बाढीपीडितलाई नेविसंघको राहत
काठमाडौं : नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महोत्तरी जिल्लाको अति बाढी प्रभावित मुसहर बस्तीमा राहत वितरण गरेको छ।
गरिबीको मारमा रहेका दलित समुदायका करिब एक सय भन्दा बढी बाढीपीडित परिवारलाई चामल, दाल, नुन, तेल, दालमोट, कापी, कलम, झोला, झुल वितरण गरेको हो ।
बिपन्न बस्तीका १२० भन्दा बढी प्रभावित विद्यार्थीका लागि नेविसंघले पाठ्यसामग्री वितरण अभियान सुरु गरेको थियो । आजसम्म उक्त बस्तीमा कुनै निकयाबाट पनि राहत वितरण भएको थिएन ।
प्रभावित क्षेत्रका सबै विद्यार्थीलाई पाठ्यसामग्री वितरण अभियान संचालन गरिएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए । अभियानले दश हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ।
देशका ३१ जिल्लाका १ हजार भन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री नेविसंघले दाताको सहयोगमा वितरण गरिसकेको संघका मुख्य सचिव डिल्ली हमालले जानकारी दिए ।
विद्यार्थीलाई एउटा झोला, झोलाभित्र एक दर्जन कापी, २ वटा कलम, मन्जन र ब्रस, भ्याएसम्म एक जोर लुगा १५ हजारलाई वितरण गरिने अभियान शनिबारदेखि महोत्तरीमा सुरु भएको छ।
अभियान बाढी प्रभावित सबै जिल्लामा केन्द्रित हुने संघका अध्यक्ष महरले बताए ।
‘