सामान्य झगडामा हम्मरले हानी आफ्नै साथीको हत्या
मेलम्ची : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ पाल्चोकमा दुर्इ जना बीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच गएराति झगडा हुँदा विशाल चौधरीको मृत्यु भएको हो ।
अध्याधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका-७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकामा हान्दा सोही स्थान घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका छन् । प्रहरीले चौधरी र हत्यामा प्रयोग गरिएको हम्मर बरामद गरेको छ ।
शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको र आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । रासस