उपचार अभावमा ज्यान गुमाउँछन् सर्पदंशका घाइते
गौशाला (महोत्तरी) : गौशाला नगरपालिका-४, रजखोरका ५८ वर्षीय श्रीलाल महतोलाई मंगलबार सर्पले डस्यो । उनलाई उपचारका लागि परिवारजनले गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । तर, श्रीलालले त्यहाँ उपचार पाउन सकेनन् । केन्द्रमा दुई वर्षदेखि सर्पदंशको उपचार गर्र्ने विशेषज्ञ डाक्टर नै छैन । उपचार सेवा ठप्प छ ।
उनलाई परिवारजनले गौशालाबाट १५ किलोमिटर टाढा बर्दिबासस्थित गौरीडाँडाको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्यो । बाटो बिग्रिएका कारण उनलाई गौशालाबाट बर्दिबास पुर्याउन ढिलाइ भयो । केन्द्रको गेटमा पुर्याउँदै गर्दा श्रीलालले मंलबार राति नै यो संसार छाडे ।
सोनमा गाउँपालिका-७, मैन टोलकी ८ वर्षीया जलेखा सदा मुसहरलाई शुक्रबार सर्पले डस्यो । परिवारजनले उनलाई गाउँबाट ६ किलोमिटर टाढा रहेको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । जलेखालाई उपचार गर्ने त्यहाँ सर्पदंश विशेषज्ञ थिएन । उनलाई पनि केन्द्रले गौशालामा उपचार हुन नसक्ने भन्दै बर्दिबासतिरै रिफर गर्यो । बर्दिबासतिर लैजाँदै गर्दा जलेखाको पनि ज्यान गयो ।
यी त समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपरेका केही प्रतिनिधि घटना मात्र हुन् । गौशालाका सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका विशेषज्ञ नहुँदा यही क्रम दुई वर्षदेखि निरन्तर चलिरहेको छ । सर्पदंशका घाइते उपचारका लागि अस्पताल जाने र अस्पताल प्रशासनले भने विशेषज्ञसहितको उपचार सेवा दिनुको सट्टा ‘यहाँ सेवा छैन’ भन्दै टार्दै आएको छ ।
‘धनीले एम्बुलेन्समार्फत सर्पदंशका घाइते बर्दिबास पुर्याएर ज्यान जोगाउँछन् । हामी गरिबसँग रुपैयाँ हुँदैन । हामीले एम्बुलेन्सबाट बाहिर लान सक्दैनौं।’
-रामदरेश यादव, गौशालावासी
औषधि पसल सञ्चालक दिनेश साहका अनुसार गर्मीको समयमा सर्पले डसेर घाइते भई दिनमा २-३ जना अस्पताल आउँछन् । केन्द्रले डाक्टर नभएको जनाउँदै बर्दिबास पठाउने गरेको छ ।
दुई वर्षअघि सर्पदंशबाट घाइते भएकी भरतपुरकी एक महिलालाई केन्द्रमा ल्याइएको थियो । तत्कालीन डाक्टर अशोक यादवले मदिरा सेवन गरेर ती महिलाको उपचार गरेको खुलेको थियो ।
यादवले एन्टी स्नेक भेनम सेरमको भाइल बढी चढाए । आठ घन्टापछि ती महिलाको मृत्यु भएको थियो । पीडित परिवारजनले डाक्टरको लापर्बाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए । त्यसपछि अस्पताल प्रशासनले यादवलाई हटाएको थियो । त्यसयता सर्पदंशको उपचार सेवा बन्द रहँदै आएको छ । केन्द्रका स्वास्थ्यकर्मीले अनुमानका भरमा सर्पदंशका घाइतेको उपचार गर्थे । घाइतेको मृत्यु भएपछि त्यो पनि सेवा बन्द भएको हो ।
गौशालामा सर्पदंशको उपचार सेवा नहुँदा स्थानीयवासी बर्दिबाससम्म पुग्न बाध्य छन् । ‘धनीले एम्बुलेन्समार्फत सर्पदंशका घाइते बर्दिबास पुर्याएर ज्यान जोगाउँछन्’, गौशालाका रामदरेश यादव भन्छन्, ‘हामी गरिबसँग रुपैयाँ हुँदैन । हामीले एम्बुलेन्सबाट बाहिर लान सक्दैनौं । गाउँकै हस्पिटल जानुपर्छ तर उपचार छैन । त्यसो भए गरिब मरिरहने ? ’
महोत्तरीका रामनगर, गौशाला, रजखोर, निगौल, नवराजपुर, सोनमा, भरतपुर, लक्ष्मिनियाँ, बेलगाछी, फुलकाहाँ, सुन्दरपुर, श्रीपुर, कटुधार, सुन्दरपुर, मगरथानलगायत दुई दर्जन ग्रामीण भेगका स्थानीयले गौशालामा विशेषज्ञसहितको सर्पदंश उपचार सेवा तुरुन्त सञ्चालन गर्न माग गरेका छन् । ‘हामीलाई सर्पले टोकेपछि उपचार गर्ने डाक्टर चाहियो’, गौशालाका विनोद यादव भन्छन्, ‘गौशालाको सरकारी अस्पताल नामकै लागि भयो । डाक्टर त छैन ।’
आफ्नो जिल्लादेखि हेटौंडासम्म विशेषज्ञसहितको सर्पदंश उपचार सेवा सञ्चालनको पहल गरे पनि सुनवाइ नभएको स्थानीय राजनीतिकर्मी वीरेन्द्र चौधरीको भनाइ छ ।तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा सर्पदंशको उपचार सेवा बन्द गर्नुपरेको केन्द्रका निमित्त प्रमुख राजकिशोर रायले प्रतिक्रिया दिए । ‘सर्पदंशबाट घाइते भएकाको उपचार गर्न तालिमप्राप्त एमबीबीएस डाक्टर उपलब्ध भयो भने सर्पदंश उपचार सेवा सुरु हुन्छ’, उनले भने ।