ढुंगा अभावले सम्पदा पुनर्निर्माण प्रभावित
भक्तपुर : बजारमा असल ढुंगा नपाइँदा भूकम्पले भत्काएका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । सम्पदा पुनर्निर्माण गर्न आवश्यक ढुंगा खोज्न गएकाहरू रित्तो हात फर्केपछि यहाँका केही मन्दिरको पुनर्निर्माण कार्य रोकिएको हो ।
असल ढुंगा नहुँदा भक्तपुर दरबार क्षेत्रस्थित वत्सला मन्दिरको पुनर्निर्माण करिब दुई महिनादेखि रोकिएको छ । ढुंगाले बनाइएको शिखर शैलीको उक्त मन्दिर ०७२ साल वैशाख १२ गते आएको भूकम्पमा पूर्णरूपमा भत्किएको थियो । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत उक्त मन्दिरको पुनर्निर्माण गरिरहेको छ । भूकम्पले भत्काउँदा उक्त मन्दिरका धेरै ढुंगा फुटेका छन् । त्यस्तै, मन्दिरका बुट्टेदार ढुंगासमेत क्षतिविक्षत हुन पुगेका छन् ।
भक्तपुर नपा सम्पदा शाखाका इन्जिनियर सूर्यभक्त खर्बुजाले असल ढुंगा भेट्टाउन नसकिँदा वत्सला मन्दिरको पुनर्निर्माण रोक्नुपरेको सुनाए । पहिले ढुंगा ल्याइने धेरै ठाउँमा खोज्दा पनि असल ढुंगा भेट्टाउन नसकिएको उनको भनाइ थियो ।
‘काठमाडौं उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, दोलखासम्म जाँदा पनि असल ढुंगा भेट्टाउन सकिएन’, इन्जिनियर खर्बुजा भन्छन्, ‘राम्रो भनी ल्याएका ढुंगा भुइँमा पछार्दा नै पत्रपत्र निस्कियो ।’
उनका अनुसार असल मात्रै होइन, मठमन्दिरका थाम उठाउन राखिने ठूला र लामा टेप ल्होहँ, पेटी ल्होंहसमेत पाउन मुस्किल हुँदै आएको छ । पहिले ढुंगा ल्याइने खानी जताततै क्रसर उद्योग सञ्चालन भइसकेकाले पनि असल र ठूला तथा लामा ढुंगा पाउन मुस्किल हुँदै आएको उनी बताउँछन्।
असल ढुंगाकै अभावले पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमातहत पुनर्निर्माण भइरहेको सिद्धिलक्ष्मी मन्दिरको काम पनि रोकिएको छ । ठेक्कामा दिइएको उक्त मन्दिर पुनर्निर्माण क्रममा ठेकेदारले कमसल ढुंगा प्रयोग गरेपछि विरोधसमेत भएको थियो । बजारमा असल ढुंगा उपलब्ध नभएको भन्दै ठेकेदारले उक्त मन्दिरको पुनर्निर्माण पनि थाती राखेका छन्, त्यसमाथि उक्त मन्दिरको स्टक्चरल डिजाइन मागिएपछि पुनर्निर्माण कार्य झन् प्रभावित भएको छ ।
‘बजारमा असल ढुंगा छैनन्’, कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भने, ‘ढुंगा खोज्दाखोज्दा ठेकेदार आजित भएको बताउँछन् ।’उनका अनुसार भूगर्भविद्बाट परीक्षण नगरी ठेकेदारले ल्याउनेबित्तिकै ढुंगा पुनर्निर्माणमा प्रयोग गरिँदैन । तर, असल ढुंगाको अभावले समयमै पुनर्निर्माण नसकिने सम्भावना बढेको भन्दै भक्तपुर नगरपालिका र ठेकेदारले चिन्ता व्यक्त गरेका छन्।