दिनभर हिडेर आउँदा पनि किन्न पाइँदैन अन्न

दिनभर हिडेर आउँदा पनि किन्न पाइँदैन अन्न

जाजरकोट : पाँच घन्टा पैदल हिँडेर खाद्य डिपो आएका बारेकोट गाउँपालिका-३ का दलजीते कामी चामल नपाएपछि निराश भएर रित्तै फर्किए । घरमा अन्न सकिएपछि उनले गाउँभरि अन्न खोजे तर पाएनन्।गाउँमा नपाएपछि नायकवाडाको घाटमा रहेको खाद्य संस्थानको डिपोमा चामल लिन आएका थिए । ‘डिपोमा पनि चामल नभएको भन्दै दिनुभएन’, उनले भने, ‘खाद्यान्न किन्न टाढा जाने पैसा छैन । नजिकै पाइँदैन । अब कसरी छाक टार्ने हो ।’

आफ्नै खेतबारीबाट उत्पादन गरेको घरको अनाज सिद्धिएको र डिपोमा चामल नभएपछि दलजीतको परिवार समस्यामा परेको छ ।त्यस्तै, बारेकोट ५ का जयधने सार्कीले गाउँमा उत्पादित अन्न सकिएको र नायकवाडाको घाटमा रहेको खाद्य डिपोमा पनि चामल नभएपछि गाउँमा खाद्य संकट परेको बताए ।उनले भने, ‘न त खाद्य डिपोमा चामल पाइन्छ न गाउँमै, अब के गरेर गुजारा चलाऊँ । जहान परिवार पाल्नै गाह्रो भइसक्यो ।’

नायकवाडाको घाट खाद्य डिपोमा लामो समयदेखि खाद्य आपूर्ति नहुँदा दलजीते र जयधनेजस्तै बारेकोटका हजारौं नागरिक खाद्य संकटको चपेटामा छन् ।खाद्य संकटले गरिब, दलित र सीमान्तकृत समुदायलाई असर परेको छ । चाडवाड आइरहेको छ । दुई छाक टार्न पनि उनीहरूलाई निकै सकस परेको छ । कतिपयले भने दुई दिन पैदल हिँडेरै सदरमुकाम खलंगाबाट चामल लिने गरेका छन् । सदरमुकाम जाँदा चामल किन्ने पैसाजत्तिकै थप खर्च लाग्ने गरेको छ ।

बारेकोट गाउँपालिका जुम्लासँग सिमाना जोडिएको दुर्गम स्थान हो । यो गाउँपालिकामा खाद्यान्न उत्पादन न्यून हुने गरेको छ । साउन, भदौमा यहाँ बर्सेनि खाद्य संकट पर्ने गरेको स्थानीय शिक्षक गोरखबहादुर सिंहको भनाइ छ ।

यतिबेला बाटोघाटो बिग्रिएकाले खाद्यान्न ढुवानीमा निकै समस्या पर्ने गरेको छ । यहाँका मानिस मोटर चढ्न दुई दिन पैदल हिँड्नुपर्छ । नयाँ बाली नपाकेको, पुरानो अन्न सकिएको, स्थानीय पसलमा ढुवानी समस्याले खाद्यान्न मौज्दात नरहेकाले यो क्षेत्रमा खाद्यान्न अभाव भएको सिंहले बताए ।

सरकारले घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । उक्त कोटाको चामललाई सरकारले ढुवानी अनुदान दिने भएकाले स्थानीयलाई चामल निकै सस्तो पर्ने गरेको छ । अन्य व्यापारीले लिएको संस्थानको चामल आधा सस्तो पर्ने गरेको छ । तर, जतिबेला गाउँमा संकट पर्छ त्यतिखेरै डिपोमा चामल अभाव हुने गरेको स्थानीयको भोगाइ छ ।

संस्थान जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले वारेकोटमा खाद्यान्न माग निकै रहेको बताए । उनले गत वर्षको मौज्दात चामल सकिएर २२ क्विन्टल मात्र बाँकी रहेको र थप चामल आउन केही समय लाग्ने बताए । डिपोमा चामल ढुवानीका लागि टेन्डर आह्वान भइसकेकाले दशैअघि नै डिपोमा चामल पुग्ने उनले बताए ।

बारेकोट खाद्य असुरक्षित गाउँपालिकाका रूपमा रहेको कृषि विकास कार्यालयले जनाएको छ । उक्त गाउँपालिकामा आगामी तीन महिना खाद्य संकट चुलिँदै जाने कार्यालयको अनुमान छ ।

सदरमुकाममा बिक्दैन, गाउँमा पुग्दैन

केही वर्षअघि सदरमुकाम खलंगामा समेत खाद्यान्न हाहाकार हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । तर, गाउँमा भने खाद्यान्न निकै समस्या हुने गरेको छ । ‘१० वर्ष अघिसम्म सदरमुकाममा चामल लिन नेताहरूको सिफारिस लगाउनुपथ्र्यो । त्यही सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले कुपन दिन्थे अनि खाद्य संस्थानले ५ किलो चामल दिन्थ्यो’, स्थानीय ओमप्रकाश राठौरले भने, ‘तर अहिले खाद्य संस्थानको सदरमुकामको चामल बिक्री हुन छाडेको छ । खाद्यको चामल र बजारको चामलको भाउ उस्तै छ । गुणस्तरको हिसाबले बजारको चामल राम्रो छ । त्यही भएर मानिसले खाद्यको चामल किन्न छाडेका छन् ।’

छिन्चु-जाजरकोट सडक बनेसँगै सदरमुकामको खाद्यान्न समस्या हटेको हो । सदरमुकामसम्म बाटो पिच गरिएको छ । तर, जिल्लाका ग्रामीण भेगमा भने खाद्यसंकट प्रत्येक वर्ष चुलिँदै जान थालेको छ । खेतीयोग्य जमिन भिरालो भएकाले बाढी-पहिरोले मासिँदै गएको, जनसंख्या वृद्धि भएको, खेतीकिसानी गर्ने युवा विदेश पलायन भएका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । कतिपयका पाखोबारी बाँझै छन् ।

बारेकोट रामीडाँडाका नन्दलाल ज्योतिले भने, ‘केही वर्ष पहिलेका मानिस गाउँमै उत्पादित कोदो, फापर, गहुँ, मकै, जौलगायत खाद्यान्न सेवन गर्ने गर्थे । मिहिनेत गरेर आफ्नै बारीमा फलाउँथे । वर्ष दिनभरि खान पुग्थ्यो तर अहिलेका पुस्तामा श्रम गर्ने बानी हटिसक्यो । सबैमा भाते बानीको विकास भयो । युवाजति विदेश गएकाले गाउँमा केटाकेटी, वृद्धवृद्धा र महिला मात्र छन् । जसले गर्दा खेतीपाती गरेर खाने चलन हराउन थालिसकेको छ ।’

सरकारले जिल्लाका चार स्थानमा खाद्य डिपोको व्यवस्था गरेको छ तर सबै डिपो अहिले रित्तै छन् । बारेकोटको घाट, रग्दाको चौखा, दशेरा र पजारुको घोगीमा रहेका खाद्य डिपोमा चामल नहुँदा स्थानीय निकै समस्यामा परेका छन् । चाडबाड नजिकिँदै छन् । दसैंलगायत चाडलाई ध्यानमा राख्दै तत्काल डिपोमा चामलको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.