उत्तरको मिसाइल परीक्षणविरुद्ध दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
सोल: दक्षिण कोरियाली सेनाले सोमबार जमिनबाट आकाशमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको जनाइएको छ। उत्तर कोरियाले गरिरहेको निरन्तरको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र परीक्षण गरेको हो।
त्यसपछि सोमबार बिहान दक्षिण कोरियाको तर्फबाट यो जवाफी फायरिङका रूपमा ब्यालेस्टिक क्षेत्रप्यास्त्र परीक्षणको कुरा आएको हो । यसअघि भने उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दा दक्षिणले विरोध मात्र गर्ने गरेको थियो।
यसपटक भने दक्षिण कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ। उत्तरको क्षेप्यास्त्रका विरुद्ध दक्षिणले पनि यसरी क्षेप्यास्त्र नै हान्ने यो धेरै लामो समयपछिको घटना हो। दक्षिण कोरियाली राष्ट्रपतिले उत्तरलाई राम्रो सबक सिकाउन र आवश्यक मात्रामा जवाफ दिन यस्तो परीक्षण गरेको बताएका छन्।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षण गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो। उक्त परीक्षण हाइड्रोजन बम मिश्रित रहेको पुष्टि पनि भएको छ। दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दूरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकाशतिर हानेको थियो।
पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरूले सार्वजनिक गरेको भिडियोमा देखिएको छ । भिडियोमा दक्षिण कोरियाको एफ १५ लडाकु विमानले जमिनबाट आकाशमा हानेका क्षेप्यास्त्रका दृश्यहरू देखिएको छ । यसलाई उनीहरूले नै छोटो दूरीको भनी व्याख्या गरेका छन्। लम्बाइ कतिसम्म हो भन्ने बारेमा पनि उनीहरूले उक्त भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन्।
देशको पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष्य बनाइएको थियो। क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएको भन्दै समाचारमा उल्लेख छ।
आइतबार मात्रै उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरूले आइतबार बिहानदेखि सम्प्रेषण गरेका थिए। ती समाचारमा यो घटनाबाट संसारमा ठूलो हलचल पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रूपमा पनि टिप्पणी गरेका थिए । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए। केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो।
जापानको समुद्रसम्म पुगेर उक्त क्षेप्यास्त्र निस्तेज भई खसेको थियो । दक्षिण कोरियाले सोमबार गरेको परीक्षण पनि उत्तरको परीक्षणस्थलसम्म लक्ष्य गरिएको पाइएको छ। जसका कारण यी दुवै परीक्षणले आपसमा लक्षित गरेको देखिन्छ। यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दक्षिण कोरियाले कडाभन्दा कडा सजाय दिने चेतावनी दिएका थिए।
उनले आइतबार उत्तर कोरियाले गरेको परीक्षणको लगत्तै गरेका कैयौँ ट्विटमा भनेका छन्, ‘दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर दक्षिण कोरियाले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो।' —एजेन्सी