स्टिमर नचल्दा चाडपर्वको चिन्ता
स्याङ्जा: आँधीमुहानबाट सेतीवेणीसम्मको जलयातायात (स्टिमर) सेवा अवरुद्ध हुँदा स्थानीयवासी चाडपर्वका लागि चिन्तित देखिएका छन्। कालीगण्डकी ‘ए' जलविद्युत् आयोजना निर्माणक्रममा बनेको कृत्रिम जलाशयमा सञ्चालित स्टिमर सेवा अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती बेहोर्नुपरिरहेको छ। चाडपर्वका बेला झनै बढी सास्ती भोग्नुपर्ने देखिएको छ।
स्याङ्जा, पर्वत र गुल्मीका साविकका दुई दर्जन गाविसवासीलाई सेवा उपलब्ध गराउँदै आएको स्टिमर सञ्चालन वर्षासँगै अवरुद्ध बनेको हो। जेठको दोस्रो सातादेखि असोजसम्म स्टिमर सेवा बन्द हुने गरेको छ। नदीमा पानीको बहाव बढ्दा जलाशय भरिने भएकाले स्टिमर सञ्चालन जोखिमपूर्ण हुने भएपछि बन्द गर्नुपरेको शालिग्राम—कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम बोटे बताउँछन्।
ग्रामीण भेगका बासिन्दालाई राहत पुर्याउँदै आएको स्टिमर सेवा बन्द भएपछि तीनै जिल्लाका सयौं स्थानीय मर्कामा परेका छन्। चाडपर्वका समयमा पनि स्टिमर सेवा सञ्चालन नहुँदा मर्कामा परेको कालीगण्डकी गाउँपालिकाकी तुलसा पाण्डे बताउँछिन्। चाडपर्वका बेला सामान ढुवानी गर्नुपर्ने भएकाले खर्च बढ्ने स्थानीयवासीको चिन्ता छ।
स्थानीयवासीले अहिले ग्रामीण सडकबाट लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ । जिप तथा अन्य सवारी साधन गुड्न नसक्दा पैदल यात्रासमेत गर्नुपर्छ। ४५ मिनेटमा सेतीवेणी बजार पुग्न सकिनेमा स्टिमर सेवा अवरुद्ध भएपछि दिनभर यात्रा गर्नुपरिरहेको छ।
ठाउँ-ठाउँमा पहिरोका कारण यात्रुलाई सास्ती हुने गरेको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हीरामणि पाण्डे बताउँछन् । उनका अनुसार स्टिमर सञ्चालन हुँदा स्याङ्जा, गुल्मी र पर्वतका ४-५ सय व्यक्तिले सेवा लिने गरेका छन् । दैनिक दुई-तीन टन सामान ढुवानी हुने गरेको छ । स्टिमर प्रयोगबापत ४५ मिनेट यात्रामा एकजनाले सय रुपैयाँ र सामानको प्रतिकिलो एक रुपैयाँ शुल्क लाग्छ । यो रकम गाडीको तुलनामा निकै सस्तो हो।
काठका ठूला तथा मझौला डुंगामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो । कृष्णगण्डकीका नारायण भट्टराई ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हँदा स्टिमर सेवा वरदान बनेको बताउँछन् । यद्यपि, चाडपर्वका समयमा स्टिमर सञ्चालनमा आउन नसक्दा खर्च बढ्ने उनको भनाइ छ ।
झन्डै दुई दशकयता १० वटा साना-ठूला स्टिमर सञ्चालनमा छन्। सानो स्टिमरमा ५५ देखि ६० र ठूलामा ९० देखि १०० यात्रु अट्छन्।