युनिलिभरका २५ वर्ष : मुनाफायोग्य वृद्धिले कम्पनी सबल
काठमाडौं : बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले नेपालमा काम थालेको २५ वर्ष पूरा गरेको छ । यस अवधिमा निरन्तर मुनाफा गर्दै बढेको कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा चार अर्ब ४४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी हो ।युनिलिभर नेपाल लिमिटेडको सञ्चालक समितिले आव २०७३/७४ को वित्तीय विवरण स्वीकृत गर्दै कम्पनीको मुनाफा १३ प्रतिशतको खुद दरले वृद्धि भएको जानकारी गराएको छ । कम्पनीका अनुसार गत आवमा चार अर्ब ४४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले त्यस अवधिमा ९६ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
समग्रमा १३ प्रतिशतले कारोबारमा वृद्धि गरेको कम्पनी मुख्यतया आकारगत वृद्धिमा आधारित छ । झन्डै तीन महिनासम्म कारखानामा भएको तालाबन्दी, गर्मीयामको गैरआगमनले साबुनको बिक्रीमा नकारात्मक प्रभाव र पछिल्ला केही महिनामा स्थानीय निर्वाचनका कारण बजारमा आएको कमीलगायत समस्याका बीच पनि कम्पनीले सफलता हात पारेको हो । कम्पनीका अनुसार यो वृद्धिमा कम्पनीका सबै उत्पादनको हात रहे तापनि विशेषगरी स्किन केयर र हेयर केयरका उत्पादनको ठूलो भूमिका छ ।
गतवर्ष कम्पनीले उच्च मुनाफा हासिल गरी सबल कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ । न्यायिक मूल्यवृद्धि र विद्यमान उत्पादन क्षमताको लाभ उठाउँदै कम्पनी उच्च मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षमा भएको अत्यधिक वृद्धिले गतवर्ष मुनाफा केही कम देखिए पनि अन्य कम्पनीभन्दा उच्च मुनाफा आर्जन गर्ने कम्पनीका रूपमा यसले आफूलाई प्रस्तुत गरेको छ । तीन वर्षको औसत नाफा २० प्रतिशतका तुलनामा गतवर्ष कम्पनीले २४ प्रतिशत खुद नाफा आर्जन गरेको छ । ब्याज, कर र ह्रासकट्टीअघिको नाफा पनि विगत तीन वर्षको ३० प्रतिशतको तुलनामा औसत २० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले गतवर्षजस्तै ‘क्यास जेनरेसन' कायमै राखेको छ ।
कम्पनीले आधुनिक प्रविधि भित्र्याउँदै वितरण पूर्वाधारमा ध्यान केन्द्रित गरेको छ भने ब्रान्ड विस्तारका लागि पर्याप्त लगानी गरेको छ । यसले कम्पनीलाई दिगो वृद्धि हासिल गर्न सहयोग पुर्याएको उल्लेख छ । यसका साथै कम्पनीको सञ्चालक समितिले गतवर्षको नाफाबाट प्रतिसेयर ११ सयका दरले लाभांश दिने घोषणा गरेको छ । सञ्चालनको २५औं वर्ष मनाइरहेको कम्पनीले उक्त अवसरमा आफ्ना सेयरधनीलाई प्रतिसेयर एक सय ७० रुपैयाँ विशेष लाभांश दिन सिफारिससमेत गरेको छ ।
ब्याज, कर र ह्रास कट्टीअघिको नाफा पनि विगत तीन वर्षको ३० प्रतिशतको तुलनामा औसत २० प्रतिशतले वृद्धि भएको छ ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक सुयश चौहानका अनुसार यो मुनाफायोग्य वृद्धिले कम्पनी सबल रहेको पुष्टि भएको छ । चुनौतीपूर्ण अवस्थामा पनि कम्पनीले व्यवसायबाट सन्तोषजनक नाफा आर्जन गर्नु व्यवस्थापकीय सफलता भएको उनको भनाइ छ । कम्पनी आफ्नो व्यवसाय र उत्पादनमार्फत ‘स्वस्थ' र ‘सक्षम' नेपाल निर्माण गर्ने प्रतिबद्ध रहेको उनले बताए ।
नेपालमा कम्पनीले तीव्र खपत हुने वस्तु उत्पादन गरी उपभोक्तामाझ पुर्याउँदै आएको कम्पनीले विश्वस्तरीय सामान उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादनमध्ये डोभ, सनसिल्क, फेयर एन्ड लभ्ली, लक्सलगायत सामग्री विश्वबजारमा ग्राहकमाझ प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो उत्पादन विस्तार गर्नुका साथै संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत हात धुने कार्यक्रम ‘स्कुल अफ ५' सञ्चालन गरेको थियो, जुन चार वर्षमा नेपालका १० प्रतिशत मानिसमा सचेतना पुगिसकेको छ । साथै कम्पनीले सन् २०२० सम्म नेपालमा एक करोड मानिसको स्वास्थ्य तथा जीवनस्तरमा सुधार ल्याउने योजना बनाएको छ ।