‘दिसा लुकाउने' अन्तिम कसरतमा मध्यपश्चिम

‘दिसा लुकाउने' अन्तिम कसरतमा मध्यपश्चिम

सुर्खेत: मध्यपश्चिममा खुला स्थानको दिसा लुकाउने अन्तिम कसरत भइरहेको छ। आउँदो कात्तिकभित्रै मध्यपश्चिमका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी छ । त्यसका लागि यस क्षेत्रका बासिन्दा हिजोआज घरघरमा शौचालय निर्माण र त्यसको प्रयोगमा जुटेका हुन्।

 

यस क्षेत्रका अधिकांश जिल्ला यसअघि नै खुला दिसामुक्त भइसकेका छन्। अब हुम्ला, डोल्पा, मुगु र बाँकेलाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ। यी जिल्लाका बासिन्दा पनि दिसा लुकाउन भन्दै पछिल्ला दिनमा घरघरमा शौचालय निर्माण गर्ने काममा जुटेका छन्। आउँदो कात्तिकभित्रै यी जिल्लामा पनि खुला स्थानको दिसा लुकाइसक्ने तयारी छ। त्यसपछि मध्यपश्चिम क्षेत्रका कुनै पनि जिल्लामा खुला स्थानमा दिसा नदेखिने सरकारी दाबी छ।

यस क्षेत्रका खुला दिसामुक्त घोषणा नभएका जिल्लामा सर्वसाधारण दिसा लुकाउने भन्दै धमाधम शौचालय बनाउने काममा व्यस्त छन्। मध्यपश्चिममा सरसफाइ अभियानको नेतृत्व गर्दै आइरहेको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका अनुसार अब यस क्षेत्रका चार जिल्लामात्र खुला दिसामुक्त घोषणा हुन बाँकी छन्। हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पा घोषणाका लागि अन्तिम चरणमा छन्।

यी जिल्लामा अनुगमन गरिएको र सबैको घरमा शौचालय निर्माण भइसकेकाले असोजसम्म खुला दिसामुक्त हुने कार्यालयले जानकारी दिएको छ। यस्तै बाँकेमा भने अझैं १० प्रतिशत घरमा शौचालय बन्न बाँकी छ। बाढी र डुबानका कारण बाँकेमा केही कठिनाइ भए पनि कात्तिकसम्म यो जिल्लामा पनि खुला स्थानको दिसा लुकाइने दाबी गरिएको छ।

‘यस क्षेत्रका ११ जिल्ला खुला दिसामुक्त घोषणा भइसके, अब कात्तिकभित्रै बाँकी चार जिल्लालाई पनि घोषणा गर्दैछौं', सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसेनले भने, ‘सबै जिल्लामा शौचालयको प्रयोग बढेको छ, खुला स्थानमा दिसा देखिन पनि छोडेको छ। हामी अन्तिम तयारीमा जुटेका छौं, अब कात्तिकपछि यो क्षेत्रमा खुला स्थानमा दिसा देखिने छैन।'

भौतिक विकासमा पछाडि परेको मध्यपश्चिममा सरसफाइको अवस्था पनि कमजोर छ। जसका कारण बर्सेनि यस क्षेत्रका विभिन्न जिल्लामा झाडापखालाको महामारी फैलिने गरेको छ। विगत केही वर्षदेखि सञ्चालन भएको सरसफाइ अभियानअन्तर्गत अधिकांश परिवारले घरमा शौचालय निर्माण गरेका छन्। शौचालयको निर्माण र प्रयोगको दर बढेका कारण यही वर्षभित्र मध्यपश्चिमलाई खुला दिसामुक्त गर्न सम्भव हुने हुसेनले बताए।

सरसफाइ अभियानले शौचालयको प्रयोगमा वृद्धि र साबुनपानीले हात धुने बानीको विकास भएको छ। दिसा लुकाउने अभियानमा विभिन्न गैरसरकारी संस्थाले पनि हातेमालो गरिरहेका छन्। यसअघि खुला दिसामुक्त घोषणा भइसकेका जिल्लामा अब पूर्णसरसफाइ अभियान सञ्चालनको तयारी भइरहेको छ। यसअन्तर्गत धुवाँरहित चलो, भान्सा र आँगनको सरसफाइ र साबुनपानीले हात धुने बानीको विकासलगायतका क्रियाकलाप सञ्चालन हुन्छन् ।

खुला दिसामुक्त अभियान अन्तिम चरणमा पुगेको भन्दै सरोकारवालाले अब यस क्षेत्रमा सार्वजनिक शौचालय निर्माणमा जोड दिएका छन्। घरमा शौचालय निर्माण भए पनि मानिसको भीडभाड हुने र सार्वजनिक स्थलमा शौचालय नहुँदा अभियानमा चुनौती थपिएको छ। यसका लागि सार्वजनिक शौचालय निर्माणमा प्राथमिकता दिने क्षेत्रीय अनुगमन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यसअघि खुला दिसामुक्त भएको सुर्खेतमा अहिले सार्वजनिक शौचालयको निर्माण गर्ने काम भइरहेको छ। सिनियर डिभिजनल इन्जिनियर हुसेनका अनुसार सुर्खेतमा एक सय ६८ वटा सार्वजनिक शौचालय आवश्यक छन्। त्यसमध्ये वीरेन्द्रनगरको खुलामञ्च, हटियालाइन, बसपार्क र हर्रेमा शौचालय निर्माण भएका छन् । अब जिल्लाका अन्य सार्वजनिक स्थलमा पनि सार्वजनिक शौचालय निर्माण गर्ने उनले जानकारी दिए।

शौचालयमात्र निर्माण गरेर नहुने भन्दै उनले पर्याप्त पानीको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले बजेट बढी आवश्यक पर्ने उनको भनाइ छ । यसका लागि दातासँग समन्वय भइरहेको भन्दै उनले अबको पाँच वर्षभित्र सार्वजनिक स्थलमा शौचालय निर्माण गरिसक्ने योजना सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.