‘उत्पादनमूलक उद्योग प्रोत्साहन गर्ने वातावरण छैन'
सारदा समूह अहिलेको अवस्थामा आइपुगेको उत्पादनमूलक उद्योगबाटै हो । राइस मिलमार्फत ६ दशकअघि उत्पादनमूलक उद्योगमा हात हालेको मेरो परिवार अहिले डन्डी, सिमेन्ट, वायर, रिफाइनरी, मैदा, मदिरा, स्याक्स, अक्सिजन आदि उद्योगमा संलग्न छ । तर अहिले निर्माणाधीन होङ्सी-शिवम् सिमेन्ट र प्रिमियर स्टिल सञ्चालनमा आएपछि तत्कालका लागि उत्पादनमूलक उद्योगमा लगानी गर्ने क्रमलाई वि श्राम दिने निष्कर्षमा पुगेको छ ।
वास्तवमा देशको वातावरण उत्पादनमूलक व्यवसाय निरुत्साहित गर्ने, ट्रेडिङ/कमिसनखोरी प्रोत्साहित गर्ने खालको बन्यो । उत्पादनमूलक उद्योगमा प्रतिस्पर्धा धेरै छ, स्वदेशी/विदेशी अनेकथरी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लागत घटाउन महाभारत छ । यसका दायित्व अनेक हुन्छन्, भनेको बेला बन्द गर्नसम्म पाइन्न । तर उत्पादनमूलक उद्योगले रोजगारी सिर्जना र भ्यालू एड गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याएको छ भन्ने बुझिदिएर प्रोत्साहित गर्ने कोही छैन । विदेशमा जहाँजहाँ उत्पादनमूलक उद्योगमा ठूलो लगानी भयो, त्यहाँ सरकारले नै प्रोत्साहन दिएको छ ।
सरकारले सर्वसुलभ जग्गा उपलब्ध गराउनेदेखि सित्तैमा जग्गा दिनेसम्मका सुविधा दिएकै ठाउँमा उत्पादनमूलक उद्योगमा एकैचोटि ठूलो लगानी भएको छ । उद्योग स्थापना गर्न बाटो, बिजुली, पानी, टेलिफोन आदिको आधारभूत पूर्वाधार हुनुपर्छ, त्यस्तो ठाउँमा जग्गाको भाउ छोइसक्नु छैन । अहिले उद्योगका लागि जग्गा किन्ने भनेको उद्योगले नाफा गर्यो भने गर्यो, नत्र जग्गाको भाउ बढिहाल्छ, बेचेर लगानी फिर्ता गर्छु भनेर हो । नत्र जग्गा किनेर उद्योग नाफा गर्न गाह्रो छ । सरकारले जग्गाको वर्गीकरण उद्योग क्षेत्रको जग्गा नछुट्ट्याए देशमा ठूला उद्योग खोल्न गाह्रो छ ।
हामीले एकपछि अर्को उद्योग लगायौं- जग्गा सस्तो थियो, अदक्ष श्रमिक जति पनि पाइन्थ्यो । दक्ष श्रमिक पहिले पनि भारतबाटै ल्याउनुपथ्र्यो । अहिले अदक्ष श्रमिक पनि पाइन्न । वैदेशिक रोजगारीमा जाने ट्रेन्ड यस्तो भयो- आज मधेसमा घरपिच्छे श्रम गर्न विदेश गएका छन् । हुनेखाने/पढालेखा परिवारका युरोप, अमेरिका, जापान आदि गएका छन्, हुँदा खाने खाडी/मलेसिया ।
-देशको वातावरण उत्पादनमूलक व्यवसाय निरुत्साहित गर्ने र ट्रेडिङ/कमिसनखोरी प्रोत्साहित गर्ने खालको छ ।
-विदेशमा उत्पादनमूलक ठूला उद्योगमा लगानी गर्न सरकारले प्रोत्साहन गर्छ ।
-पहिले खाद्यसंकट हुँदैन भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट' दिएपछि मात्र खाद्य सामग्री निर्यात गर्न पाइन्थ्यो ।
घरबाट एकजना पनि वैदेशिक रोजगारीमा नजाने परिवारको समाजमा इज्जत नहुनेजस्तो अवस्था छ । यसैले उत्पादनमूलक उद्योग क्षेत्रमा श्रमिकको अभाव भयो । स्वदेशभन्दा कम कमाइका लागि पनि विदेसिएका छन् । यसैगरी श्रमिक बिदेसिने हो भने देशमा उत्पादनमूलक उद्योग चलाउन गाह्रो छ । फेरि उद्योग भनेको अपडेट/अपग्रेड गरेर कहिल्यै नसकिने प्रक्रिया हो । सुरुमा घाटा हुन्छ, नाफा दिन थालेपछि क्षमता बढाउने भन्यो, प्रविधि अपडेट गर्ने भन्यो, नाफाको पैसा त्यसैमा खन्याइरहनुपर्छ । उद्योगको पैसा उद्योगमै घुमिरहन्छ । ट्रेडिङ तुलनात्मक रूपमा सजिलो छ । घाटा भयो, तुरुन्त बन्द गरिदिए हुन्छ ।
लाहानदेखि काठमाडौंसम्म
हाम्रो परिवार लाहानको हो । बाल्यकाल सम्झिँदा कपडा, किराना, सुनचाँदीको कारोबार एकै ठाउँबाट हुने पसल थियो । जुटको कारोबार गरेको छ, धानको गल्ला पनि चलाएको छ, यस्तै थियो व्यापार । म अलि ठूलो हुँदा बुबाले कपडाको होलसेल सुरु गर्नुभयो । उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगामा कपडा सप्लाई हुन्थ्यो । त्यो बेला पूर्वी पहाडका लागि होलसेल कारोबार हुने लाहान र धरान थियो । २०१५ सालतिरै हुनपर्छ बुबाले लाहानमा राइस मिल खोल्नुभयो । त्यो बेला नेपालबाट धान/चामल निर्यात हुन्थ्यो ।
भारतमा एक प्रदेशबाट अर्को प्रदेशमा खाद्यान्न ओसारपसार गाह्रो थियो । खाद्यसंकट हुँदैन भन्ने लागेमात्र अर्को प्रदेशमा बेच्न पाइन्थ्यो । तर नेपालमा अञ्चलाधीशले निर्यात गर्दा खाद्यसंकट हँुदैन भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट' दिएपछि भारतको जुनसुकै ठाउँमा निर्यात गर्न पाइन्थ्यो । त्यसैले एकपछि अर्को राइस मिल थपिँदै गए । मुरारका परिवार (आत्माराम मुरारका)को साझेदारीमा हामीले एकैचोटि ११ वटासम्म राइस मिल चलायौं । नेपालगन्जमा धान/चामल कारोबारको ‘डन' टन्डन परिवार थियो । पश्चिममा उत्पादन हुने धान किनेर निर्यातको काम टन्डन परिवारले मात्र गर्थ्यो।
टन्डन परिवार समस्यामा परेको सुनेपछि आत्मारामजी र म नेपालगन्ज गयौं, त्यहाँको धान/चामल कारोबारमा जम्ने सपना बुनेर । तीन महिना बस्दा नेपालगन्ज मन परेन । लाहान ल्याउन किनेको धान पनि ल्याउन सकिएन । भारतीय रेलमा ढुवानी गरी लाहान ल्याउनुपथ्र्यो, अनुमति नपाएपछि त्यहीँ बेचेर फर्कियौं । बुबाले राइस मिलपछि चिनी मिल (खाँडसारी) खोल्नुभएको थियो, लाहानमा । तर सिराहामा लाहानभन्दा पूर्व मिर्चैयातिर उखु खेती थियो । ढुवानी समस्याका कारण चिनी मिलको परियोजना फेल भयो ।
धान/चामल व्यापार उचाइमा पुगेकै बेला एकदिन आत्माराजजी र मैले सल्लाह गर्यौं- यति सानो ठाउँको ठूलो साहुजी बन्नुभन्दा ठूलो ठाउँको साहुजी बन्नुपर्छ । अनि हामी काठमाडौं आयौं । केही समय आयातको काम गरेपछि काठमाडौंमा नाम चलेका इन्द्रभक्त श्रेष्ठसँग साझेदारीमा विराटनगरमा एभरेस्ट रोलिङ मिल खोल्यौं । यो हिमाल आइरनपछि दोस्रो डन्डी उद्योग थियो । तर कच्चापदार्थ अभावका कारण चलेन । हिमाल आइरनका लागि भारतले बिलेटको कोटा दिएको थियो, हामीले पाएनौं । तर उद्योग बन्द भएपछि कच्चापदार्थ सहज रूपमा पाइने अवस्था बन्यो । यसपछि मैले हेटौंडा स्टिल, आत्मारामजीले पशुपति स्टिल खोल्नुभयो । इन्द्रभक्तजीले एभरेस्ट रोलिङ मिल चलाउनुभयो ।
विराटनगरमा उद्योग खोलेपछि आधा परिवार विराटनगर, आधा काठमाडौंमा बस्यौं । लाहानमा बसोवास छाडियो । परिवारका लागि राइस मिल तरक्कीको पहिलो टर्निङ प्वाइन्ट थियो भने लाहान छाड्ने निर्णय दोस्रो टर्निङ प्वाइन्ट । लाहानमै रमाउने व्यापारी परिवार ससानो व्यापारमै सीमित भए । हाम्रो थर सारडा हो । मेरो काका जसकरण बडाहाकिम हुनुुहुन्थ्यो, सारडाभन्दा सारदा प्रचलित शब्द भएकाले उहाँले सारदा लेख्न थाल्नुभयो । सबैले त्यसै गरे । मुरारका र सारदा परिवारको साझेदारी लामो समय चल्यो । काठमाडौंमा हामीलाई मुसा (मुरारका, सारदा) भनेर जिस्काउँथे ।