नौ वटा मुद्दा लागेका व्यक्ति चुनावमा उम्मेदवार बन्न नपाउने बिधेयक संसदमा पेश
काठमाडौ : प्रतिनिधिसभामा उम्मेदवार हुनका लागि नौ वटा मुद्दा नलागेका व्यक्ति मात्र योग्य हुने प्रावधान राखिएको छ । त्यस्तो प्रावधान राखिएको प्रतिनिधिसभा बिधेयक संसदमा पेश भएको छ । सो बिधेयक पारित भएपछि नौ वटा मध्ये कुनै पनि एउटा मुद्दा लागेका व्यक्तिले प्रतिनिधिसभामा उम्मेदवार बन्न पाउनेछैनन् ।
प्रतिनिधिसभा विधेयकको दफा १३ को (ङ) मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री(वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’, व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान गरिएको छ ।
व्यवस्थापिका संसदमा प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी बिधेयक पेश भएको छ । संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले सोमबार बसेको संसदको दोस्रो बैठकमा ती बिधेयक पेश गरेका हुन ।
बिधेयक पेश गरेपछि आधा घण्टाका लागि स्थगित भएको संसदको तेस्रो बैठकमा सो बिधेयक माथि छलफल हुने सभामुख ओनसरी घर्तीले जानकारी दिइन ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको छ । ती दुवै बिधेयक राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकले पारित गरेको थियो ।
निर्वाचन प्रक्रिया अगाडि बढाउन ती दुवै बिधेयक छिटो पारित गरिदिन निर्वाचन आयोगले सरकारलाई दबाब दिदै आएको थियो । ती बिधेयक संसदबाट पारित भएपछि निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुनेछ ।