रोकिएन नेपालमा प्रतिबन्धित भारु कारोबार
काठमाडौं : भारत सरकारले नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ (हजार र पाँच सय दरका) सटही गर्ने आश्वासन दिइरहेका बेला भारतबाट त्यस्ता नोट नेपाल भित्रिने क्रम बढेको छ । प्रहरीले शनिबार मात्रै दुई जनालाई स्वयम्भू क्षेत्रबाट प्रतिबन्धित ६८ लाख २० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
प्रहरीले कारोबारीसँग ८ करोड प्रतिबन्धित भारतीय रुपैयाँ रहेको सूचना पाए पनि प्रारम्भिक कारबाहीमा त्यति रकम बरामद गरेको हो । पक्राउ परेका बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी दुवै जना भरिया हुन् । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार शर्मा र भण्डारीलाई मुख्य कारोबारीले भारतीय रुपैयाँ राख्न मात्र दिएको उनीहरूको बयानबाट खुलेको छ ।
काठमाडौंवासीलाई ठग्न भारतीयसँग मिलेर प्रतिबन्धित भारतीय रुपैयाँ कारोबारमा संगठित गिरोह नै सक्रिय रहेको प्रहरीको दाबी छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले समय-समयमा हजार र पाँच सय दरका ३ करोड ५६ लाख २० हजार भारतीय रुपैयाँ बरामद गरिसकेको छ । प्रतिबन्धित भारतीय रुपैयाँ कारोबारमा संलग्न दुई दर्जनभन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ परेकाले नेपाल-भारत सीमा क्षेत्रबाट भारतीय रुपैयाँ संकलन गरी राजधानी भित्र्याएको बयान प्रहरीलाई दिएका छन् ।
भारतले गत वर्ष कालो धन र नक्कली भारतीय रुपैयाँ कारोबार रोक्न हजार र पाँच सय दरका नोट प्रचलनमा रोक लगाएको थियो । केही महिनाअघि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच नेपालमा रहेका भारतीय नोट सटहीबारे वार्ता भएको थियो । सरकारले वार्तामा नेपालमा समेत भारतीय रुपैयाँ मौज्दात रहेकाले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँ सटही गरिदिन भारतसँग अनुरोध गरेको थियो । तर, भारतीय पक्षले साढे चार हजार मात्रै सटही गरिदिने अडान लिएपछि त्यसयता वार्ता भएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत प्रतिबन्धित भारतीय रुपैयाँ सटही भारतले वार्ताबाट टुंग्याउने आश्वासन दिएको थियो ।
दोहोरो कारोबार
कारोबारीले प्रतिबन्धित भारतीय नोटको दोहोरो कारोबार गर्दै आएका छन् । कारोबारीले सीमा क्षेत्रबाट हजारको भारतीय नोटलाई ५० पैसादेखि दुई रुपैयाँमा किन्ने, काठमाडौं भित्र्याएपछि हजार र पाँच सय दरका नोटलाई ५८ देखि ६० रुपैयाँमा बिक्री गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सीआईबीका एसएसपी शेरबहादुर बस्नेतका अनुसार भारतबाट तराई हुँदै प्रतिबन्धित नोट राजधानी भित्रिएका हुन् । यसका कारोबारी मध्यमस्तरका केही व्यापारी र मानिस छन् । बस्नेतका अनुसार कारोबारीले केहीलाई ५० हजार, केहीलाई २ लाख, केहीलाई ५ लाख गरी भागबन्डामा प्रतिबन्धित भारतीय नोट बिक्री गरेको सूचना सीआईबीसँग छ । सीआईबीले जेठ २ मा पक्राउ गरेकामध्ये भारतीय नागरिक अंकुर अग्रवाल, दिनेश अग्रवाल, पर्साका सुरेन्द्रकुमार संघाईले भारतबाट राजधानीमा नोट भित्र्याएको बयान दिएका थिए । उनीहरूले गौरीघाट बस्ने कमला भण्डारीको डेरामा प्रतिबन्धित भारतीय नोट भण्डार गर्दै आएका थिए ।
कहिले कति प्रतिबन्धित नोट समातियो
- भदौ १७ गते ६८ लाख २० हजार
- असार २८ गते ४९ लाख ५० हजार
- जेठ २ गते २ करोड १६ लाख ६१ हजार
- जेठ ६ गते २९ लाख ५९ हजार ५ सय
- जेठ ८ गते ५० लाख ५० हजार