नेविसंघद्वारा सर्लाहीमा राहत वितरण
नेपाल विद्यार्थी संघले बाढीबाट अत्यधिक प्रभावित सर्लाहीका विभिन्न बस्तीमा राहत वितरण गरेको छ।
नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत वितरण गरेका हुन्। काठमाडौंमा राहत संकलन गरेर नेविसंघ टोली सर्लाही पुगेको हो। सर्लाहीको मलंगवामा पुगेर नेविसंघले बाढीप्रभावितहरुलाई खाद्यान्नसहित लत्ताकपडा समेत वितरण गरेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए।
उनका अनु्सार बाढीपीडितलाई चामल, दाल, तेल, नुन, भाँडाकुडाका साथै पाल, म्याट लगायतका सामग्री वितरण गरिएको छ।
स्थानीय प्रशासनसंगको समन्वयमा बाढीपीडितलाई राहत वितरण गरिएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जनाए। उनले करिव ६ लाख बराबरको राहत वितरण गरिएको बताए। तराईका अन्य बाढी प्रभावित बस्तीमा पनि राहत वितरण गर्ने नेविसंघ महामन्त्री काफ्लेले बताए।