वसन्तपुरमा भैरव देवताको मुखबाट प्रसाद ग्रहण (फोटो फिचर)
काठमाडौं: वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी मनाइने ईन्द्रजात्राको दोस्रो दिन भक्तजनहरुले वसन्तपुरमा भैरव देवताको मुखबाट (छायाग) प्रसादको रुपमा ग्रहनगरेका छन्। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहिआएको छ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।
उक्त दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन 'इन्द्रध्वज पातन' गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
'भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, 'भरण्यां निशि पातयेत्' भनी उल्लेख गरिएको छ' उनले भने।यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।
तस्बिरहरु: सुनिता डगोल