सिन्धुलीका बालबालिकालाई तरुण दलको सहयोग
सिन्धुलीः नेपाल तरुण दलले सिन्धुलीका बाढीपीडित बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सिन्धुली पुगेर सहयोग गरेका हुन्।
निर्वाचन आचारसंहिताका कारण बाढीपहिरो पीडित बालबालिकालाई प्रत्यक्ष भेटेर सहयोग दिन नमिल्ने भएकाले तरुण दल सिन्धुलीलाई सहयोग रकम हस्तान्तरण गरिएको केन्द्रीय अध्यक्ष बस्नेतले बताए। सोमबार नेपाली कांग्रेस सिन्धुलीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बस्नेतले पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। यसैगरी तरुण दलले महोत्तरीका बाढीपीडितलाई २ लाख नगद सहयोग गरेको छ।
केही साता अघि देशका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि तरुण दलले राहत संकलन गरेको थियो। उक्त संकलित राहत वितरण गर्न तरुण दल अध्यक्ष बस्नेतसहितको केन्द्रीय टोली यतिबेला तराईका विभिन्न जिल्लाहरुमा पुगेको छ।
तरुण दलले राहत सहयोग गर्ने व्यक्तिहरुको नामसमेत सार्वजनिक गरेको छ।