३८ अनुहारमाथि रङरोगन
जीवनका घुम्तीहरूमा अनेक पात्र भेटिन्छन् । कसैसँग सौहार्द र चम्किला सम्बन्ध जोडिन्छन्, कसैसँगको सम्बन्धले गति समात्दैन । आधा शतकदेखि नेपाली साहित्यिक पत्रकारितालाई निरन्तर टेको लगाउँदै आएका रोचक घिमिरेले जीवन-हिँडाइमा भेटेका आत्मीय, घनिष्ठ एवं समाजमा चिनिएका केही अनुहारमाथि अनुभूतिजन्य रङरोगन गर्ने प्रयत्न गरेका छन् । 'अनुहार र अनुभूति'मा बितेको ५६ वर्षदेखि दुईमहिने साहित्यिक पत्रिका 'रचना'को स्तरोन्नतिमै समय, सीप र पैसासमेत लगानी गर्दै आएका वाङ्मय-सेवी घिमिरेले साहित्यिक-दौडाइमा भेटेका उपल्लो तहका व्यक्तित्वका चरित्र, चिन्तन, आनीबानी, कर्तृत्वलाई चाल्नाहरूमा राखेर चाल्ने प्रयत्न गरेका छन् ।
'रचना' प्रकाशनपूर्व र पश्चात् नेपाली साहित्य, भाषा, कलाजगत्, पत्रकारिता, राजनीति, सामाजिक क्षेत्रसँग जोडिएका व्यक्तिसँगका घनिष्ठ सम्बन्धका छिद्र-छिद्र पर्गेल्ने कार्य घिमिरेले आफ्नो यो नवीन कृतिमा गर्न चाहेका छन् ।
एउटा क्षेत्रमा विशिष्ट उचाइ हासिल गरेका व्यक्ति अर्को क्षेत्रमा पनि दक्ष, विशिष्ट र पारंगत नहुन पनि सक्छन् । नेपाली गीत-संगीत र नाट्यजगत्का पुरोधा नै थिए, माष्टर रत्नदास प्रकाश । राणाकालीन समयदेखि नै कलाकर्ममा सक्रिय प्रकाशमा अरू क्षमता भए पनि भाषण, अन्तर्वार्ता दिने क्रममा भने 'मौखिक वक्तव्य' आउनु स्वाभाविक थिएन । २०१८ सालदेखि नै आफूसँग नजिकिएका प्रकाशले कैयांैपटक पुरस्कार, सम्मान पाउँदा आफूले लिखित भाषण लेखिदिएको प्रसंगलाई अत्यन्तै मिठास रूपले पस्किएका छन् । प्रकाशले चर्चित व्यंग्य-सर्जक भैरव अर्यालसँग पनि भाषण लेखाएका प्रसंग कोट्याएका छन् । 'छिन्नलता गीत पुरस्कार' पाउँदा भने प्रकाशले घिमिरेसामु पहिला-पहिलाजस्तै भाषण लेखिदिन अनुरोध बिछ्याएका रहेछन् ।
अग्रजदेखि समकालीन पुस्ताका सर्जकहरूका यस्ता भित्री पक्षहरूलाई समेत रोचक घिमिरेले स्वसम्पादन नगरीकनै आवरणमा उतारेका छन् ।
त्यसपटक भने घिमिरेले 'भाषण लेखन'को बोझिलो जिम्मेवारी कथाकार धु्रव सापकोटातिर पन्छाएर पारि श्रमिकस्वरूप पाँच सय नगद दिलाउनसमेत लगाएका रहेछन् । आफूले लेखिदिएको भाषण मास्टर रत्नदासले छिन्नलता पुरस्कार वितरण समारोहमा अभिनय गरीगरी वाचन गर्दा 'घोस्ट भाषण लेखक' सापकोटा र त्यसको गुदी बुझेका घिमिरेमा उत्पन्न हाँसो-प्रसंग पठनीय लाग्छन् ।
२०१८ सालमा 'नयाँ समाज' दैनिकमा एउटा समाचार छापियो । त्यसको शीर्षक थियो, 'बीपी कोइराला र गणेशमान जेलमुक्त ।' खबरले सहरभरि सनसनी मच्चायो । तर, त्यो पत्रकार बालमुकुन्ददेव पाण्डेको 'गाईजात्रे प्रयोग' थियो । नेपाली अखबारहरूले गाईजात्रा पर्वमा विशेषांक निकाल्ने प्रचलन त्यही समयदेखि प्रारम्भ भयो ।
वरिष्ठ शब्दशिल्पी पाण्डेको अनुहार सम्झेर अनुभूति पोख्ने क्रममा घिमिरेले 'रूपरेखा' प्रकाशन गर्दा उत्तम कुँवर र पाण्डेबीचको 'सौहार्द युद्ध'का रिफ्लेक्सनहरू पनि सतहमा उतारेका छन् । एक ठाउँमा उल्लेख गरेका छन्, 'रूपरेखाका दिमाग बालमुकुन्द थिए भने उत्तम कुँवर त्यसका प्राण । पछि आएर बालमुकुन्द र उत्तमबीच मतभेद भयो । केही व्यक्तिले आफ्नो स्वार्थी खेल खेल्दै रूपरेखाबाट बालमुकुन्दलाई हटाउन रचेको प्रपञ्च २०३६ सालमा आएर सफल भयो ।'
कविशिरोमणि लेखनाथ पौडेलप्रति त औधी नै कृतज्ञ देखिन्छन् घिमिरे । रामेछापमा सामान्य मास्टरी गरेर बसेका उनका पिता सोमनाथ घिमिरे 'व्यास'लाई काठमाडौंको रैथाने बनाउन पौडेलकै भूमिका सर्वोपरि बनेको रहेछ । मुद्दाको तारेख खेप्न काठमाडौं आएका व्यास भीमशमशेरकी बुहारी समुन्द्रादेवीकहाँ पुराण लगाउने क्रममा पण्डित बनेर पुग्दा प्रमुख पुराणवाचक थिए, कविशिरोमणि ।
तर, पुराण वाचनको तेस्रो दिन नै कविशिरोमणिको गला बसेपछि व्यासले वाचन अवसर पाए । त्यही प्रसंगबाट समुन्द्रादेवीको नजरमा परेका व्यासलाई काठमाडौंमै स्थायी रूपमा बसोबास गर्ने बन्दोवस्त मिल्यो । कविशिरोमणिसँग बुवाको न्यानो सामीप्यले गर्दा घिमिरेले पनि बाक्लै संगत गर्न भ्याए । उनले कविशिरोमणिमा रहेको हास्यचेत पनि पस्किन भ्याएका छन् । त्यस्तै राजनीतिज्ञ राजेश्वर देवकोटासँगको संगतलाई भने उनले बडो रोचक र कलात्मक बान्की दिएका छन् । पञ्चायती राजनीतिमा जमे पनि साहित्य लेखनका समेत प्रखर देवकोटाको कदकाँठीलाई लिएर चल्ने गरेका हास्य-विमर्शका केही झिल्काहरू उनले छरेका छन् ।
पोखराबाट काठमाडौं आउने क्रममा थानकोटमा बस पल्टिँदा आफ्नी पत्नी र देवकोटा घाइते भएका प्रसंग र पछि वीर अस्पतालमा टाँका काट्न देवकोटा आउँदा भेट्दाका क्षणबारे उनको 'सप्रसंग व्याख्या' निकै मार्मिक र चोटिला छन् ।
प्राचीन संस्कृति, भाषा र लिपिप्रति जनकलाल शर्माको अध्ययन-दायरा फराकिलो मानिन्छ । शर्मा र आफ्ना पिताबीच कायम घनिष्ठ सम्बन्धका पोयोहरू बाट्ने काम पनि उनले गरेका छन् । विद्वताले भरिपूर्ण शर्मा पुरातत्र्व विभागमा रहँदा खोज-अनुसन्धानलाई नै जीवनको मियो ठानेर चलेका रहेछन् । शर्माले प्रसिद्ध कलाशिल्पी मनुजबाबु मि श्रलाई साक्षी राखेर आफ्नो जीवन-प्रवाहका क्रममा उद्घाटित केही रोचक सन्दर्भ सर्जक रोचकलाई सुनाएका रहेछन् । त्यसमध्येका तीन रोचक प्रसंग रोचकले उल्लेख गरेका छन् । जसमा, २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको निमन्त्रणामा सोभियत संघका राष्ट्रपति भोरोस्लाभ नेपाल आउँदाका प्रसंगले भने खित्का छुटाउने क्षमता राख्छ ।
भएछ के भने, पुरातत्र्व विभागमा सामान्य जागिरे शर्मालाई उचालेर कार्यालयकै एकजना साथीले सोभियत संघका राष्ट्रपतिलाई स्वागत गर्न एअरपोर्ट लिएर गएछन् । कुनै विशिष्ट ओहदामा नभए पनि शर्मा स्वागत गर्न लहरमा उभिएछन् । अनधिकृत मानिसहरूको भीड बढेपछि सुरक्षाकर्मीले सबैलाई खेद्न थालेछन् । तर, खेदाइमा पर्नै लागेका शर्मालाई भने एकजना सुरक्षाकर्मीले नेपाली कांग्रेसका नेता गणेशमान सिंह भनेर छाडिदिएछन् ।
राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार मन्त्रीहरूका लाइनमा उभिएका शर्मालाई देखेपछि बीपी झस्किएछन् र हत्तपत्त राष्ट्रपतितर्फ इसारा गर्दै भनेछन्, 'गभर्मेन्ट आर्कियोलोजिस्ट मिस्टर जे.एल. शर्मा ।' आफ्नो र गणेशमान सिंहको अनुहार मिल्ने त्यो सन्दर्भलाई रोचकले गज्जबले प्रस्तुत गरेका छन्।
प्रसिद्ध नाटक-सर्जक विजय मल्लसँग गुजारेका अन्तरंग क्षणहरू त उनले कुनै कन्जुस्याइँ नगरी अक्षरबद्ध गरेका छन् । 'रचना' को पहिलो अंकका निम्ति रचना माग्दा झुलाएर नौ अंक निस्किएपछि मात्र मल्लले नाटक दिएका रहेछन् । त्यो नाटक छाप्न पाएकोमा गौरव ठान्ने घिमिरेले विजयको बहुआयामिक सिर्जना-संसारबारे जह्रैसम्म खोतल्ने प्रयत्न गरेका छन् ।
उनी मल्लको प्रतिभाबाट हायलकायल नै देखिन्छन् । एकपटक ओमबहालमा मल्ल, उपेन्द्र श्रेष्ठ, पुरुषोत्तम बस्नेत लगायतले मदिरा सेवन गरेर राति १२ बजे पुतलीसडकमा रहेकी पारिजातकहाँ कविता सुन्न पुगेका प्रसंग उप्काउँदा भने स्रष्टाहरूमा व्याप्त कमजोरीका हाँगाबिंगा पहिल्याउन मद्दत गर्छ । मदिरा-सेवनबाट टाढै बस्ने रोचकलाई सुराप्रेमीहरूले मध्यरातसम्म राखेका र पछि नशाकै सुरमा पारिजातको डेरामा गएर कविता सुनेरमात्र उम्किन दिएका क्षणबारे लेख्छन्, 'पारिजातको ढोका ढक्ढक्याउने काम मदन रेग्मीले गरे ।
भित्रबाट सुकन्याको स्वर आयो 'को हो ? ' भन्ने प्रश्न बोकेर । 'हामी हौं, हामी । रोचकजी पनि छन्' भने मदनले । उनले मेरो नाउँ लिनुको तात्पर्य एकजना सज्जन मान्छे पनि हामीसँग छ, त्यसैले सदाशय लिएर आएका हौं भन्ने थियो ।'
सर्जक रोचकको स्रष्टाहरूसँग उठबसको सीमा व्यापक थियो । नाट्यसम्राट् बालकृष्ण समदेखि इतिहासकार नयराज पन्तसम्मै । अझ, प्रख्यात स्रष्टा मदनमणि दीक्षित, रमेश विकल, धुस्वाँ साय्मि, हर्षबहादुर बुढामगर, आनन्ददेव भट्ट, नारायणबहादुर सिंह, देवकुमारी थापा, गणेशबहादुर प्रसाई, माधवलाल कर्माचार्य, जगदीश घिमिरे, डा. धीरेन्द्र, मनु ब्राजाकीजस्ता समकालीन र अग्रज प्रतिभाहरूसँग उनको संगत नहुने त प्रश्नै रहेन ।
यी स्रष्टाहरू उनको जीवन-हिँडाइमा कहीँ न कहीँ जोडिन आइपुगे । ब्राजाकीसँगको आत्मीय उठबसलाई त उनले धेरै नै खुलेर लेखेका छन्, 'कहिले त जनकपुरबाट रात्रिबस चढेर एकाबिहानै सोझै मकहाँ टुपुल्किन्थे मनु । साथको उनको ब्याग बोकेका एकजना मधेसी सहयोगी पनि हुन्थे । सहयोगीलाई तलै छाडेर माथि मेरो कोठामा उक्लिन्थे र भन्थे- दाइ, अस्ति छापिएको कथाको भुक्तानी र आगामी अंकलाई दिने कथाको पेस्की पारि श्रमिक पाऊँ । उनले सधिकार भनेकोलाई अवमूल्यन गर्न सकिँदैनथ्यो ।'
वाङ्मय-साधक घिमिरेले आफूसँग घनिष्ठ एवं प्रगाढ सम्बन्धमा बाँधिएका भाषा, साहित्य, संस्कृति, पत्रकारिता आदि क्षेत्रका साधकहरूका व्यक्तित्व एवं कृतित्वका पाटोलाई सम्यक रूपले मूल्यांकन गर्न चाहेको प्रस्टै देखिन्छ । अग्रजदेखि समकालीन पुस्ताका सर्जकहरूका यस्ता भित्री पक्षहरूलाई समेत उनले स्वसम्पादन नगरीकनै आवरणमा उतारेका छन् । घिमिरेको 'अनुहार र अनुभूति' पढ्नेहरूलाई यस्तो लाग्नु स्वाभाविकै देखिन्छ, त्यस्ता साधकहरूका जीवनका कुनै पक्ष सायदै अनुद्घाटित छन् होलान् ।
कृति : अनुहार र अनुभूति
लेखक : रोचक घिमिरे
प्रकाशक : बुकआर्ट, नेपाल
पृष्ठ : ३०४
मूल्य : ३५५।-