सडकले भित्र्यायो गाउँमा समृद्धि
सौतामारे (प्युठान) - झिमरुक गाउँपालिका-१, बांगेमरोठ सौतामारेका पदमप्रसाद खनाललाई २० वर्षअघि पत्थरकोटबाट नुन ल्याउन एक साता लाग्थ्यो । हिजोआज घर अगाडि नै गाडी गुडिरहेको देख्दा उनी दंग छन् । जिल्लाकै फराकिलो मोटरबाटो घर अगाडिबाटै निर्माण भएपछि उनले विकासको अनूभूति गरेका छन् ।
‘कुनै बेला नुन किन्न हिँडेरै पत्थरकोट गयौं’, ५५ वर्षीय खनाल भन्छन्, ‘हिजोआज घर अगाडिबाटै गाडी गुड्छ ।’ उनलाई घरमै बसी-बसी संसार देख्न पाएजस्तो अनूभूति भइरहेको छ । ‘बाटो खुलेपछि सबै कुराको विकास भयो’, उनी भन्छन्, ‘केही कुराको पनि अभाव भएजस्तो लाग्दैन ।’
उनका अनुसार तीन जिल्ला जोड्ने सडकको ट्र्याक २०५४ सालमा खुलेको थियो । त्यसको एक वर्षपछि त गाउँमा गाडी चल्न थाल्यो । बाटो खुलेपछि गाउँमा विकासका अन्य पूर्वाधारको विकाससमेत भएको स्थानीयले बताएका छन् ।
प्युठान, गुल्मी र अर्घाखाँचीको पुछारमा पर्ने सौतामारे बस्ती सडक सञ्जाल विस्तारसँगै विकासतर्फ उन्मुख भएको हो । सालझन्डी-ढोरपाटन सडकको मध्यबिन्दुमा पर्ने भएकाले सौतामारे विकसित गाउँका रूपमा अघि बढ्दै गएको स्थानीय काशीराम विक बताउँछन् ।
अहिले दुई लेन सडक विस्तार भएको छ । स्तरोन्नतिका क्रममा रहेको उक्त सडक कालोपत्रेको तयारीमा हुँदै छ । ‘गाउँलेहरू मिली कोदालोले खनेर गाउँमा बाटो ल्याएका थियौं’, स्थानीय ७१ वर्षीय हीराबहादुर जीसी भन्छन्, ‘अहिले यति ठूलो सडक देख्न पाएका छौं ।’
सडकसँगै बजार विस्तार भएपछि घरघडेरीको कारोबारमा पनि वृद्धि भएको छ । ‘गाउँको मुहार फेरिँदै गएको छ’, उनी भन्छन्, ‘गाउँलेले पैसा उठाएर बाटो ल्याएका थियौं । अहिले सबै सुविधा गाउँमै आयो ।’
प्युठान, गुल्मी र अर्घाखाँचीको पुछारमा पर्ने सौतामारे बस्ती सडक सञ्जाल विस्तारसँगै विकासतर्फ उन्मुख भएको हो ।
प्युठानको व्यापारिक केन्द्रहरू बाग्दुला, बिजुवारसहित अर्घाखाँची सदरमुकाम सन्धिखर्क, गुल्मीको तम्घास र बुटवलका लागि यही सडक भएर सवारी साधन चल्छन् । गाउँमा सहायक सडक पनि छन् । दोबाटा-गहतेरा-फुर्सेधारा, सौतामारे-लाँकुरीरुख-तालेघर-भुजेलवास-म्यालपानी-अर्घाखाँची, गर्तङफेदी-नेक्रेसी खोला, बिडडाँडा-अर्घाखाँची र मच्छी-सौतामारे-पुर्कोटदह (गुल्मी) सडकले गाउँका सबै बस्तीलाई छोएको छ ।
‘सौतामारेलाई पर्यटकीय गाउँका रूपमा अघि बढाउने सोच छ’, वडा नम्बर १ का अध्यक्ष ध्रुवराज खनाल भन्छन्, ‘ग्रामीण पर्यटनको राम्रो सम्भावना छ ।’ यहाँका बासिन्दाले स्थानीय उत्पादनमा जोड दिई त्यसलाई जीवनस्तर उकास्नमा प्रयोग गर्नुपर्ने उनको ठम्याइ छ । उनका अनुसार पर्यटकका लागि सामुदायिक आवाससमेत निर्माण भएको छ । पर्यटकबाट शुल्क लिएर आवासमा खाने, बस्ने र मनोरञ्जनको व्यवस्था मिलाउने योजना रहेको उनी सुनाउँछन् ।
जिल्लामै उत्पादित जलविद्युत २७ वर्षपछि गाउँमा पुगेको छ । ‘कुनै बेला दुर्गमको गाउँ अहिले सुगम भएको छ’, समाजसेवी क्याप्टेन रामबहादुर जीसी भन्छन्, ‘बाटोका कारण धेरै कुराको विकास भएको हो ।’
सौतामारेका स्थानीय एवं एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा विद्युत् विस्तार र सडक स्तरोन्नतिका लागि पहल गरेको बताउँछन् । ‘सबै विकासलाई गाउँलेको आयआर्जनसँग जोड्ने गरी अगाडि बढ्नुपर्ने देखिन्छ’, उनी भन्छन्, ‘किसानले उत्पादन गरेका सामग्री ढुवानी गर्न समस्या छैन । उत्पादनका हिसाबले पनि गाउँमा धेरै कुराको सम्भावना छ ।’