घरेलु मैदानमै जिल्लियो नेपाल

घरेलु मैदानमै जिल्लियो नेपाल

काठमाडौं : स्ट्राइकिङ लाइन फितलो बन्दा नेपाली टोली एसिया कप छनोट फुटबलको घरेलु मैदानमै खेलिएको खेलमा ताजकिस्तानसँग २-१ गोलले पराजित भएको छ । ताजकिस्तानसँगको पराजयसँगै नेपालको एसिया कप छनोट यात्रा पनि कठिन बन्दै गएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार नेपाल पहिलो हाफमै २-० गोलले पछि परेको थियो ।

खेलको सुरुदेखि नै नेपालविरुद्ध आक्रामक देखिएको ताजकिस्तानले २५औं मिनेटमा खाता खोलेको थियो । ताजकिस्तानका लागि जालिलोभ मनुचेहरले पहिलो गोल गरे । उनले उमारवोभ पारभिजाजोनको कर्नर पासमा गोल गरेका थिए । ३०औं मिनेटमा भासिभ दिलसाहोदले गोललाइन नजिकबाट अर्को गोल थपेका थिए । उनले नेपालका गोलरक्षक किरनकुमार लिम्बूको नजिकबाटै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

 

पहिलो हाफमा दबाब झेलेको नेपालले दोस्रो हाफमा भने सुधारिएको खेल खेलेको थियो । नेपालका लागि विमल घर्तीमगरले ६१औं मिनेटमा गोल फर्काए । । ३९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका विमलले अञ्जन विष्टको पासमा ताजकिस्तानका गोलरक्षकलाई बिट गर्दै खाली पोस्टमा गोल गरेका थिए । पहिलो हाफमा नेपालले एउटा अवसर खेर फालेको थियो । २०औं मिनेटमा अञ्जन विष्टको पासमा सुजल श्रेष्ठको फितलो प्रहार बाहिरिएको थियो ।

ताजकिस्तानले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको थियो । ६३औं मिनेटमा नेपालले विशाल राईको स्थानमा प्रिन्स जर्ज कार्कीलाई मौका दिएको थियो । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका प्रिन्सले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । डुब्यु खेलमै दुईवटा फितलो अवसर पाएका प्रिन्सको गोल गर्ने प्रयास भने सफल भएन । त्यसअघि ५३औं मिनेटमा विमलको करिब ३० यार्ड लामो फ्रिकिक प्रहार बाहिर हुइँकिएको थियो । ५९औं मिनेटमा विमलको अर्को प्रहारलाई ताजकिस्तानका गोलरक्षकले पन्च गर्दै विफल पारेका थिए । ८०औं मिनेटमा कमल श्रेष्ठको लामो प्रहारलाई ताजकिस्तानका गोलरक्षकले बचाएपछि नेपाल हार खेप्न बाध्य बन्यो ।

खेलपछि नेपालका प्रशिक्षक ग्योतुकी कोजीले नेपालको तुलनामा ताजकिस्तानले निकै राम्रो खेलेको बताए । 'पहिलो हाफमा हामीले स्वाभाविक खेल खेल्न सकेनौं । टोलीका लागि आशा गरिएका स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवास जम्न सकेनन् । दोस्रो हाफमा विमल, प्रिन्स र विक्रम लामालाई पठाएपछि खेल केही राम्रो भयो । विमलले राम्रो खेले । हामीले गोल फर्काएपछि थप अवसर पनि पाएका थियौं । सुरुमा प्रिन्सलाई पठाउनु चुनौती नै थियो । प्रिन्स अर्को खेलमा लागि तयार भएको छ', कोजीले भने ।

कोजीले एएफसी छनोट खेल्ने मौका नेपालका लागि 'सरप्राइज' भएको पनि बताए । 'हामीले सोलिडारिटी कप जितेकाले मौका पाएका हौं । यो खेलबाट नेपालले धेरै कुरा सिक्ने अवसर पाएको छ । छनोटको विषयमा अझै केही भन्न सकिन्न । सुधारका लागि नयाँ खेलाडी जन्माउनुपर्छ । हामीले हारलाई दबाब होइन चुनौतीको रूपमा लिएका छौं', कोजीले भने ।

यसैगरी ताजकिस्तानका प्रशिक्षक फुजायलोभ खाकिमले टोलीको तीन अंक हात पार्ने योजना सफल भएको बताए । 'पहिलो हाफमा हामीले धेरै राम्रो खेल्यौं । दुई गोलको अग्रता बनाएपछि त्यसलाई जोगाउने चुनौती थियो । त्यसले गर्दा प्रेसर पनि खेप्यौं । दोस्रो हाफमा नेपालले धेरै राम्रो खेल्यो तर हामीले पनि राम्रो मौका पाएका थियौं । यस जितले नेपालसँगको अर्को खेलका लागि थप ऊर्जा मिलेको छ । समूहमा फिलिपिन्स केही बलियो देखिएको छ । आगामी खेल जित्दै छनोट हुनेमा आशावादी छौं', उनले भने ।

कठिन बन्दै नेपालको यात्रा

ताजकिस्तानसँगको हारले नेपालको एसिया कप छनोट यात्रा कठिन बन्दै गएको छ । समूह 'एफ'मा रहेको नेपालको यो तेस्रो खेल हो । नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो । गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा भने नेपाली टोली यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपालले अब अर्को खेल फिलिपिन्ससँग आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ । समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सको ६ अंक छ । दोस्रो स्थानमा रहेको यमनको चार अंक छ । यसअघि अंकविहीन अवस्थामा रहेको ताजकिस्तानले मंगलबार नेपाललाई हराएपछि तीन अंक जोड्दै आफूलाई तेस्रो स्थानमा पुर्‍याएको छ । एक अंकमा सीमित नेपाल तालिकाको अन्तिममा छ । समूहमा समावेश प्रत्येक टोलीसँग 'होम एन्ड अवे' प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सीधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.