कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे
मुस्ताङ : कालोपत्रे गर्ने क्रममा बन्द गरिएको कागबेनी मुक्तिनाथ सडक आज(बुधबार) बिहानदेखि सुचारु भएको छ । डेढ महिना बन्द रहेको सो सडक कालोपत्रेको काम लगभग सकिएकाले खुल्ला गरिएको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख इञ्जिनियर रविन्द्र तिवारीले जानकारी दिए ।
‘आजदेखि सोह्रसरात सुरु भयो । कागबेनीमा सोह्रसरात गर्न देशभरबाट तिर्थालु भक्तजनहरुको भीड लाग्छ’ तिवारीले भने ‘त्यसैले यात्रुको सुबिधाका लागि थोरै काम बाँकी रहेपछि सडक खुल्ला गरिएको हो ।’ ६.७ किलोमिटर मध्ये अब एक किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको उनले बताए ।
सडक सुचारु भएपछि कागबेनी पुगेका तिर्थालुभक्तजनलाई मुक्तिनाथ पुग्न पनि सहज हुनेछ ।
सो सडक बन्द हुँदा मुक्तिनाथ जाने तिर्थालु भक्तजन डाँडापारिबाट घुमेर आवतजावत गर्न बाध्य थिए । बुधबार बिहानदेखि कालोपत्रे गरिएको छोटो सडकबाट यात्रा गर्न पाएपछि यात्रु खुशी भएको त्यहाँ काम गरिरहेका प्राबिधिक अनिल चौधरीले जानकारी दिए ।