सम्मेलनमा ब्रिक्सलाई बिस्तार गर्ने चीनको प्रस्ताव
काठमाडौ : चिनिया राष्ट्रपति सी चिन फिङले ब्रिक्सको सहकार्य दोस्रो स्वर्णिम शताब्दीमा प्रवेश गर्ने बताएका छन् ।
चीन जस्तै बिश्वबजारमा आफनो उपस्थिति बढाइरहेका मुलुकहरु मिलेर अगाडि बढेको अवस्थामा कमजोर बृद्धिको चुनौती सामना गर्दै बिश्व शान्तिमा ब्रिक्सले योगदान पुरयाउन सक्ने धारणा राष्ट्रपति सीले व्यक्त गरेका हुन । ब्रिक्सको अध्यक्ष राष्ट्रको हैसियतमा राष्ट्रपति सीले ब्रिक्सको १० बर्ष लामो यात्राको कार्ययोजनाले आकार ग्रहण गरेको बताएका हुन ।
राष्ट्रपति सी ब्रिक्सलाई पाँच वटा सदस्य मुलुक भित्र सीमित राख्न चाहिरहेका छैनन् । अन्य बिकासमा अग्रसर मुलुक, विकासोन्मुख मुलुक र अन्तराष्ट्रिय विकासोन्मुख समूहको अपेक्षालाई पूरा गर्ने दायित्व पनि ब्रिक्सको काँधमा रहेको आत्मबोध राष्ट्रपति सीले गरेका छन् । ब्रिक्सको सहकार्यको लाभलाई विस्तार गरी ब्रिक्स प्लस सहकार्यको ढाँचामा विकास गरी आपसी हितयुक्त काममा लगाउनु पर्नेमा राष्ट्रपति सीले जोड दिएका छन् ।
चीनका उप—बाणिज्यमन्त्री वाङ शौ वनले आइतवार स्या मनमा ब्रिक्स सम्मेलनले आठ वटा आर्थिक तथा व्यापारिक उपलब्धी हासिल गर्ने सम्भावना व्यक्त गरेका छन् । ती उपलब्धीले ब्रिक्सको सहकार्यलाई माथि उठाउने बिश्वास पनि उनले व्यक्त गरेका थिए । ती उपलब्धीले बिक्सको अर्को स्वर्णिम दशकलाई दृढ आधार बनाएर पाँच सदस्य मुलुकलाई अझ घनिष्ट आर्थिक साझेदारी सम्बन्ध निर्माण गर्न र एकीकृत बजार बनाउन योगदान पुरयाउने बिश्वास पनि उनले व्यक्त गरेका छन् ।
बिश्व अर्थतन्त्रको परिस्थिति,बिश्व अर्थतन्त्रको शासन,अन्तराष्ट्रिय तथा क्षेत्रीय समस्याहरु,देशको सुरक्षा र प्रगति माथि सम्मेलनमा छलफल हुनेछ । ब्रिक्स मुलुकको सहकार्यलाई सवल पार्ने,जनस्तरमा ब्रिक्सको लाभ आदान प्रदान गर्ने बिषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।
ब्रिक्स मुलुकका नेताहरुको नवौ शिखर सम्मेलन सोमबारदेखि चीनको फुच्येन प्रान्तको श्यामन शहरमा शुरु भएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा ब्राजिलका राष्ट्रपति मिशेल टेमेर,दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोव जुमा,भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन म्यामन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगेका थिए । उनीहरुलाई चिनिया राष्ट्रपति सीले स्वागत गरेका थिए ।
अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा