पालुङमा कृषि विकास बैंकको शाखा
काठमाडौं : कृषि विकास बैंक लिमिटेडले पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उक्त कार्यालयको उद्घाटन गरेका थिए । उक्त कार्यक्रम कृषि विकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक पारसमणि ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुनिक सेवासुविधा तथा बैंकका प्रोडक्टबारे जानकारी गराएका थिए । उनले स्थानीय जनताको सहयोगमा बैंकले निरन्तरता पाए भविष्यमा थप सेवासुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले कृषि विकास बैंकले वित्तीय कारोबारका साथै सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन, देशको आर्थिक विकासमा सहयोग, उद्यमशिलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीको घर आँगनको बैंकको रूपमा रहेको बताए ।