भयावह बन्दै चेलिबेटी बेचबिखन

भयावह बन्दै चेलिबेटी बेचबिखन

पोखरा : बसपार्कनजिकै बन्दै गरेको एउटा घरमा ७ जना किशोरीहरु बन्धक भेटिए । उनीहरुलाई मुस्ताङ लैजान लागिएको सुइँको पाएपछि मानवअधिकारवादी संघसंस्थाहरुले उद्धार गरेर अभिभावकको जिम्मा लगाए । महिनाको पाँच हजारको काम लगाइदिने भनेर ती किशोरीलाई एक गाडी चालकले मुस्ताङ पुरयाउन आँटेका थिए ।
धादिङ घर भएकी एक किशोरीलाई रेस्टुरेन्टमा काम मिल्यो । साहुनी नभएको मौकामा साहुजीले उनलाई बलात्कार गरयो । केही दिनपछि रेस्टुरेन्टमा आउने ग्राहकहरुसँग जबरजस्ती सुत्न पठाउन थाल्यो । ती किशोरीले नमानेपछि चोरीको उजुरी गरेर पुलिसलाई बुझायो । यो खबर थाहा पाएपछि महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसीसहितको टोलीले किशोरीलाई अभिभावक कहाँ पुरयाउने व्यवस्था मिलाए ।


जिसीका अनुसार कास्कीमा महिला बेचबिखन तथा ओसारपसारका यी प्रतिनिधि घटना हुन् । उनी भन्छिन्, ‘अवस्था भयावह छ ।’ सानासाना नानीहरुलाई जबरजस्ती यौन व्यापारमा लगाइने थुप्रै उदाहरण कास्कीमा रहेको जिसी बताउँछिन् । ‘डान्स रेस्टुरेन्ट र बारमा मात्रै होइन खाजा खाने ठाउँमा पनि साना नानीहरुलाई यौन पेसा अंगाल्न लगाइएको छ’, उनले भनिन्, ‘कास्की मानव बेचबिखन र ओसारपसारको हब बनेको छ ।’


शक्ति समूहकी अनीशा लामाका अनुसार छिमेकी जिल्लाबाट आएका अभिभावकविहीन, घरेलु हिंसामा परेका किशोरीहरुलाई जबरजस्ती यौन व्यापारमा लगाइएको छ । मानव बेचबिखन भनेर पहिलापहिला भारतीय वेश्यालयमा महिलालाई बेच्ने कुरा मात्रै बुझिने गरेकोमा जबरजस्ती यौन पेसामा लगाउनु पनि मानव बेचबिखन भएको जिसीले प्रष्ट्याइन् । भन्छिन्, ‘हाम्रा चेलिबेटी सुरक्षित छैनन् ।’


जिसीले डान्सबार, मसाज सेन्टर, होटल, रेस्टुरेन्ट र निर्माण क्षेत्रमा काम गर्ने थुप्रै किशोरीहरुलाई जबरजस्ती यौन पेसामा लगाइएको बताइन् । ‘हामीले धेरै ठाउँमा अनुगमन गरेका छौं, सञ्चालकहरुले नै पहिला जागिर दिन्छन् अनि पछि ग्राहक खुसी बनाउन भनेर पठाउँछन् ।’ कार्यस्थलमा हुने हिंसाविरुद्धको कानुनै बनेपनि कार्यान्वयन हुन नसकेको उनले बताइन् । तर अभिभावकविहीन किशोरीहरुले उजुर नगर्ने हुँदा रेकर्डमा मानवबेचबिखनका घटना कमै देखिने गरेको पनि सुनाइन् । उनका अनुसार गएको आर्थिक वर्ष कास्कीमा ती, त्यसअघिको वर्ष पनि तीन र २०७१÷७२ मा १० वटा मानव बेचबिखनका घटना प्रहरी हुँदै अदालत पुगेका थिए ।


इन्सेकका पोखरा संयोजक शिव खकुरेलले मानव बेचबिखनसम्बन्धी घटना अघिल्लो वर्ष आफूहरुको कार्यालयमा १० वटा दर्ता भएको जानकारी दिए । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्था कोपिला नेपालकी बिना सिलवालले किशोरावस्थामै लोभलालचमा बिहे गराएर किशोरीहरुको जीवन बर्बाद पारिएका थुप्रै घटना सार्वजनिक नभएको सुनाइन् । त्यस्ता किशोरीका सन्तान र स्वयं किशोरीहरु नागरिकताबाट बञ्चित हुने गरेको पनि उनले बताइन् ।
‘अबको गन्तव्य : मानव बेचबिखनको अन्त्य’ नारासहित यस वर्षको मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै छ । यस अवसरमा कास्कीमा मंगलबारदेखि एक सातासम्म विभिन्न कार्यक्रम हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.