रुममेट पाँच दिनमै अलप भए । कहाँ गए, किन गए । सोध्न मिल्ने कुरै भएन । पछि थाहा भयो कि सन्चो नभएर बीच समयमै गएका रहेछन् । त्यस्तै एकजना छोरी साधक थिइन् । करिब २०-२२ वर्षकी । एक दिन उनी क्वाँक्वाँ रोइरहेकी थिइन् । पत्तो पाउन सकेको छैन । होम सिकनेसले रोएको हो कि भन्ने लाग्यो ।

अन्तिम अर्थात् दसौं दिनमा आर्य मौन तोड्ने दिन । बिहानी ध्यान सकेर हलबाहिर निस्कँदा कोहीले बाटैमा नमस्ते भनेपछि एक्कासि नमस्ते भनिएछ । आफैंलाई आफ्नै आवाज पनि नौलो लाग्यो । कहाँबाट के ध्वनि आइरहेछ जस्तो । नौलो, नयाँ, नवीन ।

बोल्न पाएको एक रात बास बस्नुपर्ने । करिब एक दिन बिताएपछि मात्र घर फर्कन पाइने । सेलफोन चलाउँदा त्यस्तै भयो । ११औं दिनमा घर आउन पाइने । त्यसैले घर फर्कने दिनमा मात्र मोबाइल फोन हात पर्ने । फोन लिएँ । स्विच अन गरेँ । स्क्रिन नै अनौठो लाग्यो । छोइ हेरेको त स्क्रिनमा, क्या अचम्म । चल्छ पो, सर्छ पो ।

ध्यानले केके परिवर्तन ल्यायो त ? यो प्रश्न धेरैले सोधे । अद्यापि सोधिने प्रश्न हो यो । परिवर्तनको आभास दिन देखिने परिवर्तन चाहिन्छ । चर्मचक्षुले देखिनु पर्‍यो । त्यसैले अन्तरमनमा भएको परिवर्तनलाई देखाउने कसरी भनी एकछिन गम खान्छु । मौन हुन्छु । अनि विपश्यनाको प्रभावबारे एकछिन प्रवचन दिन कम्मर कस्छु । सक्दो बुझाउने कोसिस गर्छु कि यो उपयोगी छ । आफूले पनि प्रत्यक्ष नदेखेका उदाहरण पनि सुनाउछु । मलाई थाहा छ, अनुभव गर्न नपाएको सत्यलाई सहजै स्वीकार्न सकिन्न । तर, पनि बताउँछु मैले, ज्ञान प्राप्तिको मार्गमा हिँड्न सिकेँ ।

ध्यानको माध्यमबाट चञ्चल मनलाई वशमा राख्ने क्षमता बढ्ने रहेछ । प्रेम, करुणा, मैत्री भावले मनमा आसन ग्रहण गर्ने र राग, द्वेष र मोह क्रमश: टाढा हुने रहेछ । दु:खबाट मुक्त हुने कला सिकिने रहेछ । बाँच्ने कला हासिल हुने रहेछ । शुद्ध धर्मको मर्म बुझिने रहेछ । यसोयसो भन्छु । मलाई थाहा छ यसो भनेर विपश्यना बुझिन्न । बुद्धले प्रयोग गरेको विद्या हो यो भन्यो भने त फेरि हामीलाई बुद्ध बन्नु छैन पनि भन्छन् । बुद्ध बन्छु भनेर एकदुई महिना ध्यान गरेर बनिने पनि होइन र बुद्ध बन्नका खातिर ध्यानमा लाग्ने पनि होइन । सच्चा आनन्द हो मनको आनन्द । जीवनमा त्यो आनन्द प्राप्तिका लागि उत्तम मार्ग हो ध्यान र ध्यानमा पनि विपश्यना ।

शील पालना गर्न नसके ध्यान सम्भव नहुने रहेछ । समाधि नहुने रहेछ । अनि प्रज्ञा पनि नखुल्ने रहेछ । प्रज्ञा अर्थात् प्रत्यक्ष ज्ञान । शील, समाधि र प्रज्ञाको अभ्यास गरिरहँदा मनमा धेरै खाले मानिसको चित्र आए । मलाई लाग्यो कि यो साधना नियमित रूपमा गर्ने गराउने हो भने कैयन् समस्या समाजबाटै हट्छ ।

ध्यानमा लीन भएँ । आनन्द प्राप्त गरेँ । कुनैकुनै समय भने मनले अनन्य योजना बनाएर बस्यो । जस्तो कि सम्झिएरै बित्यो कत्ति घन्टा । सम्झेँ ती मानिसहरूलाई जसलाई शीलस्वभावले युक्त देख्न मन थियो । धेरै मानिसलाई साधनामा लैजान मन लाग्यो मलाई । मनमा लाग्यो, जीवनको उत्तराद्र्धमा विपश्यना ध्यान केन्द्र सञ्चालन गर्छु र मानिसहरूलाई धर्म र पुण्यको मार्गमा हिँड्न सहयोग गर्छु । कम्तीमा स्वयंका लागि भए पनि यो काम गर्छु ।

सिकाइ कसरी हुन्छ ? ज्ञानमार्ग कसरी खुल्छ ? चेतनाको जरा कसरी फैलन्छ ? सुनेर, देखेर र अनुभव गरेर सिक्छन् । सिकाइका लागि इन्द्रियको सहयोगमा अनुभव गर्नुपर्छ । ज्ञान र चेतनाका लागि अन्तरआत्मादेखि भावना उत्पन्न हुनुपर्छ । यस्तो वाक्य पढेर कसरी विश्वास गर्ने ? त्यसो भएकाले शिक्षकहरूका लागि यो अति उपयोगी छ । शिक्षकहरूले यस ध्यानमा लागेको खण्डमा ज्ञान त भावनामय प्रज्ञाको तहमा पुगेर मात्र हासिल हुन्छ भन्ने बुझ्न सक्छन् । झूठ बोल्नुहुन्न भनेर उत्तर लेखेर जाँचमा पास त भएको हुन्छ तर कैंयौं झूठ बोलेर अरूलाई दु:ख दिइरहेको हुन्छ । त्यस्तो किन हुन्छ त ? किनभने झूठ बोल्नु अश्लील हो भनेर उसले हृदयको तहमा अनुभूत नै गरेको हुँदैन । साँचो अर्थमा ज्ञान प्राप्त गरेकै हुँदैन ।

ध्यानमा जानुपूर्व एकजना छोरीसँग बोलचाल थिएन । एकाएक उनी बोल्न छाडिन् । अनि म पनि बोल्न छाडेँ । कारण थियो, उनलाई कुनै प्रतियोगिताका लागि आवश्यक जिनिस तयार नगरिदिएर तरिका मात्र बताउनु । अचम्म के भइदियो भने म ध्यानबाट फर्केर आउँदा उनी खुला हृदयले मसँग बसेर घमण्ड र रिस हटाउने विषयमा छलफल गर्न तयार रहिछन् । म त ताजाताजा विपश्वी कुनै ईख वा द्वेष राख्ने कुरै भएन । प्रेमपूर्वक कुरा भयो । उनकै घरमा म गएँ । उनीलगायत अरू चारपाँच जनाका अगाडि प्रवचन दिन थालिहालेछु ।

अचेल कुनै सिर्जनामा प्रयोग गरिने शब्दचयन होस् वा बोलीचालीमा, विशेष ख्याल राखिन्छ कि कतै हिंसा गर्ने वा बुझाउने शब्द त प्रयोग भइरहेको छैन भनेर । सचेत बन्न प्रत्यक्ष सघाउँछ विपश्यनाले । कतै ध्यानको कुरा चल्यो भने विपश्यनाको बारेमा प्रवचन दिइहाल्न मन लाग्छ अचेल ।
यो लेख तयार गर्दै गर्दा फेरि अर्को पटकको साधनाका लागि कन्फर्मेसन इमेल प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.