मानवीय संवेदनाले भरिएका कथा

मानवीय संवेदनाले भरिएका कथा

'अनावरण' विजय सापकोटा लिखित भर्खरै बजारमा आएको कथासंग्रह हो । किताब हेर्दैमा आकर्षक छ, पढुँ-पढँ लाग्नेछ । किताबको मुख पृष्ठमा राखिएको भव्य बगैंचाको नक्साले पाठकको ध्यान खिच्छ, लोभ्याउँछ । यसमा लामा र छोटा गरी १० वटा कथा संग्रृहीत छन् । किताब केही बसाइमा पढिसकिन्छ, ठसठसी कनिरहनुपर्दैन । कथामा कथाकारले भोगेको समय बोलेको छ । यो पाठकको दैनन्दिनीसँग जोडिन्छ । कतिपय कथामा कथाकार आफैं पात्रको रूपमा उभिएकाले ती अझ रोचक भएका छन् । कुथुङ्ग्रीहरू यसरी बुनिएको छ जसमा पाठकले आफैंलाई पढेको अनुभव गर्नेछन् ।

samirविजय सापकोटा कविता, कथा, निबन्ध आदि विधामा स्थापित नाम हो । उनी मानवीय संवेदनालाई टपक्कै टिपेर सरल भाषामा गहन रूपले प्रस्तुत गर्न खप्पिस छन् । सरकारी र गैरसरकारी संस्थाका एजेन्डाहरू बारम्बार लेखेर साहित्यकार बन्न, पुरस्कार थाप्न र चर्चा बटुल्न लामबद्ध हुनेहरू भन्दा उनी पृथक् छन् । यहाँ कथाका पात्रहरू आ-आफ्नै सामाजिक, सांस्कृतिक, राजनैतिक धरातलबाट उठेका छन् । पात्रका मनोदशालाई नजिकबाट नियालिएको छ । यसकारण पनि कथाहरू सजीव लाग्छन् । कथाहरू आम पाठकको मनोभावनासँग पनि सन्निकट छन् । कथाका माध्यमबाट कथाकारको जीवन र जगत्प्रतिको दृष्टिकोणसमेत पाइन्छ । सापकोटाका कथामा कथात्मक स्वरूपको संगठनमा मौलिकता छाउँछ । उनले पाठकको ध्यान खिच्न, मन लोभ्याउन हरतरहका सजगता र सचेतता अपनाएका छन् ।

यस संग्रहमा केवल कथाकारले भोगेको समय र परिवेश झल्किने कथामात्र छैनन् । यी आम पाठकका संवेदना र मनोभावना पनि हुन् । यसमा नेपाली राजनैतिक वृत्तमा केही स्वार्थी नेतालाई माथि उकास्न दिलोज्यान दिएर अनवरत भर्‍याङ बन्ने कार्यकर्ताको दुर्दान्त कथा छ । सरकार र माओवादीबीचको तत्कालीन सशस्त्र द्वन्द्वलाई फरक ढंगबाट चित्रण गरिएको छ । लोग्ने र स्वास्नीका मनमुटाव र झगडालाई बडो रोचक शैलीमा देखाइएको छ । गाउँ र सहरको फरक परिवेशमा हुर्केका कथा 'लोग्नेस्वास्नीको झगडा परालको आगो' भन्ने उखानलाई चरितार्थ गर्न साँच्चिकै लायक छन् । उज्ज्वल भविष्यको सपना बोकेर सहर पसेको युवकले भोगेको संघर्षपूर्ण यात्राको बेलिविस्तार छ । नेपाली फिल्मी क्षेत्रमा नायिका बन्न के कति योगदान र लगानी गर्नुपर्छ भन्नेबारे रोचक शैलीमा चिरफार गरिएको छ । सामान्य लाग्ने तर गहन मर्म बोकेका, बाहिर नदेखिने तर भित्रभित्रै समाजलाई खोक्रो पारिरहेका घटनावलीहरूको बेलिविस्तार लगाइएको छ ।

कथामा समकालीन सामाजिक-राजनीतिक घटनाप्रति कडा व्यंग्य प्रहार गरिएको छ । किताबमा क्रान्तिकारी र प्रजातान्त्रिक दुवैधारका सशक्त कथा समेटिएको भए पनि कथाकार कता लेपास्सिएका छन्, उनको झुकाव खुल्दैन ।

'अनावरण'मा संग्रृहीत 'आरेमको ट्याङ्का' पछिल्लो समय नेपालमा लेखिएका कथामध्येकै शक्तिशाली कथा लाग्छ । तुलनात्मक रूपमा अलि लामो यो कथामा नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलको पुनस्र्थापनापश्चात् नेपाली राजनीतिमा हुर्केको दु:खद् अवस्थाको चित्रण गरिएको छ । अति सामान्य धरातलबाट उठेको मान्छे जनताको प्रतिनिधिको नाममा पद र प्रतिष्ठा आर्जन गरेपछि आफ्नो पृष्ठभूमि कसरी बिर्सिन्छ भन्ने यसले उजागर गर्छ । नेता र पार्टीलाई माथि पुर्‍याउन परिवार, पद, भविष्यको चिन्ता नलिई जीवन समर्पण गर्ने आरेम हाम्रो समाजको एक प्रतिनिधि पात्र हो । कुनै न कुनै दल विशेषको झोला बोकेर हिँड्नैपर्ने संस्कारै बसिसकेको हाम्रो समाजमा यसले कतै न कतैबाट सबैलाई छुन्छ । सोच्न बाध्य बनाउँछ ।

 

आरेमजस्तो जुझारु, त्यागी र समर्पित कम्युनिस्ट पार्टीको कार्यकर्ता सामान्य उपचार पनि नपाएर मर्नु परेको घटनाले जो कसैको छाती चिरिन्छ । ट्याङ्काले सांकेतिक अर्थ राख्छ । पार्टी कार्यालयमा वर्षौंदेखि धुलो बोकेर बसेको आरेमको निजी सम्पत्ति अर्थात् टिनको बाकस उसको मृत्युपछि फोरेर हेर्दा त्यसभित्र केही किताब, नेताहरूको फोटो, विधान, पर्चा, प्रतिवेदन, टिपोट, पत्रिका, उसले चिया खान साथीभाइसँग मागेको हरहिसाबको फेहरिस्त देखेर सबैको मन कुँडिन्छ । सँगै भेटिएको एक युवतीको श्यामश्वेत फोटोको पछाडि आरेमकै अक्षरमा 'वर्गीय समाजमा वर्गीय प्रेममात्र न्यानो र चोखो हुन्छ' लेखिएको वाक्यले जीवनभर अविवाहित उसको त्याग र समर्पण भाव झल्किन्छ । सामान्य रुघाखोकी लाग्दासमेत उपचारका लागि विदेश जाने राजनीतिक दलका नेता भनाउँदाले पढ्नैपर्ने कथा हो यो ।

'सन्तान' सामाजिक ऐनाको रूपमा आएको कथा हो । लामो समयदेखिको राजनीतिक अव्यवस्थाले अवसरहरू सहर केन्द्रित हुँदै गए । गाउँ छाडेर सहर पस्ने, रोजगारीका लागि बिदेसिने, सहरबाट समेत अध्ययन र कमाइका लागि देश छाड्नुपर्ने कुरा अब रहरभन्दा बाध्यता बढ्ता हुन थाल्यो । हिजोआज वृद्धआमा-बाबुमात्र एक्लिएर बस्नु सामान्यजस्तै हुन थालेको छ । यही कथाव्यथालाई यहाँ दुरुस्तै देखाइएको छ । सरकारी तनखा थाप्ने दुई जोर छोराबुहारी भएका वृद्ध आमाबाबु पैसा तिर्न नसकेर दुई हप्तादेखि अस्पतालमै बस्नु परेको प्रसंग हृदयविदारक छ । यो हाम्रै समाजको प्रतिनिधि घटना हो । यसले वर्तमान नेपाली समाजको बदलिँदो अवस्था र विश्वव्यापीकरणको बढ्दो प्रभावतर्फ संकेत गर्छ । यो आमा छोरा बुहारीहरूले पढ्नुपर्ने कथा हो ।

'बाहिर अन्धकार थियो' कथामा सरकार र तत्कालन माओआदीबीच भएको दसवर्षे सशस्त्र द्वन्द्वको सूक्ष्म विश्लेषण गरिएको छ । यसमा द्वन्द्व सुरु हुनुअघिको सामाजिक अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरिएको छ । त्यो समयमा तथाकथित माथिल्लो जातबाट तल्लो जात भनिएकाहरूलाई हुने हेलाँहोचो, अत्याचार, दमन कुन हदसम्म हुन्थ्यो भन्ने प्रष्ट झल्किन्छ । झन् जनताका प्रतिनिधि प्रधानपञ्चबाटै भएको थिचोमिचो र शोषण मर्मस्पर्शी छ । यसले तत्कालीन शासन व्यवस्थाको पनि झल्को दिन्छ । भावी पुस्तालाई समाजको विकासक्रम बताउँछ ।

प्रधानपञ्चको छोरो र कान्छा दमाईका छोराछोरीबीचको अबोध प्रेमले पाठकको मन छुन्छ । प्रधानको छोरो सहरबाट गाउँ फर्कंदा कान्छा दमाईको परिवार बसाइँ गएको प्रसंगले पाठकको ध्यान तान्दै लान्छ । धेरैपछि उनीहरूबीच भेट हँदा दुवै आ-आफ्ना विचारले खारिएका हुन्छन् । प्रधानको छोरो बाबुको बिँडो थाम्दै सेनामा जागिरे हुन्छ भने कान्छा दमाइको छोरो सामाजिक विभेदको अन्त्य गर्ने नाममा माओवादी लडाकुको कमान्डर भइसकेको हुन्छ । अपहरणका बखत आफ्नै बालसखाको मुखबाट आफ्ना बाबुले कान्छी दमिनीलाई बलात्कार गरेपछि जबर्जस्ती रित्तै बसाइँ हिँड्न बाध्य बनाएको, दमाईकी छोरी उसकी बालसखी सारुलाई आफ्नै बाबुले सेनालाई पोल लगाएर बलात्कार पछि मारिएको, पछि बाबुको हत्यासमेत माओवादीबाटै भएको थाहा पाएर उसलाई आत्मग्लानी हुन्छ । बाल्यकालदेखिको वर्गीय चेतनालाई सम्मान गर्दै कथाको मुख्य पात्रलाई अपहरणबाट उन्मुक्ति दिइन्छ, जागिर छाड्ने सर्तमा ।

यतिबेला उनीहरूको बालपे्रमले पृष्ठपोषणको काम गर्छ । कथाले पञ्चायती समाजको विभेद र दमनको संकेत एकातिर गर्छ भने अर्कोतिर समाजमा विद्रोह गर्न पे्ररित गर्ने अन्यायरूपी फिलिंगोतर्फ पनि इंगित गर्छ । माओवादी द्वन्द्वसमेत यस्तै कारणहरूको उपज भएको कथाकारको ठम्याइँ हुन सक्छ । उनका पात्र, परिवेश र भाषाले थोरै भए पनि यो संकेत मिल्छ ।

'निमित्त' वर्तमान नेपाली समाजको प्रतिनिधि कथा हो । च्याउसरि पलाएका राजनीतिक दलको अवस्थाको चिरफार गर्छ, यसले । जीवनभर राजनीतिक पार्टीमा त्याग र तपस्या गरेको कार्यकर्ता कसरी टपरटुईंयाँ र नवप्रवेशीहरूबाट पछि पारिन्छ, बिनासमर्पण कार्यकर्ता कसरी पार्टीमा हाबी हुन्छ, देखाउँछ कथाले । राजनीतिक दलको दुर्गन्ध बोकेर हिँड्नेहरूलाई समेत यसले झक्झक्याउँछ, प्रश्न खडा गर्छ । जीवनभर एक प्रजातान्त्रिक दलमा समय खर्चेको कृृष्णमोहन हरेक अवसरमा ठगिन्छ । संसदीय निर्वाचनमा टिकट पाउने चर्चा चलेको मान्छे अन्तत: वार्ड अध्यक्षमा खुम्चिनुपर्ने हुन्छ । कार्यकर्ताबाटै तिरस्कृत र अपहेलित हुन्छ । यसले हाम्रा दलहरूको अवस्था र व्यवस्थाको समेत झल्को दिन्छ ।

यो कथामा दार्शनिक पक्ष एकदमै सबल छ । यहाँ जीवन र जगत्बारे मिहिन ढंगमा चर्चा गरिएको छ । आफ्ना बाबुको जीवनशैली र दर्शनबाट प्रभावित कृष्णमोहनका माध्यमबाट आफ्नो जीवन र दर्शनप्रतिको दृृष्टिकोणसमेत पाठकसामु ल्याएका छन्, कथाकारले । कथामा सामाजिक, राजनीतिक पक्षसमेत बलियो छ । श्रीमद्भगवद्गीताका केही श्लोकहरूले कथालाई थप ओझिलो पारेको छन् । विश्लेषणात्मक विधि अपनाएर कथालाई गहन बनाइएको छ ।

'अन्तरण' र 'विजेता' फरक परिवेशमा हुर्केका समान विषयमा केन्द्रित कथा हुन् । पहिलो कथा गाउँले जीवनसँग सम्बन्धित छ भने दोस्रो कथाले सहरिया जीवनको प्रतिनिधित्व गर्छ । दुवै कथामा स्वास्नीपीडित लोग्नेको मनोविश्लेषण गरिएको छ । कथाले पारिवारिक खटपटको कारण र समाधान खोतल्न सहयोग गर्छन् । परालको आगो सरह हैसियत राख्ने विषयले कसरी परिवारलाई अधोगतितर्फ धकेल्छ भन्ने प्रस्ट्याउँछन् कथाहरूले । पहिलो कथामा स्वास्नी चाहिँले पालेको खसीको मृृत्यु सम्बन्ध सुधारको कडी बनिदिन्छ । दोस्रोमा स्वास्नीको दुर्घटनाले आपसी मेल गराउँछ । यी दुवै कथा आम विवाहिता जोडीले पढ्नै पर्ने खाल्का छन् । फरक ढंगले सोच्न बाध्य पार्छन, कथाहरूले।

कथामा समकालीन सामाजिक र राजनीतिक घटनाप्रति कडा व्यंग्य प्रहार गरिएको छ । संग्रहमा क्रान्तिकारी र प्रजातान्त्रिक दुवै धारका सशक्त कथाहरू समेटिएको भए पनि कथाकार कता लेपास्सिएका छन्, उनको झुकाव खुल्दैन । यसले कुनै एउटा विचारधाराको अनवरत पक्षपोषण गर्ने वा रातदिन खोइरो खनेर हिँड्ने दुवै खाले लेखकलाई गतिलो पाठ सिकाउँछ । कथाकार सापकोटा समस्या देखाउन माहिर छन् । समाधानतर्फ उनको खासै ध्यान गएको जस्तो लाग्दैन । उनी आफ्नो उद्देश्य पूरा गर्न कत्तिको सफल हुने हुन, नतिजा आउन बाँकी नै छ ।

हाम्रो दैनन्दिनीमा दोहोरिरहने सामाजिक मुद्दा पढ्दा, पढ्दा वाक्क भएका पाठकलाई यो संग्रहले राहत दिन्छ । शीतलता प्रदान गर्छ । समाजका सामान्य विषय, र पात्रका मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाएर लेख्ने कथाकारको खुबी नै मान्नुपर्छ । कथाहरूमा कथानकलाई विश्वसनीय बनाउन, पात्रलाई सजीव राखिराख्न हरतरहले कोसिस गरिएको छ । प्राय: सबै कथाहरू भिन्न विशेषता बोकेका छन्, आफैंमा पूर्ण छन् । यहाँ न कथाकारले पाठक माथि हाबी भएर सकसमा पारेका छन् न त पात्रका माध्यमबाट विचार थोपर्ने काम गरेका छन् । अप्रत्यक्ष रूपमा कथाकारको दृष्टिकोण कतैकतै भेटिन्छ । यति हँदाहुँदै पनि उनको लक्ष्य, उद्देश्य र मतलव प्रष्ट रूपमा झल्किँदैन ।


भाषा साहित्यको मूल प्राण हो । किताबमा भाषा सरल छ । कथाकारको लेख्ने शैली मौलिक छ । छोटा वाक्य र सामान्य बोलीचालीको भाषाले पाठकलाई सजिलो हुन्छ । हेल्चेक्रयाइँले हुने झिना मसिना गल्तीहरू यो किताबमा पाइँदैन । त्यस्तै वातावरण, परिवेश र पात्र छनोटमा पनि ध्यान दिइएको छ । मूल शब्द तत्सम भएका विशेषणको प्रयोगले पाठकलाई कताकता असजिलो हुन्छ । भिन्न परिवेश, वातावरणबाट कुथुङ्ग्रीहरू भेला पारेर विकास गरिएको भएतापनि कथाहरूमा सामञ्जस्य पाइन्छ । त्यसैले त यो किताब आस्वाद्य छ, पठनीय छ ।

लेखक : विजय सापकोटा
प्रकाशक : शाब्दिक बुक्स
पृष्ठ : १९८
मूल्य : ३००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.