वीरेन्द्रनगर अब 'छोरीमैत्री' नगरपालिका

वीरेन्द्रनगर अब  'छोरीमैत्री' नगरपालिका

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री हुने भएको छ । छोरीमैत्री नगर बनाउन नगरपालिकाले विभिन्न योजना अगाडि सारेको छ ।छोरा-मोहका कारण वीरेन्द्रनगरमा गर्भपरीक्षण गरी भ्रूण हत्या गर्ने क्रम बढेको छ । छोरा भए जन्माउने र छोरी भए भ्रूणमै हत्या गर्नेको संख्या बढेपछि नगरपालिकाले यस्तो प्रवृत्ति रोक्न योजना ल्याएको हो । शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै छोरीमाथि गर्भमै विभेद भइरहेकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री सहरका रूपमा विकास गर्न लागेको नगरपालिकाले जनाएको छ ।

'छोरामोहका कारण गर्भमै छोरीको हत्या बढ्दो छ । भ्रूणहत्याले सामाजिक संरचना नै खलबलिने अवस्था आयो', वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, 'यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्दै छौं ।'

 

नगरपालिकामा छोरा जन्माउनेको संख्या बढेपछि छोरीको संख्या कम हुँदै गएको देखिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनले यस्तो अवस्था देखाएको छ ।विभेद रोक्न नगर कार्यपालिकाले प्रोत्साहनस्वरूप छोरी जन्मनेबितिकै बैंक खाता खोलिदिने निर्णय गरेको छ । हालसम्म सातजनाको नाममा नगरपालिकाले बैंकमा खाता खोलिदिएको छ । खातामा नगरपालिकाले एक हजार रुपैयाँ जम्मा गरिदिएको छ । यसले छोरीलाई सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न प्रोत्साहन पुग्ने नगरपालिकाको दाबी छ ।

विकास भनेको भौतिक निर्माण मात्र होइन, पूर्वाधारले मात्र नगर समृद्ध हुन सक्दैन । हामीले सामाजिक रूपान्तरणमा पनि ध्यान दिएका छौं ।' -देवकुमार सुवेदी, वीरेन्द्रनगरका मेयर

'विकास भनेको भौतिक निर्माण मात्र होइन, पूर्वाधारले मात्र नगर समृद्ध हुन सक्दैन', मेयर सुवेदीले भने, 'पूर्वाधार विकाससँगै हामीले सामाजिक रूपान्तरणमा पनि ध्यान दिएका छौं ।'
भ्रूणमै छोरीको हत्या गर्नेमाथि कारबाही हुने उनले दाबी गरे । 'हामी स्थानीय प्रशासनसँग मिलेर कडा अनुगमन गर्नेछौं', उनले भने, 'छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउँदैनन् ।'

उपमेयर मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा छोरीका लागि गर्भदेखि बाँचुञ्जेलसम्म सम्मानपूर्ण वातावरण सिर्जना हुने दाबी गरिन् । 'वीरेन्द्रनगरलाई देशकै नमूना नगर बनाउने सपना छ', उनले भनिन्, 'भौतिक विकास गर्न हामी तयार नै छौं । सामाजिक रूपमा पनि हाम्रो नगर अब्बल बन्नेछ, अब वीरेन्द्रनगरमा छोरीले सम्मानपूर्वक बाँच्न पाउनेछन् ।' पाँच वर्षभित्र भ्रूण हत्यालाई पूर्णरूपमा बन्द गर्ने योजनासमेत उनले सुनाइन् ।

अधिकारकर्मीले भने शिक्षित व्यक्तिबाटै भ्रूण हत्या भइरहेको जनाएका छन् । यसलाई रोक्न स्थानीय सरकार र प्रशासनिक निकायले अनुगमन र कारबाहीको दायरा बढाउनुपर्ने उनीहरूको सुझाव छ । बालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएको सिविन नेपालका अनुसार नगरभित्रै छोरीको गर्भमै हत्या हुने क्रम बढ्दै गएको छ । संस्थाका कार्यक्रम अधिकृत संगीता वलीले लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध भए पनि सहरी क्षेत्रमै यो समस्या विकराल बन्दै गएको बताइन् ।

यस्तो अवस्थामा नगरपालिकाले थालेको अभियान सकारात्मक हुने उनको विश्वास छ । भ्रूण हत्या न्यूनीकरणका लागि आइतबार वीरेन्द्रनगरमा मिडिया संवाद कार्यक्रम सम्पन्न भएको छ । सरोकारवालाले गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्दा छोरीको जन्मदर कम हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.