फालेलुङमा पहिरो, सात घर विस्थापित
फिदिम : पाँचथरको फालेलुङ गाँउपालिकामा फेरि पहिरो गएको छ । वडा नम्वर ५ प्राङबुङको लुङमादिन र खेदोक वस्ती नै धाँजा फाटेर पहिरो जाँदा घर परिवार विस्थापित भएका छन् । वस्तीका अन्य घरहरु पनि उच्च खोखिममा रहेको वडाध्यक्ष जिवन कुमार राईले जानकरी दिए ।
बिहीबार रातिदेखि अविरल बर्षातका कारण फालेलुङमा फेरि पहिरो जाँदा थप सात घरपरिवार विस्थापित भएका हुन् । पहिरोले फालेलुङ ५ प्राङबुङका दिपक केरुङ, थीरबहादुर साँवा, कान्तिवहादुर साँवा, गणेश साँवा, भीम साँवा र विष्णु साँवाको घर जोखिममा परेपछि उनीहरु बिस्थापित भएका हुन् ।
पहिरो गएर घर जोखिममा परेपछि विस्थापित भएका परिवार आफन्तका घरमा शरण लिएर बसेको स्थानीयको भनाई छ । घटनाबारे प्रहरी चौकी प्राङवुङलाई खबर गरिएपनि प्रहरी टोली त्यहाँ नपुगेको स्थानीय सन्दिप केरुङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेब गौतमले पनि पहिरोकाबारे केही जानकारी नभएको बताए । यसअघि साउन २६,२७ र २८ गते गएको पहिरोका कारण फालेलुङ गाँउ पालिका १र ३ मा मात्रै ७३ परिवार विस्थापित भएका छन् । उनीहरु स्थानीय जलकन्या विद्यालय र माङ्लेबुङको बुङसिङडाँडामा पाल टाँगेर बसिरहेका छन् ।