दोक्लाम विवादपछि चीनसँग फलदायी छलफल भएको मोदीको स्पष्टोक्ति
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानको सीमा दोक्लाममा चीन र भारतका सैनिकको उपस्थितिले उत्पन्न गराएको तनावपछि चिनियाँ राष्ट्रपति सी चिन फिङसँगको भेटवार्ता फलदायी भएको प्रतिक्रिया दिएका छन् । चीनको दक्षिणपूर्वी सहर स्यामनमा राष्ट्रपति सीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले मंगलबार यो टवीट गरेका हुन्। म्यानमार प्रस्थान गर्नु अघि मोदीले भारत र चीनको दुई पक्षीय हितमा फलदायी छलफल भएको प्रतिक्रिया दिएका छन्।
Met President Xi Jinping. We held fruitful talks on bilateral relations between India and China. pic.twitter.com/hbKRPpRwyl
— Narendra Modi (@narendramodi) September 5, 2017
चिनियाँ राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको स्यामनमा भएको भेटवार्तालाई भुटानको सीमा क्षेत्रस्थित दोक्लाममा भारत र चीनका सैनिक उपस्थितिले उत्पन्न गराएको तनावपूर्ण सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ ।
सो भेटलाई विश्लेषकले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । दोक्लाम विवादपछि राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच चीनको दक्षिणपूर्वी सहर स्यामनमा ब्रिक्सको नवौ शिखर सम्मेलनपछि पहिलो पटक भेटवार्ता भएको हो ।
भेटमा चिनियाँ राष्ट्रपति सीले चीन र भारत सम्बन्ध स्थिर, स्वस्थ र बिश्वासमा आधारित हुनु पर्नेमा जोड दिएका छन् । चीन र भारतका नागरिकको चाहना पनि यही रहेको राष्ट्रपति सीले बताए । चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अन्य विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध विकास गर्ने र सँगै मिलेर काम गर्न चाहेको पनि राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदी समक्ष बताएको समाचारमा जनाइएको छ ।
दुवै मुलुकले आपसी एवं पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नु पर्ने र यसले दुई देशबीच सहयोग अभिवृद्धि र आपसी हितको विकास गर्नेमा राष्ट्रपति सीले जोड दिएका थिए ।
राष्ट्रपति सीसँगको भेटपछि प्रधानमन्त्री मोदी म्यानमार प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले चीनसँग मिलेर आपसी सम्बन्धलाई स्थिर रुपमा विकास गर्न भारत इच्छुक रहेको र दुई मुलुक वीच राजनैतिक विश्वास,वस्तुगत सहयोग,मानवीय आदान प्रदानलाई बढाएर सीमा क्षेत्रको शान्ति तथा सुरक्षाको संयुक्त संरक्षण गर्नु पर्ने बताएको चिनिया सञ्चार माध्यमले जनाएका छन् । अन्तराष्ट्रिय मामिलामा चीनसँगको सम्पर्कलाई प्रबद्र्धन गर्ने आशा पनि मोदीले भेटमा व्यक्त गरेका थिए।
रासस र अन्य अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा