नगरपालिका केन्द्र पुग्नै दुई दिन
सन्धिखर्क : रक्तस्राव भएपछि नौ दिनको सुत्केरी शीतगंगा-७, जलुकेकी ३५ वर्षीया मनिसरा राउतलाई दुई घन्टा डाडीमा बोकी प्युठानको दर्बाङ पुर्याएर उपचार गर्नुपर्यो । शीतगंगा नगरपालिकाको केन्द्र ठाडा पुग्न पैदल दुई दिनजति लाग्छ ।
ठाडाको प्राथमिक स्वास्थ्य केन्द्रभन्दा दर्बाङ नजिक पर्ने भएपछि परिवारजनले बिरामीलाई त्यतै लैजाने निर्णय गरेका हुन् । त्यसका लागि बिरामी बोक्न स्टे«चरसमेत उपलब्ध भएन । डाडीमा बोकेर उपचार गर्न लगेको बुबा पीताम्वर राउतले जानकारी दिए । ‘नजिकमा स्वास्थ्य चौकी नहुँदा समस्या भयो’, उनले भने, ‘सबैभन्दा पहिले यातायातको व्यवस्थासहित जनतालाई उपचार दिने कार्यमा जनप्रतिनिधि लाग्नुपर्छ ।’
जलुकेको राप्ती वारि लामाताल र पारि प्युठान पर्छ । खोला बढेका बेला झोलुंगे पुल तरेर पनि पारि जान गाह्रो हुने उनले बताए । चिकित्सक र बाटो अभावले उपचारमा समस्या झेल्नुपरिरहेको उनले सुनाए ।
मनिसरा मात्र होइन, उनीजस्ता सयौं महिलाको हालत उस्तै छ । कैयौं महिला, बालबालिका तथा वृद्धवृद्धाले उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । यहाँबाट भालुवाङ नजिक पर्छ तर सडक सञ्जाल नजोडिएका कारण त्यता जान समस्या छ ।
‘यहाँ न यातायातको पहुँच न त नजिक मेडिकल नै छ । स्वास्थ्य चौकी र अस्पताल त धेरै टाढाको कुरा भयो ।तारापति बीसी, सिमलपानीवासी
सडक यातायातको पहुँच नहुँदा यहाँका बिरामीले सहज रूपमा उपचार पाउन नसकेको समाजसेवी पीताम्वर सारूले बताए । ‘ससानो रोगको पनि उपचार हुँदैन’, उनले भने, ‘यस्तो विकट क्षेत्र छ बिरामी तथा सुत्केरीलाई स्वास्थ्य संस्था लैजान डोलीमा बोक्नुपर्छ, जहाँ स्टे«चर पनि छैन ।’
जलुकेमा मात्र होइन, नगरपालिकाका सिद्धारा, सिमलपानीलगायत क्षेत्रका बासिन्दा स्वास्थ्य संस्था तथा यातायात अभावमा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् ।
‘यस क्षेत्रमा न यातायातको पहुँच न त नजिक मेडिकल नै छ’, सिमलपानीका तारापति बीसीले भने, ‘स्वास्थ्य चौकी र अस्पताल त धेरै टाढाको कुरा भयो ।’साविकको सिमलपानी गाविस अहिले नगरपालिकाका १३ र १४ नम्बर वडामा बाँडिएका छन, यहाँ प्रसूति सेवासहितको स्वास्थ्य चौकी छ । तर, यातायात समस्याले सेवा लिन आउने जनता कम रहेको उनले बताए । उनका अनुसार स्वास्थ्य संस्था पुग्न सिमलपानीको करेचुलीबाट ६ देखि सात घन्टा पैदल हिँड्नुपर्छ । स्वास्थ्य चौकी जानुभन्दा घरेलु उपचारै गरे छिटो हुन्छ भन्ने धारणा रहेको उनको भनाइ छ ।
स्वास्थ्य संस्था जान टाढा भएपछि स्थानीयवासी घरेलु उपचार गर्नुपर्ने बाध्यतामा छन् । यातायात सुविधा र व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयैाँ बिरामीले अकालमै ज्यान गुमाउनुपरेको सिद्धाराका माधवप्रसाद पौडेलले बताए । ‘साँझ, बिहान र राति दुर्घटनामा परे तत्काल उपचार पाउन सकिँदैन’, उनले भने ।
शीतगंगाका मेयर सूर्यप्रसाद अधिकारीले भूगोलले ठगेको उल्लेख गरे । ‘सबै क्षेत्रमा सडक यातायात पुर्याउने गरी योजना बनाउँदै छु’, मेयर अधिकारीले भने, ‘यातायात अभावमा कोही पनि उपचारबाट वञ्चित नहुने गरी काम गर्दै छु ।’
शिक्षामा पनि दूरावस्था
स्वास्थ्यमा मात्र होइन, शिक्षाको पनि उस्तै समस्या छ । यहाँका बालबालिका चार घन्टा पैदल हिँडेर विद्यालय जान्छन् । सिद्धाराका सयौं बालबालिका अझै विद्यालयको पहुँचबाहिर छन् । केही बालबालिका विद्यालय नआउने, विद्यालय आउनेहरू पनि नियमित नरहेको जनजागृति मावि व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले बताए । विकट क्षेत्र भएका कारण समय-समयमा घुम्ती शिविर लगेर सदरमुकामबाट दिने सेवा प्रदान गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए । विकट क्षेत्रका समस्या समाधान गर्न सबै लाग्न जरुरी रहेको उनको भनाइ छ ।