परराष्ट्रमन्त्री महरा भोलि चीन जाने

परराष्ट्रमन्त्री  महरा भोलि चीन जाने

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बुधबार सुरु हुने चीन भ्रमणमा मूलतः बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गत नेपाल-चीन द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा कार्यान्वयन गर्न केन्द्रित हुने भएको छ ।

महरा परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलोपटक उत्तरी छिमेकको यात्रामा जाँदै छन् । महराले बीआरआई अवधारणाको व्यावहारिक कार्यान्वयनका लागि हालसम्म सरकारले चालेका कदमबारे चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वलाई जानकारी गराउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका पालामा वैशाखमा नेपाल बीआरआई अवधारणामा साझेदार बनेको थियो । तत्कालीन अर्थमन्त्री महरा बीआरआई अवधारणामा सदस्य बन्नुपर्ने पक्षमा उभिएका थिए ।

महराले राजधानी बेइजिङमा चीनले आयोजना गरेको पहिलो बीआरआई अवधारणामा नेपालका तर्फबाट सहभागिता जनाएका थिए । त्यसअघि तत्कालीन प्रधानमन्त्री दाहालले चैत दोस्रो साता चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्समक्ष नेपाल बीआरआई अवधारणामा सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए ।

देउवा नेतृत्वको सरकार बीआरआईको कार्यान्वयनमा उत्साहित नदेखिएको चिनियाँ पक्षको बुझाइ रहेको सरकारी अधिकारीले बताए ।‘चिनियाँ नेतृत्वको बीआरआई कार्यान्वयनमा नेपाल कमजोर हुने आशंका निवारण गर्ने प्रयास यो भ्रमणमा हुनेछ । मन्त्री महराले बीआरआईको व्यावहारिक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनुहुनेछ’, एक वरिष्ठ सरकारी अधिकारीले भने ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि महराको भ्रमण बीआरआई कार्यान्वयन सघन बनाउन केन्द्रित रहने बताएका छन् । ‘महराले चिनियाँ विदेशमन्त्री र नेतासँग भेटवार्ता गरी बीआरआईअन्तर्गत व्यावहारिक सहकार्य सघन बनाउनेबारे कुराकानी गर्नुहुनेछ’, चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले भने ।

महरा र चिनियाँ राष्ट्रपति सि जिनपिङ् वा प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता मिलाउन प्रयास भइरहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने चीन भ्रमणबारे पनि महराले छलफल गर्नेछन् । प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा आइसकेको स्रोतले बतायो । महराले चिनियाँ विदेशमन्त्री वाङ्सँग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । चिनियाँ विदेशमन्त्रीले उनलाई दिवाभोज दिनेछन् । महरा चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा सहभागी हुनेछन् ।

मन्त्री महराले चीन भ्रमणबारे प्रधानमन्त्री देउवासँग आइतबार विस्तृत परामर्श गरेका थिए । उनले एक चीन नीतिप्रति पनि प्रतिबद्धता दोहोर्‍याउनेछन् । उनले चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहेको सन्देश चिनियाँ पक्षलाई दिनेछन् । हालैको डोक्लाम संकटमा नेपालले लिएको तटस्थतालाई चीनले सकारात्मक रूपमा लिएको थियो । डोक्लाम संकटमा भारतलाई नेपालले समर्थन गर्नसक्नेमा चीन सशंकित थियो ।

ग्वान्जाओमा महावाणिज्य दूतावास उद्घाटन गर्ने

मन्त्री महराले चीनको ग्वाङडोङ प्रान्तस्थित ग्वान्जाओमा हालै स्थापित नेपाली महावाणिज्य दूतावास भवनको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । महराले हेबेई प्रान्तमा स्थानीय चिनियाँ नेतासँग भेट्नेछन् । महरा सोमबार स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.