राजपाले टुंग्यायो महोत्तरीमा उम्मेदवार
गौशाला: निकै रस्साकस्सी पश्चात् राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन सफल भएको छ।
सो पार्टीका नेता सुदीप झाका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुखमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको छ।
त्यस्तै, बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको जनाइएको छ।
यसैगरी, सो पार्टीले जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरेको नेता झाले बताए।
राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेकाले बर्दिबासको उम्मेदवार अहिलेसम्म टुंगो लगाउन नसकिएको नेता झाले बताए।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख/अध्यक्षको नाम टुंगो लगाएको छ भने उपप्रमुख÷उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम मगलबार टुंगो लगाउने योजना रहेको नेता झाले बताए। रासस