दसैलाई मुस्ताङबाट २० हजार भेडाच्यांग्रा
बेनी: दसैतिहारलाई लक्ष्य गरी यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट २० हजारभन्दा बढी भेडाच्यांग्रा ल्याइने भएको छ। भदौ १५ देखि उपल्लो मुस्ताङ सीमाक्षेत्रका स्थानीय र तिब्बतका व्यापारीबीच कोरला नाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ । मेलामा दसैतिहारलाई लक्ष्य गरी भेडा खरिदबिक्री भइरहेको छ।
व्यापार मेला र नेपाली किसानबाट गरी नेपाली व्यापारीले १५ हजार रुपैयाँको हाराहारीमा भेडा खरिद गर्ने अनुमान गरिएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका योजना अधिकृत आइतबहादुर थकालीले जानकारी दिए। पाँच हजार रुपैयाँको हाराहारीमा च्यांग्रा ल्याइने उनले बताए।
‘मेला केही दिनमा सकिँदै छ, तर अहिलेसम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साहजनक छ', उनले भने, ‘गतवर्ष सीमाक्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यस वर्ष २० हजार भेडाच्यांग्रा बजारमा जाने अनुमान छ।' कार्यालयको तथ्यांकअनुसार गतवर्ष १३ हजार भेडा र आठ हजार ४५ च्यांग्रा मुस्ताङबाट बाहिरिएका थिए।
त्यसबाट मुस्ताङका किसानले २७ करोड रुपैयाँको कारोबार गरेका थिए। चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमाक्षेत्रका किसानले पालेका भेडाच्यांग्राले केही पूर्ति गर्दै आएको छ । विगतका वर्षमा जेठअसारमै सीमाक्षेत्रका किसानले तिब्बतका किसानबाट ल्याएर पालेका भेडा नै बजारमा आउने गरेका थिए।
यस वर्ष भेडा तिब्बतको र च्यांग्रा नेपाली उत्पादन हुने पशु सेवा कार्यालयले जनाएको छ। भेडाच्यांग्रा खरिदका लागि धौलागिरिसहित पोखरा र काठमाडौंबाट व्यापारी सीमाक्षेत्र पुगेका छन्। उनीहरूले स्थानीय किसान तथा व्यापारीबाट च्यांग्रा खरिद गरी बजार ल्याउने गरेका छन्। उनीहरूले सीधै तिब्बती व्यापारीबाट भेडा किन्दैनन्। गतवर्ष बजारमा आएका सबै च्यांग्रा नेपाली किसानले पालेका हुन्। ‘तिब्बतबाट भेडा आउने हो, च्यांग्रा नेपाली किसानले तयार पार्छन्', योजना अधिकृत थकालीले भने।
मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, चराङ, कागबेनी, झोङ, घमीलगायत क्षेत्रका किसानले पालेका च्यांग्रा बजारमा आउने बताइएको छ। सरकारले चराङमा च्यांग्राको व्यावसायिक उत्पादनका लागि च्यांग्रा स्रोत केन्द्र स्थापनाको तयारी गरिरहेको छ।
दसैं सिजनमा मुस्ताङ हँुदै आउने ६० प्रतिशत भेडाच्यांग्रा काठमाडौँ, पोखरा र चितवनमा खपत हुन्छ। बाँकी मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ जिल्लामा बिक्री हुने व्यवसायीले जानकारी दिएका छन्।