पुल नहुँदा भीरबाट जोखिमपूर्ण यात्रा
मकवानपुर : राक्सिराङ-५, बाङ्दिराङकी ५६ वर्षीया विष्णुमाया चेपाङ एक सातायता रुघाखोकीले ग्रस्त छिन् । झारफुककै भरमा रहेकी उनी ४५ मिनेट पैदल दूरीमा पर्ने मनहरीस्थित स्वास्थ्य चौकी पुग्न सकेकी छैनन् ।आँपखोल्सीको काठे पुल पहिरोले बगाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका ३० हजारभन्दा बढी स्थानीयसँग भीरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका बासिन्दासमेत यही बाटो प्रयोग गर्छन् ।
वर्षात्सँगै असारदेखि मनहरी खोलाको बाटो बन्द भएपछि उनीहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । पुलसमेत पहिरोले बगाएपछि त पहरासँग पौंठेजोरी खेल्न बाध्य छन्, स्थानीयवासी । बाङ्दिराङकै धनबहादुर थिङलाई तीन साताअघि अरिंगालले चिलेपछि भरतपुर अस्पताल लगिएको थियो । बाढी र पहिरोका कारण दुई दिनपछि मात्र अस्पताल लगिएका थिङको उतै निधन भयो ।
‘आँपखोल्सीको पुल पहिरोले बगाएपछि हामीले उनको शव गाउँ लैजान सकेनौं, मनहरीमै सदगत गर्नुपर्यो’, छिमेकी चन्द्रमान चेपाङले भने, ‘गरिबीसँगै भूगोलले पनि हामीलाई नै सताएको छ ।’ कैलाश गाउँपालिका वडा नम्बर ३ का ठाकुर तामाङ नाङ्लो र डोको बुनेर मनहरी बजारमा बेच्छन् । तर, पहिरोसँगै भीरको बाटोको यात्रा पनि जोखिमपूर्ण भएपछि उनी बजार झर्न सकेका छैनन् ।
पहिरोले पुल बगाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका ३० हजारभन्दा बढी स्थानीयसँग भीरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन ।
कृष्ण सारू मगर
मनहरी बजार हुँदै जिल्ला सदरमुकाम हेटौंडा जोड्ने उक्त भीरको बाटो अवरुद्ध भएपछि अत्यावश्यकीय सामग्रीसमेत गाउँ लैजान नसकेको राक्सिराङ-५ का सचिव चुननारायण श्रेष्ठले बताए । ‘औषधिलगायत आवश्यक सामग्री लैजान समस्या भएको छ’, उनले भने, ‘ठाउँ-ठाउँमा पहिरो झरिरहने भएकाले जोखिम मोलेरै हिँड्न पनि समस्या छ ।’
वर्षातघि गाउँपालिकाले ६० हजार रुपैयाँ खर्चेर पुल मर्मत गरेको थियो । ‘तत्काल सहज रूपमा हिँड्न मिल्ने गरी अर्को पुल हाल्ने प्रयास भइरहेको छ’, राक्सिराङका अध्यक्ष राजकुमार मल्लले भने, ‘पुल हाल्न मिल्ने ठाउँ नभएकाले विकल्प खोजिरहेका छौं ।’
आँपखोल्सीमा पक्की पुलको टेन्डरपछि निर्माण हुन नसक्दा समस्या आएको हो । जिल्ला समन्वय समितिले एक करोड सात लाख रुपैयाँ खर्चेर पक्की पुल निर्माण गर्न कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । एक वर्षभित्र पुल निर्माण गर्ने गरी ठेकेदारसँग सम्झौता भएको प्रमुख इन्जिनियर सोमराज तिमल्सिनाले जानकारी दिए ।
४२ वर्षमा पनि बनेन सडक
यस क्षेत्रमा पञ्चायतकालदेखि नै सडक निर्माण थाले पनि अहिलेसम्म एक किलोमिटर पनि सम्पन्न हुन सकेको छैन । पैदलमार्गका रूपमा मात्र यो बाटो प्रयोग हुँदै आएको छ । ‘यो खण्डमा हरेक वर्ष लड्ने र मृत्यु हुने घटना नौलो होइन’, कैलाश गाउँपालिकाका प्रशान्त लामाले भने, ‘भारी बोकेर भीरको बाटो हिँड्दा जति खेर पनि ज्यान जान सक्छ ।’
मनहरीबाट चैनपुरसम्म सडक निर्माण कार्य २०३२ सालमा सुरु भएको थियो । हालसम्म उक्त सडक निर्माणमा सरकारले ७० करोड रुपैयाँभन्दा बढी खर्च गरेको स्थानीयको अनुमान छ । राक्सिराङ-५ का वडाध्यक्ष चन्द्रसिं चेपाङले भने, ‘२०५६ सालदेखि सरकारले पनि हरेस खाएर सडक निर्माणमा बजेट छुट्याउन छाडेको थियो ।’ २०६७ सालदेखि पुनः जिल्ला विकास समितिले प्रत्येक वर्ष पाँच-सात लाख रुपैयाँ बजेट छुट्याउँदै आएको उनले सुनाए ।
‘ठाउँ-ठाउँमा चट्टानको पहाड र पहिरो खसिरहने भीरका कारण प्रत्येक वर्ष आउने बजेट मर्मतमै सकिने गरेको थियो’, उनले भने, ‘गाउँपालिकाले यस वर्षदेखि सडक निर्माणको काम थालेका कारण आउँदो वर्षात्मा भने ज्यान हत्केलामा राखेर हिँड्नु नपर्ला कि भन्ने आसमा छौं ।’राक्सिराङ गाउँपालिकाले दसैंभित्र पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी बजारबाट गाउँपालिका केन्द्र चैनपुरसम्म पुग्ने ६ किलोमिटर सडक निर्माणका लागि एक करोड बजेट छुट्याएको थियो । यद्यपि, प्राविधिक कर्मचारी नहुँदा काम अघि बढाउन नसकेको कार्यकारी अधिकृत राजु आचार्यले बताए । ‘प्राविधिक कर्मचारी नहुँदा डीपीआरसमेत तयार गर्न सकेका छैनौं’, उनले भने, ‘मनहरी-चैनपुर पक्की सडक निर्माण नगरेसम्म वर्षात्मा यस्तो समस्या बल्झिरहन्छ ।’