दुबै हात नभएकी पाइलट जेसिकालाई काठमाडौंमा सम्मान
काठमाडौं : जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ बानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ।
उड्डयन क्षेत्रमा जेसिका विश्वकी प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको हो। ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावनादूत जेसिकाले उड्डयनमा एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानपछि बताएकी छिन्।
अमेरिकन तेक्वान्दो एसोसिएसनकी ब्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ। एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन्।
१४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शब्द टाइप गर्ने क्षमता राख्छिन्। उनले २००५ मा प्लेन उडाएकी थिइन्। २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो।
खुट्टाले हवाइजहाज उडाउने पाइलट नेपाल आउदै (फोटोफिचर)
जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै पाइलट विजय लामाले उनलाई खादा ओढाएर सम्मान गरेका छन्। नाटका विद्यार्थी र सञ्चालक समूहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए।
नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए। ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो। तर, नाटले यो सुविधा दिएको छ’,उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो। यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चाहन्छु।’