अनेरास्ववियुद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
चितवन : अनेरास्ववियु केन्द्रीय कमिटीले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । अनेरास्ववियुले नेकपा एमालेको राहत कोषमा जम्मा हुने गरी पाँच लाख रुपैयाँ सहयोग गरेको प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।
अनेरास्ववियुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमार्फत चेक हस्तान्तरण गरेको थियो । देश भरिका क्याम्पस तथा जिल्ला कमिटीबाट संकलित रकममध्यबाट अनेरास्ववियुले सहयोग गरेको जनाएको छ ।
अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार प्रभावित क्षेत्र सिराह, सप्तरी, धनुषा, सर्लाही, रौतहट लगायतका जिल्लामा राहतको सामाग्री वितरण गरिएको जानकारी दिए । विभिन्न स्थानमा स्वास्थ शिविर आयोजना गरेको थियो ।
यसैबीच अनेरास्ववियुको आइतबारदेखि सुरु भएको बिस्तारित बैठक जारी रहेको छ । भोलिसम्म सञ्चालन हुने बैठकमा राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय नेतृत्वगरी ४ सय जना उपस्थित रहेका छन् ।