अध्यक्ष नै भागेपछि रोकियो शिक्षक नियुक्ति
जाजरकोट : विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू अन्तर्वार्ताको समयमा भागेपछि दुई विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया रोकिएको छ । लिखित परीक्षामा आफूनिकट परीक्षार्थीले कम नम्बर ल्याएपछि अन्तर्वार्ता नगराई दुवै विद्यालयका अध्यक्ष भागेका हुन् ।
छेडागाड नगरपालिका-१२, मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणीनलगाड नगरपालिका-६, पिउलीस्थित जनप्रिय आधारभूत विद्यालयले प्राथमिक तहको राहत शिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएका थिए । तर, अन्तर्वार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि एक महिनादेखि नियुक्ति प्रक्रिया रोकिएको परीक्षार्थीको गुनासो छ ।
शिक्षक पद रिक्त भएको सात महिनाभन्दा बढी भइसकेको र परीक्षा लिएको डेढ महिना हुँदा पनि राजनीतिक दलका नेताको हस्तक्षेपले नियुक्ति प्रक्रिया रोकिएको सरोकारवालाको गुनासो छ । आफ्ना मान्छे परीक्षामा पास नहुने देखेपछि दुवै विद्यालयका अध्यक्षहरू भागेको स्थानीयवासीको दाबी छ ।
चन्द्रज्योतिको शिक्षक पदका लागि अन्तर्वार्तामा छनोट भएका खिमबहादुर खड्काले व्यवस्थापन समितिका अध्यक्ष देवीराम जैसी गायव भएको बताए । ‘साउन ७ गते जिल्ला शिक्षा कार्यालयमै हुने परीक्षाका लागि सुरुमा अन्तर्वार्ता दिने पालो मेरो थियो', उनले भने, ‘मलाई भित्रबाट बोलावट भएपछि ढोकामा पुगेका बेला अध्यक्ष जैसी बाहिर निस्केर बेपत्ता हुनुभयो ।'
त्यही दिन जिल्ला प्रशासन र शिक्षा कार्यालयमा शिक्षक नियुक्ति प्रक्रिया टुंग्याउन निवेदन दिएको बताए । वडाध्यक्ष प्रेमबहादुर खत्रीले निर्वाचनका बेला जागिर लगाइदिन्छु भनेको व्यक्तिलाई शिक्षक बनाउन नियुक्ति प्रक्रिया रोकेको उनको दाबी छ ।
‘दुवै विद्यालयलाई चेतावनीसहितको पत्र लेखिएको छ । बारम्बार अटेर गरे दरबन्दी काट्नेसम्मको कारबाही हुन सक्छ ।'
ललितविक्रम सिंह जिल्ला शिक्षा अधिकारी
अध्यक्ष जैसी र वडाध्यक्ष खत्रीले आफ्नो मान्छेलाई शिक्षक बनाउन खोजेका कारण पठनपाठनमा समस्या परेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । ‘निष्पक्ष परीक्षा गराउन खोज्दा यस्तो अवस्था आयो', प्रधानाध्यापक शाहीले भने । जनप्रियको राहत दरबन्दीको शिक्षक पदका लागि अन्तर्वार्ताकै क्रममा व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर विक भागेपछि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको पीडित मनोद शर्माले बताए । आफूले शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि उजुरी दिए पनि सुनुवाइ नभएको शर्माले बताए । प्रधानाध्यापक शारदा बूढाले व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मान्छे शिक्षक बन्नुपर्ने अडान राखेर परीक्षामा बाधा पुर्याएको बताइन् ।
अस्थायी शिक्षक छनोटमा व्यवस्थापनका अध्यक्ष, प्रधानाध्यापक, विद्यालय निरीक्षक र विषयविज्ञ अन्तर्वार्तामा बस्नुपर्ने प्रावधान छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले दुवै विद्यालयलाई चेतावनीसहितको पत्र लेखेको जानकारी दिँदै बारम्बार अटेर गरे दरबन्दी काट्नेसम्मको कारबाही हुन सक्ने स्पष्ट पारे ।