रसुवामा स्याउ उत्पादन घट्यो

रसुवामा स्याउ उत्पादन घट्यो

नुवाकोट: किसानको आकर्षण बढे पनि रसुवामा यस वर्ष असिनाका कारण स्याउ उत्पादनमा कमी आएको छ। यससँगै भूकम्पपछि स्याउ खेतीमा लागेका किसान निरास भएका छन्। रसुवामा यस वर्ष असिनाले स्याउको फूल झारेकाले उत्पादन घटेको किसानको भनाइ छ। स्याउ फुल्ने समयमा पानी नपरेको र रोग लागेका कारण स्याउ उत्पादन घटेको कृषि प्राविधिकहरू बताउँछन्।

रसुवाको उत्तरपश्चिमी क्षेत्रको पार्वतीकुण्ड र उत्तरपूर्वी भेगको गोसाइँकुण्ड गाउँपालिकामा विशेषगरी स्याउ उत्पादन हुने गरेको छ। गाउँपालिकाको ब्राबल, ठूलोस्याफ्रु, बृद्धिम, टिमुरे, गोल्जुङ, हाकु, गत्लाङ, लाङटाङ र चिलिमेको एक सय २३ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ।

गत वर्ष जिल्लामा ६ सय ३९ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। यस वर्ष करिब साढे चार सय मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ।

जिल्लामा व्यावसायिक स्याउ खेतीतर्फ किसान आकर्षित हुन थालेपछि कार्यालयले स्याउका बिरुवा वितरण, पुराना बोटको काँटछाँट गर्ने र उपचार गर्ने कार्य थालेको छ। जिल्लामा स्याउको फेरि उत्थान गर्न कार्यालयबाट अगुवा किसानलाई बगैंचा व्यवस्थापनसम्बन्धी तालिम दिने, बिरुवा वितरण, उपचारलगायत कार्य गरिरहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हुमागाईंले बताए।

जिल्लामा हाल कास्मिरी, गोल्डेन र असारे जातका स्याउको खेती गरिएको छ। गतवर्षको तुलनामा यो वर्ष स्याउ खेती गर्ने किसानको संख्या बढे पनि स्याउ फुल्ने समयमा पानी बढी पर्नुका साथै असिना परेका कारण उत्पादन घटेको तीन वर्षदेखि ब्राबलमा स्याउ टिपेर स्थानीय बजारमा बिक्री गर्दै आएको गोसाइँकुण्ड गाउँपालिका-५ ब्राबलका थारक्याप तामाङले जानकारी दिए।

‘गत वर्ष गाउँबाट नौ सय किलोग्राम स्याउ बिक्री भएको थियो, यो वर्ष तीन सय ५० किलो स्याउ मात्र उत्पादन भएको छ', उनले भने। पानी र असिनाका कारण मात्र होइन, जंगली जनावर र स्याउ चोरी हुने भएकाले पनि उत्पादन घटेको छ।

वन तथा निकुञ्ज क्षेत्रमा जंगलको संरक्षण गर्दै जाँदा जंगली जनावरको वृद्धि भएको छ। रोपिएका स्याउका बिरुवा मृगले खाएर क्षति पुर्‍याउने गरेको गोल्जुङका किसान मिलन तामाङले बताए। ‘घरभन्दा केही माथि लगाइएका स्याउ चोरले चोरेर हैरान बनाएका छन्', उनले भने, ‘यो वर्ष दुई हजार किलो स्याउ उत्पादन हुन्थ्यो। मृग र चोरले स्याउ सखाप पारेपछि एक हजार दुई सय किलो मात्र स्याउ बिक्री गर्न सकियो।'

स्याउ उत्पादन घटेपछि जिल्लामा स्याउको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको ब्राबलका उनले बताए। गतवर्ष प्रतिकिलो ६० रुपैयाँमा स्याउ खरिद गरेका तामाङले यो वर्ष ७० रुपैयाँमा स्याउ खरिद गरेका छन्।

जिल्लामा मागअनुसार स्याउ उत्पादन हुन नसकेकाले बजारको समस्या नभएको गोल्जुङका कृषक फुर्वाग्याल्बो घलेको भनाइ छ। ‘जिल्लामा सीमित क्षेत्रमा स्याउ उत्पादन हुन्छ, त्यो स्थानीय बजारमै बिक्री हुन्छ', उनले भने।

जिल्लामा खेतीका लागि उपयुक्त हावापानी नभएका कारण पनि स्याउ उत्पादन नबढेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ। ‘राम्रो स्याउ फल्न ७१ घन्टा हिउँ आवश्यक पर्छ। तर यस क्षेत्रमा हिउँ कम पर्ने र पानी बढी पर्ने कारण उत्पादन बढ्न सकेको छैन', वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.