भाइरल ज्वरोले सिंगो गाउँवासी नै ग्रस्त

भाइरल ज्वरोले सिंगो गाउँवासी नै ग्रस्त

भोजपुर : विश्वराज र अस्मिता राई दम्पतीले भाइरल ज्वरोका कारण साढे २ वर्षकी काखे छोरी आयुषालाई गुमाउनुपर्‍यो । भाइरल ज्वरोको शिकार बनेकी आयुषाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । विश्वराज दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए । घरमा दाजु-भाउजू, श्रीमती अस्मिता र छोरीलाई छाडेर उनी विदेश गएका हुन् ।

सोही गाउँका ठाकुरसिंह राईले पनि श्रीमती ४५ वर्षीया विष्णुकुमारीलाई भाइरल ज्वरोकै कारण गुमाउनुपर्‍यो । राईले विष्णुकुमारीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि प्राथमिक स्वास्थ्य चौकी प्याउली लगेका थिए । तर, त्यहाँ उपचार हुन नसकेपछि स्वास्थ्यकर्मीले धरान लैजान सल्लाह दिए । धरान पुर्‍याएर उपचार सुरु गरेको आधा घन्टामै विष्णुकुमारीको निधन भयो । धरानमै श्रीमतीको दाहसंस्कार गरी ठाकुरसिंह आँसु पुछ्दै घर फर्किए ।

 

महामारीको रूप लिएको भाइरल ज्वरोले अरुण गाउँपालिका वडा नम्बर २, चम्पेको सोरेङवासी ग्रसित भएका छन् । डेढ सय परिवार रहेको उक्त गाउँमा भाइरलका कारण दुईजनाको मृत्यु भएको हो । अहिले पनि धेरै बिरामी परेका छन् । उपचारका लागि कतिपयलाई प्याउली त कतिलाई धरान, विराटनगर लगिएको छ । धेरैजसो बिरामी भने घरमै प्राथमिक उपचार गराइरहेका छन् । ५०-६० जना बिरामीको उपचार भइरहेको हो ।

सहनै नसक्ने गरी ज्वरो आउने, छटपटी हुने, कडा निमोनिया हुनेजस्ता लक्षण देखापरेर पूरै गाउँले सिकिस्त बनेको स्थानीय सन्तोष राईले जानकारी दिए । ‘यो रोगले सुरुमा ठाकुरसिंहकी श्रीमतीलाई समातेको थियो । त्यसपछि एक्कासि गाउँका सबै घरका मानिसलाई ज्वरो आउने, छटपटी, कडा निमोनिया हुने लक्षण देखिन थालेपछि हामी त्रसित बन्यौं ।’

सबैलाई पालै पालो स्वास्थ्य चौकी लगेको उनले सुनाए । ‘प्याउलीबाट रिफर गरिएका दुईजना उपचारका क्रममा बिते’, उनले भने, ‘बाँकी बिरामीको उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

प्राथमिक स्वास्थ्य चौकीमा दुई दिनअघिसम्म भाइरलका बिरामीको चाप बढेको थियो । प्राथमिक उपचारपछि धेरै बिरामी घर फर्केका छन् । अझै ११ जना उपचाररत रहेको र उनीहरूको अवस्था सुधारोन्मुख रहेको अहेव रूपक पुलामीले जानकारी दिए ।

‘सुरुमा बिरामीको संख्या धेरै थियो, अहिले उपचारपछि धेरैजसो घर फर्किसकेका छन्’, अहेव पुलामीले भने, ‘बिरामीमध्ये बच्चाहरूमा निमोनियाको लक्षण देखिएको थियो ।’ उचित औषधि नहुँदा पाँच÷६ जनालाई धरान पठाएको जानकारी दिँदै उनले भने, ‘तीमध्ये एक बालिका र एक महिलाको निधन भएको छ । अरू ११ जनाको उपचार सन्तोषजनक नै छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.