मधेसमा गठबन्धन प्रयास असफल
काठमाडौं : दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका कतिपय दल पनि दुई नम्बर प्रदेशको चुनावमा भने एक्लै लड्ने तयारी गरेपछि चुनावी गठबन्धन असफल बनेको हो।
२ असोजमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयन गर्ने कार्यक्रम छ । मंगलबार बेलुकीसम्म कतिपय स्थानमा दलहरूले गरेको तालमेल प्रयास सफल नभएपछि त्यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी भनेका कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दल संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिक एक्लै चुनावी मैदानमा भिड्न लागेका हुन् ।
१३६ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म कांग्रेस-माओवादी केन्द्रबीच चारवटा स्थानीय तहमा मात्रै चुनावी तालमेल भएको छ । अन्य स्थानमा भने कुनै पनि दलले चुनावी गठबन्धन बनाएका छैनन् । कांग्रेस-माओवादीबीच मंगलबार धनुषाको मिथिला नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, लालबन्दीमा मेयर माओवादी, उपमेयर कांग्रेस, निजगढमा मेयर कांग्रेस, उपमेयर माओवादी तथा जितपुर सिमरामा मेयर माओवादी र उपमेयर कांग्रेसले लिने गरी तालमेल घोषणा गरेका छन् ।
दुई-दुई स्थानमा मेयर लिने गरी भागबन्डामा तालमेल गरेका यी दुई पार्टीको माथिल्लो निर्णयलाई स्थानीय स्तरमा कांग्रेस नेता-कार्यकर्ताले नमान्ने बताएपछि बनेका तालमेल समझदारी पनि भत्कने खतरा बढेको छ ।
मधेसमा चुनावी तालमेललगायत विषयमा रणनीति बनाउन माओवादीले प्रदेश इन्चार्ज मात्रिका यादव र संयोजक विश्वनाथ साह तथा कांग्रेसले केन्द्रीय नेता आनन्दप्रसाद ढुंगानालाई जिम्मेवारी दिएको थियो। कांग्रेस-माओवादीका यिनै दुईपक्षीय नेताको मंगलबार बिहान भएको छलफलले चार स्थानीय तहमा तालमेलको समझदारी बनाएका थिए । तर, लालबन्दी र जितपुरसिमरा माओवादीलाई मेयर छाड्ने ढुंगानाको निर्णयलाई नमान्ने भन्दै दुवै तहमा कांग्रेसले त्यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाएका छन् ।
‘कांग्रेससँग हामीले मंगलबार बिहान ४ स्थानीय तहमा तालमेल गर्ने समझदारी बनाएका थियौं तर त्यसलाई कांग्रेसको स्थानीय तहले नमानेको र समझदारी भत्किएको कुरा आइरहेका छन्’, माओवादी दुई नम्बर प्रदेश संयोजक विश्वनाथ साहले अन्नपूर्णसँग भने ।
नेता तालमेल मिलाउँदै, कार्यकर्ता भत्काउँदै, ४ स्थानीय तहमा मात्रै तालमेल, दुईमा विवाद देखियो
दुई नम्बर प्रदेशमा मधेसकेन्द्रित क्षेत्रीय दल तथा कांग्रेस, एमालेले आफू पहिलो पार्टी बन्ने दाबीका साथ अगाडि बढिरहेका छन् । यसलाई प्राय: सबै मुख्य पार्टीले प्रतिष्ठाको विषय बनेको र आफ्नो प्रभाव क्षेत्र रहेको देखाउन चाहेको कारण पनि यसअघि भएका अन्य प्रदेशका निर्वाचनमा जस्तो चुनावी तालमेल हुने सम्भावना टरेर गएको हो ।
राजपा, संघीय समाजवादी फोरम एक्लै निर्वाचन लड्न तम्सिएपछि तालमेलको खोजीमा रहेका दल अप्ठ्यारोमा परेका छन् । विगतमा सत्ता गठबन्धन दल कांग्रेस-माओवादीले कतिपय स्थानीय तहमा गठबन्धन निर्माण गरेर लडेका थिए । तर, यसपटक मधेसमा कांग्रेस बलियो रहेको र एमालेसँग स्थानीय संख्याको कुल परिणाममा प्रतिस्पर्धा गर्नुपर्ने कारण पनि उसले दुई नम्बर प्रदेशमा भने तालमेल रुचाइरहेको छैन ।
पहिलो र दोस्रो चरणमा सम्पन्न भएका स्थानीय तहका गठबन्धन निर्माण भएका कतिपय स्थानीय तहमा सत्ता सहयात्री दल कांग्रेस-माओवादीले गठबन्धन निर्माण गरी लडेका थिए । एमालेले पनि कतिपय स्थानमा आफूअनुकूल दलसँग तालमेल गरेको थियो ।
मुख्य सहर काठमाडौं, भरतपुर, विराटनगर, पोखरा, काठमाडौंलगायत स्थानीय तहमा मात्रै होइन, अन्य ग्रामीण स्तरका स्थानीय तहमा पनि दलले गठबन्धन निर्माण गरी चुनाव लडेका थिए । तर, त्यसरी गठबन्धन निर्माण गरी लडेका ठाउँमा पनि गठबन्धन प्रभावकारी नदेखिएको परिणामहरूले देखाएका थिए । भरतपुर महानगरपालिका, थाहा नगरपालिकालगायत स्थानमा भने तालमेल प्रभावकारी बनेको देखिएको छ ।
कुन दलको रणनीति के ?
कांग्रेस : सकभर एक्लै लड्ने
कांग्रेसले मधेसलाई विगतदेखि नै आफ्नो बलियो आधार क्षेत्र मान्दै आएको छ । उसले यस क्षेत्रमा कम्तीमा ९० देखि सय स्थानसम्मको स्थानीय तह जित्ने दाबी गर्दै आएको छ । अन्य प्रदेशको चुनावी परिणाममा एमाले पहिलो दल बनेको अवस्थामा मधेसबाट आउने नतिजाबाट आफूलाई पहिलो शक्तिका रूपमा देखाउन पनि कांग्रेसले एक्लै निर्वाचन लड्ने योजना बनाएको छ । केही स्थानमा सत्ता सहयात्री दल माओवादीको प्रेसरले तालमेल गर्नुपरे पनि सकभर एक्लै लडेर जित्ने योजना कांग्रेसले बनाएको छ ।
‘कांग्रेस मधेसमा कम्तीमा सय युनिट जितेर पहिलो पार्टी बन्ने योजनासाथ चुनावी अभियानमा छ’, कांग्रेस नेता रामकृष्ण यादवले अन्नपूर्णसँग भने, ‘एकाध स्थानमा माओवादीसँग तालमेल भए पनि अन्यमा एक्लै लड्न लागेको छ ।’
एमाले : एक्लै लड्ने
मधेसका १३६ स्थानीय तहमै मंगलबार उम्मेदवारी टुंगो लगाएको एमालेले एक्लै निर्वाचन लड्ने योजना बनाएको छ । अन्य प्रदेशको निर्वाचन परिणाममा पहिलो दल बन्न सफल उसले मधेसमा पनि पहिलो शक्ति आफ्नै पार्टी बन्ने दाबी गर्दै एक्लै निर्वाचन लड्ने बताएको हो ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘एमालेविरुद्ध मोर्चाबन्दी भइरहेका छन्, तैपनि हामी आफ्नो वर्चस्व देखाइछाड्छौं, दुई नम्बरमा पनि एमाले एक्लै चुनाव लडेर पहिलो पार्टी बनेर देखाउनेछ ।’
माओवादी केन्द्र : सकभर तालमेल
माओवादी केन्द्र स्थानीय तहका अन्य प्रदेशको निर्वाचनमा गरेको जस्तै चुनावी तालमेल दुई नम्बर प्रदेशमा पनि गर्ने योजनामा छ । त्यसका लागि उसले संघीयता पक्षधर शक्तिसँग चुनावी तालमेल गर्ने रणनीति केन्द्रीय स्तरमा बनाएको छ । तर, उसको प्रयास पनि सफल भएको छैन । सत्ता गठबन्धन दल कांग्रेससँग मंगलबार बेलुकीसम्म चार स्थानीय तहमा तालमेल गर्ने समझदारी बनाए पनि स्थानीय स्तरमा कांग्रेसले त्यसलाई मानेको छैन । ‘कांग्रेससँग हामीले मंगलबार बिहान ४ स्थानीय तहमा तालमेल गर्ने समझदारी बनाएका थियौं तर त्यसलाई कांग्रेसको स्थानीय तहले नमानेको र समझदारी भत्किएको कुरा आइरहेका छन्’, माओवादी दुई नम्बर प्रदेश संयोजक विश्वनाथ साहले भने ।
राजपा : एक्लै लड्ने
तराई-मधेसका ६ वटा क्षेत्रीय पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) मधेसमा एक्लै निर्वाचन लड्ने भएको छ । उसले १३६ स्थानीय तहमै पार्टीका उम्मेदवार तय गरिसकेको छ । त्यसमध्ये ११४ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिकसमेत गरेको छ । ‘पार्टीले दुई नम्बरमा एक्लै निर्वाचन लड्ने केन्द्रीय नीति बनाएका छौं’, राजपा नेता मनीष समुनले भने, ‘बर्दिवासमा कांग्रेससँग तालमेलको प्रयास भइरहे पनि अन्यमा तालमेलको छलफलसमेत भएको छैन ।’
उनका अनुसार बर्दिवासमा पार्टीले मेयर पाए कांग्रेससँग तालमेल गर्न नपाए आफ्नो उम्मेदवार तय भइसकेकाले एक्लै निर्वाचन लड्ने उनले बताए ।
संघीय समाजवादी : एक्लै प्रतिस्पर्धा
उपेन्द्र्र यादव नेतृत्वको संघीय समाजवादीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन एक्लै भिड्ने भएको छ । उक्त पार्टीका नेता डा.शिवजी यादवका अनुसार मधेसमा पार्टीको प्रभाव राम्रै देखिएकाले एक्लै निर्वाचन लड्ने योजना संघीय समाजवादी फोरमले बनाएको हो ।
‘हामी दुई नम्बर प्रदेशमा कुनै पार्टीसँग चुनावी तालमेल गर्दैनौं, एक्लै लड्छौं,’ यादवले भने, ‘पहिलो र दोस्रो चरणको स्थानीय तहमा राजपाले पनि चुनावमा भाग लिएको भए हामी दुई पार्टीले मधेसमा चुनावी तालमेल गरेर अन्य पार्टीलाई ‘स्वीप’ नै बनाउन सकिन्थ्यो, अहिले हामीबीच विवाद छ । त्यसकारण हाम्रो प्रतिस्पर्धा राजपासँगै हुन्छ, अन्य पार्टी त्यसभन्दा पछाडि दौडिने हुन् । हामीले तालमेल गर्नुपर्ने ठानेका छैनौं ।’
फोरम लोकतान्त्रिक : सहयात्री खोज्दै
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले चुनावी तालमेलका लागि सहयात्री खोजिरहेको छ । आफ्नो प्रभाव क्षेत्र रहेको दाबी गरेका ७५ वटा स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको उसले बाँकी स्थानीय तहमा भने तालमेल गर्न सहयात्री दल खोजी गरिरहेको छ । तर, मंगलबार बेलुकीसम्म उसले त्यस्तो सहयात्री दल पाउन सकेको छैन ।
तालमेलका लागि पहिलोमा, मधेसवादी दल, दोस्रोमा सत्ता गठबन्धन कांग्रेस-माओवादी र तेस्रोमा एमालेसँग गर्न सकिने गरी रणनीति उसले बनाएको छ । तर, त्यस्तो सम्भावना अत्यन्त न्यून देखिएको उक्त पार्टीका नेता योगेन्द्र चौधरीले बताए ।
‘७० देखि ७५ स्थानमा हामीले उम्मेदवारी तय गरेका छौं, त्यो हाम्रो प्रभाव क्षेत्र पनि हो, अन्यमा तालमेलको प्रयास गरिरहेका छौं तर कोही-कसैसँग पनि तालमेल भएको र हुने अवस्था देखिएको छैन,’ चौधरीले भने ।
कहाँ-कहाँ भयो तालमेल प्रयास
१) धनुषाको मिथिला
कांग्रेस (मेयर)
माओवादी केन्द्र (उपमेयर)
२) लालबन्दी नगर
माओवादी (मेयर)
कांग्रेस (उपमेयर)
३) बाराको निजगढ नगर
कांग्रेस (मेयर)
माओवादी (उपमेयर)
४) जितपुरसिमरा उपमहानगर
माओवादी (मेयर)
कांग्रेस (उपमेयर)